झापास्थित नेपाली सीमा सुरक्षा चौकीमा सोमबार अपराह्न भएको आक्रमणको प्रयासका विषयमा भारतीय पक्षले मंगलबार माफी मागेको छ ।
झापा गाउँपालिका–४ सुकुम्वासी बस्तीमा घरेलु हतियारसहित आएका करीब एकसय ५० जना भारतीय नागरिकले १३१ नं सीमास्तम्भ नजिकको सुरक्षा चौकीमा हुलहुज्जत गरेपछि उनीहरुलाई भगाउन नेपाली सुरक्षाकर्मीले दुई राउण्ड हवाईफायर गर्नुपरेको थियो ।
घटनाका विषयमा मंगलबार बिहान दुवै देशका सुरक्षा कमान्डरबीच छलफल भएको छ । घटनास्थल रहेको दशगजामा बिहार राज्यको किसनगन्जस्थित भारतीय सीमा सुरक्षा बल (एसएसबी) १२ बटालियनका कमान्डर सुवास नेङ्की, धनतला ग्राम पञ्चायतका मुखिया र नेपालका तर्फबाट सशस्त्रका एसपी रमेशकुमार थक्सु, गाउँपालिकाका अध्यक्ष जयनारायण साह, उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीलगायतको टोलीबीच छलफल भएको हो । छलफलमा भारतीय पक्षले आफ्ना नागरिकबाट गल्ती भएको स्वीकारेको गाउँपालिका अध्यक्ष साहले बताए ।
नेपाली सुरक्षाकर्मीले मानवीय क्षति नहुने गरी हवाई फायर मात्र गरेको भन्दै एसएसबी कमान्डरले धन्यवाद व्यक्त गरेको उनको भनाइ थियो । उनका अनुसार भारतीय पक्षले आगामी दिनमा यस किसिमको गल्ती हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
दुई दिनअघि जिल्लाकै कचनकबल गाउँपालिका–४ खुट्टामनीबाट पनि भारतीयहरू नेपाल प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीसँग विवाद भएको थियो । सीमावर्ती क्षेत्रमा गरेको खेती हेर्न जान लागेको भन्दै १५ जनाको संख्यामा आएका भारतीयहरू जबर्जस्ती नेपाल प्रवेश गर्न खोजेका थिए । १२० नम्बर पिलर छेउमा चार जना मात्र प्रहरी खटिएको देखेपछि उनीहरूले जबर्जस्ती गरेका थिए । तर तत्कालै नजिकैको क्याम्पबाट थप प्रहरी आएपछि उनीहरू भारततर्फ भागेका थिए ।
सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीमाथि आक्रमण हुने क्रम बढेकाले जिल्ला सुरक्षा समितिको बैठकबाट ठोस निर्णय गर्ने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए । कोभिड–१९ को संक्रमणबाट बच्न सरकारले लकडाउनसँगै भारतीय सीमा सिल गरेको छ । खुला सीमाबाट हुन सक्ने आवतजावतलाई रोक्न जिल्लामा सशस्त्र प्रहरी र जनपद प्रहरीको टोली प्रत्येक ५ सय मिटरको दूरीमा खटाइएको छ । जिल्लाको सीमा क्षेत्रका एक सय ३२ भन्दा बढी स्थानमा सशस्त्र र जनपद गरी एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ ।