बिकिनी किलर चाल्र्स शोभराजलाई नौ वर्षअघि दोभासेका रूपमा केन्द्रीय कारागारमा भेट्दा ललितपुरकी निहिता विश्वास भर्खर १८ वर्षकी थिइन् । आफूभन्दा ४४ वर्ष जेठा शोभराजसँगको पहिलो भेटमै प्रेममा फसेकी उनी अहिले अधिवक्ता बनिसकेकी छिन् । गोलघरको फलामे घेराभित्र रहेका शोभराज तत्काल छुुट्ने/नछुट्ने टुंगो छैन, तर निहिताको प्रेमले भने आस मारेको छैन । संसारलाई चकित बनाउने आफ्नो ‘लभ स्टोरी’का ‘रोमियो’को पर्खाइमा छिन् उनी । ७३ वर्षीय ‘सिरियल किलर’ प्रेमी फर्किने र नयाँ जीवन सुरु गर्ने आसमा निहिता छिन् ।
निहिताले प्रेमी शोभराजकै मुद्दाबाट आफ्नो अधिवक्ताको करिअर सुरु गरेकी छिन् । जेलमा कैदी÷बन्दीलाई सुविधा नपुगेको भन्दै शोभराजले दायर गरेको मुद्दामा निहिताले बहस गरेकी छिन् । यही वर्ष अधिवक्ता बनेकी उनी शोभराजलाई छुटाउन सर्वाेच्च अदालतमा अर्को रिट दायर गर्ने तयारीमा पनि छिन् । उमेरहदका कारण शोभराजलाई सरकारले रिहा गर्नुपर्ने भन्दै उनले रिट हाल्ने तयारी गरेकी छिन् । ६५ वर्ष उमेर पुगेका कैदीलाई ६५ प्रतिशतसम्म कैद सजाय मिनाहा हुने प्रावधानअनुसार शोभराजलाई रिहा गर्नुपर्ने निहिताको जिकिर छ ।
निहिता पहिलाजस्तो शोभराजलाई भेट्न नियमित कारागार जान्नन् । जसका कारण उनीहरूको ‘लभ स्टोरी’मा पहिलाजस्तो मिठास नरहेको अनुमान गरिएको छ । निहिता आफैँ पनि शोभराजसँगको सम्बन्धबारे बोल्न चाहन्नन् । तर, निहिताकी आमा शकुन्तला भने ‘शोभराज जेलबाट छिट्टै छुटे उनीहरूको सम्बन्ध अगाडि बढ्ने’ बताउँछिन् । उनी शोभराजकी कानुनी सल्लाहकार पनि हुन् । ‘शोभराज छुटेपछि मात्र उनीहरूको सम्बन्ध के हुन्छ भन्न सकिन्छ, मोस्ट प्रोब्याब्ली मिलन हुन्छ, अहिलेसम्म निहिताले नो पनि त भनेको छैैन नि,’ शकुन्तला भन्छिन् । निहिताले अन्य व्यक्तिसँग नयाँ जीवन सुरु गर्ने चासो पनि देखाएकी छैनन् । ‘पछिल्लो समय पढाइ र करिअरमा केन्द्रित छिन्,’ शकुन्तलाले भनिन् ।
कहिले छुट्छन् शोभराज ?
