पोखरा महानगरपालिका वडा नं. १९ घार्मीस्थित नौ हेक्टर क्षेत्रफल भएको भुमे पुज्ने तीस ढुंगे सामुदायिक वनसँग जोडिएको सार्वजनिक जग्गामा रहेका करीब पाँचसय रुख काटिएपछि सोही स्थानका स्थायी बासिन्दा समेत रहेका संघीय सरकारका युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्मा सुनार विवादमा तानिएका छन् । अद्यपि मन्त्री विकले ती रुख आफूहरुको भोगचलनमा रहेको जग्गाको भएको दाबी गरेका छन् ।
यतिबेला घार्मीको गुराँसपानी टोलमा मन्त्री विश्वकर्माको घरवारी तथा भुमे पुज्ने तीस ढुंगे सामुदायिक वनसँग जोडिएको केहि अल्को ढिस्को र लामाचौरतर्फ पानी ढलो भेगमा रहेका अधिकांस रुखहरु सोत्तर पारेर काटिएका छन् । रुख वुटाका काटिएका फेद मात्र पाँचसय तीन वटा र गोलिया दुईसय ३३ वटाको स्थलगत मुचुल्का डिभिजन वन कार्यालयले उठाएको छ । गोलिया वाहेक दाउराहरु वनमै असरल्ल रहेका छन् ।
डिभिजन वन कार्यालय कास्कीले ती रुखहरु काटिएको बारेको छानविन शुरु गरेको छ र स्थलगत मुचुल्का पनि उठाएको जनाएको छ । डिभिजन वन कास्कीका प्रमुख रामकाजी श्रेष्ठले घार्मी गुँरासपान जस्तै सखेनीवारी सिस्नेपानीमा पनि रुख कटान भएको जानकारी दिंदै नापी तथा मालपोत कार्यालयको समन्वयमा अनुसन्धान प्रकृया अगाडि बढाइने जानकारी दिए ।
सामुदायिक वनसँग जोडिएको पर्ति जग्गाको रुख वुट्यानलाई वन ऐन २०७६ ले राष्ट्रिय वन क्षेत्र किटान गरेको छ । राष्ट्रिय वन क्षेत्रभित्र रुख कटान गर्न पाइदैन । यदि राष्ट्रिय वन क्षेत्रभित्रका रुख कटान गरिए कानूनी दृष्टिले दण्डनीय मानिन्छ । तर स्थानीय बासिन्दा समेत रहेका संघीय सरकारका युवा तथा खेलकूद विकास मन्त्रालयका मन्त्री जगतबहादुर विश्वकर्मा सुनारले आफ्नो बाबु डिलबहादुर सुनारले स्थानीय महेन्द्र मावि घार्मी स्कुल बनाईदिएबापत उक्त जग्गा प्राप्त गरेको र हाल दर्ता हुन नसकेपनि आफूहरुको भोगचलनमा रहेकोले रुख कटान गरेको दाबी गरेका छन् । उनले त्यो जग्गा २०३२ सालको नापीमा सार्वजनिक पर्ति भनेर जनिएको पनि स्वीकारे । मन्त्री विश्वकर्माले जनसञ्चार डट कमसँग कुरा गदैृ आफूहरु त्यहाँको आदिवासी जनता भएपनि प्रकृया शुरु गरिएपनि सामाजिक रुपमा पिछडिएको वर्ग भएकाले जग्गा दर्ता गर्न नसकेको बताए । उनले हालसालै गठन भएको उच्चस्तरीय सुकुम्बासी समस्या समाधान आयोगमार्फत् ती जग्गा आफूहरुको नाममा गर्ने कोशिश हुने जानकारी दिए ।
मन्त्री विश्वकर्माले अब छिट्टै नै ती जग्गा व्यक्तिका नाममा दर्ता प्रकृया हुने जानकारी दिईरहँदा पोखरा महानगरपालिकाको वडा नंं १९ मा नयाँ नापी कार्य सुरु भएको छ र त्यही बेला सार्वजनिक पर्ति भनेर किटान भएको जग्गाका रुखहरु कटान हुँदा स्थानीय बासिन्दा सशंकित बनेका छन् ।
डिभिजन वन कार्यालय कास्कीको स्वीकृति विना नै राष्ट्रिय बनक्षेत्रका रुखहरु कटान गरी कानूनी साशनको धज्जी उडाइएको अवस्थामा सो वन फडानी सम्बन्धमा वन ऐन वमोजिम कारवाही हुन्छ या हँुदैन त्यो भने पर्खाइको विषय हो । यहि काण्ड अन्य सर्वसाधारण नागरिकबाट भएको खण्डमा डिभिजन वन कार्यालयले काठ समेत वरामद गरी मुद्दा चलाउँछ र कैद तथा जरिवाना समेत हुने स्पष्ट प्रावधान रहेको छ तर मन्त्री संलग्न यस काण्डमा नेपालको वन प्रशासनले कस्तो छानविन गर्ला ? प्रतिक्षाको विषय बनेको छ ।