‘काठमाण्डू प्रेस’ न्युज पोर्टलको सिस्टमभित्र अनधिकृत रूपमा प्रवेश गरेर कन्टेन्ट ह्याक गरेको सिरान टेक्नोलोजिजले आफूबाट गल्ती भएको स्वीकार गरेको छ । प्रधानमन्त्रीका आइटी सल्लाहकार असगर अलीको निर्देशनमा उनका प्राविधिकहरूले न्युज पोर्टलको नयाँ एड्मिन सिर्जना गरेका थिए ।
अनधिकृत रूपमा अर्काको सिस्टममा छिरेर डाटा म्यानुपुलेट गर्ने कामलाई ह्याकिङ भनिन्छ । यस्तो साइबर अपराधमा संलग्नलाई दण्डित गर्ने कानुनी प्रावधान छ । तर, प्रधानमन्त्रीले आफ्ना आइटी सल्लाहकारलाई संरक्षण गर्छन् कि कानुनी कारबाही गर्छन् ? समाजले अवलोकन गरिरहेको छ । जब कि यही देशमा फेसबुकमा कमेन्ट लेख्नेलाई जेल पठाउने गरिएको छ ।
सोही आइडीबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र उनका छोराहरूसँग सम्बन्धित समाचार डिलिट गरिएको थियो ।
समाचारमा प्रधानमन्त्रीका आइटी सल्लाहकार तथा ई–सेवाका सिइओ अलीको नाम पनि जोडिएको थियो । तर, सार्वजनिक रूपमा चौतर्फी दबाब भएपछि सिरान टेक्नोलोजिजले गल्ती स्विकारेको छ ।
‘काठमाण्डूप्रेसका सम्पादक र सिरान टेक्नोलोजिजको व्यवस्थापनबीच संवाद चलिरहेको वेला गलत सूचनाका कारण सिरान टेक्नोलोजिजको प्राविधिक टिमले न्युज पोर्टलबाट सो समाचार हटाएको छानबिनको क्रममा पाइयो,’ सिरान टेक्नोलोजिजद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एउटा जिम्मेवार कम्पनीका रूपमा हामी हाम्रो त्रुटिलाई स्वीकार गर्दै हामी काठमाण्डू प्रेस, सम्पूर्ण प्रेस जगत् र हाम्रो शुभचिन्तकसँग क्षमायाचना गर्दछौँ । साथै, यस्ता किसिमका त्रुटि दोहोरिन नदिन हामी नियन्त्रणका उपायलाई बलियो बनाउँदै पूर्वाधारलगायतका संयन्त्र निर्माण गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गर्दछौँ ।’
संविधानको धारा १९ ले मिडियालाई कुनै पनि समाचार, लेख वा पाठ्यसामग्री छाप्न पूर्वप्रतिबन्ध लगाउन नपाइने, मिडियाको इजाजत खारेज गर्न वा प्रकाशन वा प्रसारण सामग्री जफत गर्न नपाइने व्यवस्था गरेको छ।
यस अघि काठमाडौं प्रेसका सम्पादक गोविन्द परियारले अलीले सो समाचार हटाउन पटकपटक दबाब दिएको तर आफूले नमानेपछि न्युज पोर्टल नै नियन्त्रणमा लिएर हटाएको बताएका छन्। उनले यो विषय अन्यन्तै गम्भीर भएकाले न्यायिक प्रक्रियामा जाने बताइसकेका छन्। समाचार संस्थाले छापाखाना तथा पत्रपत्रिका सम्बन्धी ऐन, २०४८ को दफा ३३ र विद्यतीय कारोबार ऐन, २०६३ को दफा ४८, ५७ र ५८ बमोजिम आफूलाई परेको क्षतिसहितको दाबी गरी कानुनी कारबाहीका लागि प्रक्रिया चलाउन सक्ने र दोषीलाई ६ महिनासम्म कैद सजाय हुन सक्छ।
काठमाडौंं प्रेसले ‘महँगोमा चीनबाट स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ भन्ने समाचार प्रकाशित गरेको थियो। समाचारमा मेडिकल सामग्री खरिदमा प्रधानमन्त्रीका आइटी विज्ञ अली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका छोरा क्षितिज, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलका छोरा स्वराजलगायतको संलग्नता रहेको दाबी गरिएको छ।
मेडिकल सामग्री खरिदसम्बन्धी समाचार अलीको टिमले हटाउन दबाब दिँदा आफूले नमानेपछि उनले एडमिन नियन्त्रणमा लिएर हटाएको काठमाडौं पे्रसको आरोप छ।
सम्पादकीय टोलीको अनुमतिबिनै सिरान टेक्नोलोजीजका प्राविधिकले नयाँ एडमिन निर्माण गरेर अलीलगायतको विषयमा लेखेको सामाचार हटाएको काठमाडौं प्रेसको दाबी छ। करिब डेढ घण्टा समाचार साइट नखुलेपछि अन्य प्राविधिकको सहायतामा समाचार रिकभर गरिएको काठमाडौं प्रेसले सार्वजनिक गरिसकेको छ।