शोभराजमाथि नेपालमा तीनवटा मुद्दा छन्, दुईवटा कर्तव्य र एउटा ज्यान मार्ने उद्योग । कर्तव्य ज्यानका दुवै मुद्दामा शोभराजलाई सर्वस्वसहित जन्मकैद तथा ज्यान मार्ने उद्योग मुद्दामा पाँच वर्ष कैद सजायको फैसला भएको छ । नेपालमा जन्मकैद भनेको २० वर्ष कैद सजाय हो । कारागार व्यवस्था नियमावलीमा आधा कैद भुक्तान गरेको र असल चालचलन भएको कैदी आधा कैद भुक्तान भएपछि छुट्ने प्रावधान छ । यो प्रावधानअनुसार शोभराज छुट्न सक्छन् । तर, उनका दुईवटा मुद्दाको फैसला गत वर्ष मात्र भएको छ । जसले उनको रिहाइबारे कारागारका अधिकारीहरूसमेत प्रस्ट छैनन् ।
६ वर्षअघि केन्द्रीय कारागारमै युनुस अन्सारीमाथि भएको गोली प्रहारको घटनामा उनीविरुद्ध मुद्दा दायर भएको थियो । जसमा उनलाई ‘छुटी जाने भएमा’ सजाय हुने उल्लेख छ । जसअनुसार कर्तव्य ज्यान मुद्दाको कैद भुक्तान गरेपछि उक्त सजाय सुरु हुने उल्लेख छ । त्यो फैसला त्रुटिपूर्ण भएको भन्दै शोभराजले उच्च अदालत पाटनमा कैद हद संशोधनसम्बन्धी मुद्दा दायर गरेका छन् । १३ वर्षदेखि आफू जेलमा बसेकाले त्यसैमा सबै अपराधको कैद जोडिनुपर्ने उनको माग छ । ज्येष्ठ नागरिकको सुविधाअनुसार छुट्ने तयारी पनि शोभराजको छ । ६५ वर्ष नाघिसकेकाले आफूलाई रिहा गर्नुपर्ने शोभराजको तर्क रहेको केन्द्रीय कारागारका जेलर वेदप्रसाद खरेलले बताए । कैद हद संशोधनको मुद्दा किनारा लागेपछि ज्येष्ठ नागरिकको सुविधाअनुसार शोभराजलाई छुटाउन रिट दायरको तयारी भएको हो । यिनै दुई मुद्दाको फैसलाले शोभराज र निहिताको प्रेमको ‘फैसला’ पनि तय गर्नेछ ।
६ वर्षदेखि गोलघरमा शोभराज
शोभराज विगत ६ वर्षदेखि केन्द्रीय कारागारको गोलघरमा छन् । पहिला निकै किताब पढ्ने उनी पछिल्लो समय त्यत्तिकै बस्छन् । काठमाडौंस्थित फ्रेन्च दूतावासले उनलाई वेलावेलामा सहयोग गर्दै आएको छ । जेलका एक सुरक्षाकर्मीका अनुसार शोभराजको मागअनुसार किताब, खानेकुरा तथा अन्य बस्तोबस्तीका सामान दूतावासले पुर्याउने गरेको छ । उनकी बहिनीले पनि थोरै सहयोग गर्दै आएकी छिन् ।
शोभराजका जेलका साथी भोलेबाबा
शोभराजले पछिल्लो समय नेपाली सिरियल किलरलाई साथी बनाएका छन् । एक दर्जनभन्दा धेरै हत्याको अभियोग लागेका भोलेबाबा भनिने शम्भु गौतम केन्द्रीय कारागारमा शोभराजका साथी बनेका छन् । जेलको सुरक्षा हेर्ने अनाश्रित गुल्मका डिएसपी जनक शाहीका अनुसार केन्द्रीय कारागारको गोलघरमा हाल शोभराज र भोलेबाबा मात्र छन् । गोलघरभित्र रहनेले बाहिरका कैदीहरूसँग भेटघाट र बोलचाल गर्न पाउँदैनन् । जेलभित्रै बितन्डा मच्चाउनेहरूलाई गोलघरमा राखिन्छ । दुई वर्षअघि नख्खु कारागारमा झगडा गरेपछि भोलेबाबालाई सुन्धाराको गोलघरमा राखिएको हो ।
शोभराजका वकिल फेरिए
