चर्चित फुटबलर रोनाल्डिन्होका दाजुभाई नक्कली राहदानीसहित पक्राउ

चर्चित फुटबलर रोनाल्डिन्होका दाजुभाई नक्कली राहदानीसहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 7.1K
    Shares

फुटबलर रोनाल्डिन्हो

नक्कली डकुमेन्ट प्रयाेग गरेको आराेपमा ब्राजिलियन फुटबलर रोनाल्डिन्हो पाराग्वेमा पक्राउ परेका छन् । नक्कली दस्तावेज प्रयोग गरेर दक्षिण अमेरिकी मुलुकमा प्रवेश गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

सन् २००२ को विश्वकप विजेता ३९ वर्षीय खेलाडीलाई रिसोर्ट याच एन्ड गल्फ क्लब पाराग्वेबाट भाइ रोबर्टोसँगै बुधबार राति पक्राउ गरिएको पाराग्वेको गृह मन्त्रालयले पुष्टि गरेको छ ।

पाराग्वेको प्रहरीका अनुसार उनी र रोबर्टो पाराग्वेन नागरिक बनेर होटलमा बसिरहेका थिए । रोनाल्डिन्हो त्यहाँका क्यासिनो मालिक नेल्सन बेलोटीले निमन्त्रणामा पाराग्वे पुगेका थिए । उनले त्यहाँ विभिन्न कार्यक्रममा भाग लिने तालिका तय थियो ।

वातवरणीय जरिवानाका कारण हाल रोनाल्डिन्होसँग ब्राजिलको पासपोर्ट छैन । बार्सिलोनाका पूर्व स्टार र उनको भाइमाथि संरक्षित क्षेत्रमा रहेको गुआबिया तालमा गैरकानुनी रुपमा माछा मारेको अभियोगमा सजाय सुनाइएको थियो ।

सन् २०१८ नोभेम्बरमा उनीहरुलाई ८५ लाख डलर जरिवाना सुनाइएकोमा दुवैले उक्त रकम तिर्न नसकेपछि रोनाल्डिन्होलाई देश छाड्न प्रतिबन्ध लगाइएको थियो । जसको कारण उनी ब्राजिलमा नै बस्न बाध्य बनेका थिए ।

दक्षिण अमेरिका र युरोपमा सफल करियर बिताएका रोनाल्डिन्होले च्याम्पियन्स लिग, ला लिगा र सिरिए ए को उपाधि जितेका थिए । सन् २००५ मा उनले बालोन डि ओर जित्नुका साथै सन् २००४ र २००५ मा फिफा वर्ष खेलाडीको उपाधि पनि जित्न सफल भएका थिए । उनले सन् २००२ मा जापान र दक्षिण कोरियामा आयोजित विश्वकप जितेका थिए भने सन् १९९९ मा कोपा अमेरिकाको उपाधि पनि हात पारेका थिए ।

प्रतिक्रिया