टर्कीको क्रान्तिकारी सांगीतिक ब्यान्ड ‘ग्रुप योरम’का सदस्य इब्राहिम गोसेक र ब्यान्डमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका मागहरु राखेर आमरण अनसन बसेकी टर्किस संगीतकर्मी हेलिन बोलेकको ३ अप्रिल २०२० मा निधन भएको छ।
टर्कीको क्रान्तिकारी सांगीतिक ब्यान्ड ‘ग्रुप योरम’की सदस्य रहेकी उनको आमरण अनशनको दुई सय ८८ औं दिनमा निधन भएको हो।
‘सत्यबारे गाउन पाउने अधिकारका लागि’ भन्दै भोकै बसेका उनीहरुको पाँच प्रष्ट माग थिए :
इदिल सांस्कृतिक केन्द्र र ग्रुप योरममा छापा मार्न छाड्नु पर्ने।
ब्यान्डका सदस्यहरुलाई खोजीको सूचीबाट हटाइनु पर्ने।
उनीहरुको ब्यान्ड र कार्यक्रममाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने।
ब्यान्डविरुद्धको मुद्धा फिर्ता लिइनु पर्ने।
पक्राउ परेका ब्यान्डका सात जना सदस्यलाई रिहा गरिनु पर्ने।
ब्यान्डमा टर्किस र कुर्दिस सदस्यहरु थिए। उनीहरुको प्राय गीत स्वतन्त्रताका लागि गरेको संघर्ष, अन्तर्राष्ट्रिय ऐक्यवद्धता र दैनिक मजदुरी गर्नेहरुको पक्षमा छन्।
टर्कीमा चर्चित यस ब्यान्डका कन्सर्टहरुमा हजारौं दर्शक, स्रोताको उपस्थिति हुन्छन। तर राज्यस्तरबाट भने उनीहरुको कार्यालयदेखि कार्यक्रम स्थलमा पटक पटक छापा मारिएको छ। उनीहरुको सदस्यलाई विना कारण पक्राउ गर्ने र यातना दिने गरेको खबर समेत सार्वजनिक हुन्थे।
तीन साताअघि भने अनशनमा रहेका बोलेक र गोसेक बसेको ठाउँमा टर्कीको सुरक्षा फौजले छापा मार्यो। सामिडाउनका अनुसार उनीहरुलाई जबरजस्ती खाना खुवाउनका लागि अस्पताल समेत लगिएको थियो। तर, उनीहरुले खाना खाएनन्। छ दिनको अस्पताल बसाइपछि उनीहरु पुन: अनशनस्थल फर्किएका थिए।
२८ वर्षीया बोलेक सन् २०१९ को नोभेम्बरमा रिहा भएकी थिइन्। त्यसको ठीक तीन महिनापछि इब्राहिम पनि निस्किए। उनीहरु आफ्नो माग पूरा नभएसम्मका लागि अनशनमा रहन प्रतिवद्ध थिए। अप्रिल ३ मा बोलेकको निधन भयो। इब्राहिमले भने आफ्नो अनशन जारी राखेका छन्।