विगत १० वर्षदेखि निहिताकी आमा शकुन्तलाले शोभराजको मुद्दा हेर्दै आएकोमा यो वर्षदेखि उनका वकिल फेरिएका छन् । शोभराजले आफ्नो कैद हदसम्मका संशोधनका लागि भन्दै उच्च अदालत पाटनमा नयाँ मुद्दा दायर गरेका छन् । युनुस अन्सारीको हत्या मुद्दामा उनलाई अदालतले पुरानो मुद्दामा छुटी गएमा थप पाँच वर्ष कैद सजाय हुने फैसला गरेको छ । त्यो कैद सजाय कर्तव्य ज्यान मुद्दामै जोडिनुपर्ने माग राख्दै उक्त मुद्दा दायर भएको हो । मोहन बन्जाडेलगायत अन्य चारजना वकिलले उक्त मुद्दा हेर्दै आएका छन् । आफू अन्य काममा व्यस्त भएकाले उक्त मुद्दा हेर्न नभ्याएको शकुन्तलाले बताइन् ।
शोभराजको अपराध यात्रा
बिकिनी किलरका रूपमा कुख्याती कमाएका शोभराजको जीवन जति अनौठो र रहस्यमय छ, उनको जन्म पनि त्यस्तै छ । अविवाहित आमाको सन्तानको रूपमा सन् १९४४ मा भियतनाममा जन्मिएका उनका बाबु भारतीय मूलका हुन् । पछि शोभराजलाई आमाको प्रेमीले हुर्काएका थिए । उनको वास्तविक नाम चाल्र्स गुरुमुख शोभराज हो । बाल्यकाल उनले फ्रान्समै बिताए । पर्याप्त पारिवारिक वातावरण पाउन नसकेकाले उनी सानैदेखि फरक व्यवहार देखाउने र अपराधका गतिविधि गर्ने गर्थे । उनले पहिलो अपराध सन् १९६३ मा १९ वर्षको उमेरमा गरेका थिए । पेरिसको एक घरमा गरेको चोरी उनको जीवनको पहिलो आपराधिक खुट्किलो थियो । जसमा उनी असफल भए र करिब एक वर्ष जेल बसे । त्यहाँ उनले आफूलाई विशेष व्यवहार गर्न जेलका अधिकारीलाई बाध्य बनाए ।
फ्रान्सको सोही जेलमा उनको जीवनको अर्काे महत्वपूर्ण घटना घट्यो । उनले त्यहाँको अन्डरवल्र्ड समूहका सदस्य फिलिक्स इसकोन्जीसँग भेटे । जेलबाट छुटेपछि त्यहाँको अन्डरवल्र्ड समूहसँग मिलेर शोभराजले काम गर्न थाले र पेरिसका धनी व्यक्तिसँग संगत बढाउनुका साथै उच्च वर्गबारे धेरै सूचना बटुले । त्यसपछि एकपछि अर्काे गर्दै पेरिसका ठूला चोरीका घटनामा उनले सफलता हात पारे । त्यो सिलसिला करिब सात वर्ष चल्यो । त्यहीबीचमा उनको चान्तास नामक युवतीसँग भेट भयो । जसलाई उनले प्रेम प्रस्ताव राखे र युवतीले सहजै स्विकारिन् । पछि उनीहरूले बिहे गरे ।
पछि धरौटीमा रिहा भएपछि उनी अफगानिस्तानको काबुल पुगे । काबुलमा पर्यटक लुट्ने धन्दामा लागे र दर्जनौँ घटनापछि मात्र समातिए । चतुर शोभराज प्रहरीलाई झुक्याउँदै बिरामी भएको र अस्पताल जाने बहानामा त्यहीँबाट भागेर भारत आए । त्यसपछि इरान, टर्की र ग्रिसमा दुई वर्ष बिताए । त्यहाँ पनि उनको आपराधिक गतिविधि जारी नै थियो । चोरीको पासपोर्ट प्रयोग गरेर उनी इरान हुँदै टर्कीको राजधानी इस्तानबुल पुगेका थिए । जहाँ उनका भाइ एन्ड्री बस्थे । इस्तानबुलमा शोभराज र एन्ड्रीको आपराधिक गतिविधि झन् सशक्त बन्यो । पछि ग्रिसमा उनीहरूलाई समातियो । तर, शोभराजसँग प्रहरीबाट उम्कने अनेकौँ उपाय थिए । त्यसकारण त्यहाँबाट पनि उनी भाग्न सफल भए । उनीसँगै प्रक्राउ परेका उनका भाइ एन्ड्रीले १८ वर्ष जेलमा बिताउनुपरेको थियो ।यसबीचमा प्रहरीले आफूमाथि निगरानी बढाएपछि उनले फ्रान्स छाड्ने कुटिल निर्णय गरे । पूर्वी युरोपमा केही दिन बसेर उनी सन् १९७० मा श्रीमतीका साथ भारतको मुम्बई आए । पूर्वी युरोपमा रह“दा पनि उनी निकै चलाखीसाथ चोरी गर्न सफल भए । भारत आएपछि करिब एक वर्ष उनले इमानदार जीवन बिताएको उनीबारे लेखिएको ‘लाइफ एन्ड क्राइम्स अफ चाल्र्स शोभराज’ नामक पुस्तकमा उल्लेख छ । तर, इमानदार जीवन बिताउने रहर बोकेर उनी मुम्बई आएका भने थिएनन् । मुम्बईमा उनले कार चोर्ने र बेच्ने धन्दा गर्न थाले । जुवामा विशेष सोख भएकाले त्यसरी कमाएको पैसा उनी जुवा खेलेर सिध्याउँथे । तर, एक वर्षको बीचमा नै उनी होटेल अशोकामा रहेको सुन पसल चोरीमा समातिए । तैपनि उनी जेलबाट भाग्न सफल भइसकेकोमा तत्कालै उनलाई प्रहरीले समातेको थियो । आफू बसेको होटेलको कोठाबाट पसलमा प्वाल पारेर उनले त्यो चोरी गरेका थिए ।
ग्रिसपछि उनी थाइल्यान्ड भागे । थाइल्यान्डबाटै उनले कुख्याती कमाएका हुन् । त्यहाँ लगातार उनले तीन पर्यटकको हत्या गरे । आफूलाई कुटिल लागुऔषध कारोबारीको रूपमा प्रस्तुत गरेर पर्यटकसँग नजिकिने गरेका थिए । तीन पर्यटकको हत्या घटनाले थाइल्यान्डमा हंगामा नै मच्चियो । हत्या गरिएका पर्यटकको पासपोर्ट लिएर उनी भारत आए । त्यहाँ एक भारतीय युवा अजय चौधरी र क्यानेडियन नागरिक मोनिकासँग उनको दोस्ती बढ्यो । त्यसपछि उनीहरूले मिलेर भारत, नेपाल र मलेसियामा दर्जनौंँ आपराधिक काम गरे । तर, चलाखीका कारण उनी कहिल्यै पक्राउ परेनन् । सन् १९७५ को कुरा थियो यो । सोही वर्ष उनीहरू थाइल्यान्डमा हत्या गरेका पर्यटकको पासपोर्ट लिएर नेपाल आएका थिए । नेपालमा पनि उनीहरूले तीन विदेशी नागरिकको हत्या गरे ।
नेपालमा हत्या गरेपछि प्रहरीलाई झुक्याउँदै शोभराज भारत छिरे । अरू तीन युवतीसँग मिलेर भारतको भ्रमणमा आएका फ्रेन्च विद्यार्थीलाई आफूहरू गाइड भनेर झुक्याउँदै हत्या प्रयास गरे, त्यही घटनामा उनलाई प्रहरीले पक्राउ गर्यो । उक्त घटनामा उनलाई आजीवन काराबासको सजाय हुने धेरैको अनुमान थियो । तर, उनकी सहयोगी अर्की महिलालाई प्रमुख दोषी ठह¥याएर शोभराजलाई १२ वर्षको मात्र जेल सजाय सुनाइयो ।
चतुर शोभराजको अगाडि कसको के लाग्ने ? भारतको एक ठूलो जेल मानिने तिहाड जेललाई उनले आफ्नो दरबारजस्तो बनाए । त्यहाँ उनलाई सम्पूर्ण सुविधा थियो । जेलका सबै कर्मचारीलाई उनले रिझाएका मात्र थिएनन्, शोभराज भनेपछि जेलरले समेत आदर गर्ने गरेको उनीबारे लेखिएको पुस्तकमा उल्लेख छ । यसैक्रममा जेलमा उनको जन्मदिन मनाउने कार्यक्रम भयो । कैदीदेखि जेलरसम्म सबैलाई उनले पार्टी दिए । जन्मदिनको अवसरमा बाँडिएको फलफूलमा बेहोस हुने औषधि मिलाइएको थियो । त्यसरी सबैलाई बेहोस बनाएर उनी भारतको जेलबाट भाग्न सफल भएका भए । लगत्तै उनी गोवामा पक्राउ परे र १० वर्ष जेलजीवन बिताए ।
त्यतिखेरसम्म शोभराज अन्तर्राष्ट्रियस्तरमै मोस्टवान्टेड अपराधीका रूपमा कहलिइसकेका थिए । उनलाई सुपुर्दगी गर्न थाइल्यान्डलगायतका देशले भारतलाई पटक–पटक आग्रह गरेका थिए । सुपुर्दगीका लागि नेपाललाई आग्रह गर्न छलफल भएको थियो । तर, नेपाल सरकारले भारतलाई पत्राचार भने गरेन । भारतको जेलबाट छुटेपछि उनी फ्रान्स गए र त्यहाँबाट गृहदेश भियतनाम पुगेर सामान्य नागरिकको रूपमा पाँच वर्ष बिताए । त्यसपछि भियतनामको आफ्नै पासपोर्ट लिएर उनी नेपाल आए । काठमाडौंको एक क्यासिनोमा देखेपछि प्रहरीले ०६० सालको असारमा उनलाई पक्राउ गरेको हो । नेपालको जेलभित्रैबाट उनले युनुस अन्सारीलाई गोली हान्न भारतीय नागरिकलाई सहयोग गरे । ‘ऊ अझै पनि सुध्रिन्छ जस्तो लाग्दैन,’ केन्द्रीय कारागारका डिएसपी जनक शाही भन्छन्, ‘उसलाई आफ्ना अपराधहरूप्रति कुनै पश्चात्ताप छैन ।’
न्यायाधीश बन्ने रहर
निहिताले यही वर्ष एलएलबी उत्तीर्ण गरी अधिवक्ताको लाइसेन्स लिएकी छिन् । लाइसेन्स लिएपछि शोभराजकै मुद्दामा उनले पहिलो बहस पैरवी गरिन् । जेलमा कैदी/बन्दीहरूलाई सरकारले दिने पैसा कम भएको भन्दै शोभराजले रिट हालेका थिए । सोही रिटमा निहिताले बहस गरिन् जुन मुद्दा शोभराजले जिते पनि । शकुन्तलाका अनुसार गत २६ साउनमा सर्वाेच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र अनिल सिन्हाको इजलासले कैदी/बन्दीको दैनिक खर्च ४५ रुपैयाँबाट बढाउन आदेश दिएको छ ।
निहिता विश्वास
शकुन्तलाका अनुसार निहितामा न्यायसेवामा भर्ना हुने चाहना छ । त्यसको पनि उनले तयारी गरिरहेकी छिन् । न्यायसेवामा भर्ना भएर न्यायाधीश बन्ने उनको इच्छा हो । उनले राजनीतिशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गरिसकेकी छिन् । ‘पत्रकारितामा पनि निहितालाई निकै इन्ट्रेस्ट छ, प्लस टुमा उसले पत्रकारिता पढेकी हो,’ शकुन्तला भन्छिन्, ‘जे गरे पनि देशमै बसेर काम गर्ने उसको इच्छा छ ।’
नायिका बन्ने अफर अस्वीकार
भारतीय रियालिटी सो ‘बिग बोस’मा सहभागी भएपछि निहितालाई फिल्ममा अभिनय गर्ने अफर पनि आएको थियो । भारतका ठूला निर्देशकहरूले फिल्ममा काम गर्ने प्रस्ताव राखेको आमा शकुन्तलाले बताइन् । नेपालमा पनि फिल्ममा काम गर्ने अफर आएकोमा ‘इच्छा नभएको’ भन्दै निहिताले अस्वीकार गरेकी थिइन् ।भारतीय रियालिटी सो ‘बिग बोस’मा सहभागी भएपछि निहितालाई फिल्ममा अभिनय गर्ने अफर पनि आएको थियो । भारतका ठूला निर्देशकहरूले फिल्ममा काम गर्ने प्रस्ताव राखेको आमा शकुन्तलाले बताइन् । नेपालमा पनि फिल्ममा काम गर्ने अफर आएकोमा ‘इच्छा नभएको’ भन्दै निहिताले अस्वीकार गरेकी थिइन् ।
– See more at: http://www.enayapatrika.com/2016/12/115812#sthash.tL2ZYX19.dpuf