गण्डकी मेडिकल कलेजका सञ्चालक अर्यालको खातामा एक अर्ब रुपियाँ, खाता जति सबै रोक्का

गण्डकी मेडिकल कलेजका सञ्चालक अर्यालको खातामा एक अर्ब रुपियाँ, खाता जति सबै रोक्का


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २ माघ २०७६
  • 3.9K
    Shares

खुमा अर्याल

विद्यार्थीबाट गैरकानुनी रूपमा रकम उठाएका गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्यालले अकुत सम्पत्ति आर्जन गरेको भेटिएको छ।

अर्यालको सम्पत्ति अस्वाभाविक देखिएपछि उनको सम्पत्ति छानबिन शुरु गरेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी तरिकाबाट एक अर्ब बढी सम्पत्ति आर्जन गरेको देखिएको छ।

विभाग स्रोतका अनुसार उनले विद्यार्थीबाट गैरकानुनी रूपमा रकम उठाएका छन्। सो रकम उनले आफ्नो व्यक्तिगत बैंक खातामा मौज्दात गरी मुख्य रूपमा घर-जग्गामा लगानी गरेका छन्। उनले त्यसरी आर्जन गरेको रकम बैंक, आफन्तको नाममा, सेयर, जग्गा तथा व्यापारमा लगाएको देखिएको छ।

विभागले दुई महिनाअघि गण्डकी मेडिकल कलेजमा छापा मारेर त्यहाँको आर्थिक कारोबारका कागजात जफत गरेको थियो।

ती कागजात अनुसन्धान गर्दा मेडिकल कलेजबाट उठाएको अस्वाभाविक रकम अर्यालले आफ्नो निजी बैंक खातामा जम्मा गरेको देखिएको विभाग स्रोतले बतायो। अर्यालका आधा दर्जन बढी बैंकमा रहेका खाता रोक्का राखिएको छ। उनले पछिल्लो समय लगानी गरेका घर-जग्गा मालपोतबाट रोक्का गरिएको छ।

अर्यालको बैंक खाता रोक्का राख्न विभागले एक महिनाअघि नै राष्ट्र बैंकलाई पत्राचार गरेको थियो। यसबीचमा गैरकानुनी रकम खुल्दै गएपछि अर्यालले अनुसन्धानलाई प्रभावित पार्न खोजेका थिए।

स्याङजा जिल्लाको भिरकोट नगरपालिका-७ स्थायी घर भएका नेपाली कांग्रेसका नेता अर्यालको भैरहवाको युनिभर्सल मेडिकल कलेजमा पनि लगानी छ।

यसैबीच प्राप्त जानकारी  अनुसार, गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्याललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बयानमा बोलाउने तयारी थालेको छ। अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अर्यालमाथि छानबिन थालेको विभागले अनुसन्धान सकिएपछि बयानमा बोलाउन लागेको हो।

गण्डकी मेडिकल कलेज
गण्डकी मेडिकल कलेज

अर्यालले केही वर्षयता वर्षेनी एउटा ब्याचका विद्यार्थीबाट १० लाख रूपैयाँ गैरकानुनी उठाउने गरेका थिए। पछिल्लो ब्याचमा त्यो बढाएर १५ लाख पुर्‍याएका थिए। यसरी उनले ९० जना सशुल्क पढ्ने एमबिबिएस विद्यार्थीको एक ब्याचबाट मात्रै ९ करोडदेखि साढे १३ करोडसम्म ठगी गरेको थाहा भएको छ।

२०७२ यताका चार ब्याचका विद्यार्थीसँग उनले कम्तीमा ४० करोड गैरकानुनी रूपले उठाएको देखिएको छ। सो रकम कलेजको आधिकारिक खातामा नदेखिएको विभाग स्रोतले बतायो।

त्यसबाहेक ‘टियु स्टुडेन्ट सर्भिस चार्ज’ शीर्षकमा ८४ हजार ९०० रुपैयाँ पनि असुल्ने गरेका थिए। सय जनासित उठाउँदा उक्त शीर्षकमा मात्रै झन्डै ८५ लाख रुपैयाँ उठाएको आरोप अर्याललाई छ। चार वटा ब्याचका सबै संकायका विद्यार्थीसित उठाइएको त्यस्तो रकम ४ करोड हाराहारी हुन आउँछ।

त्रिभुवन विश्वविद्यालयसमेतको नाम जोडेर लिने गरिएको त्यो शुल्क कलेजले नै पचाउँथ्यो। यसरी अवैध रूपमा शुल्क लिन उनको कलेजले ठगीको ‘फिल्मी शैली’ नै विकास गरेको थियो।

अघिल्लो वर्षदेखि त्रिवि अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थानले ओपन हाउस काउन्सलिङबाट छानिएका विद्यार्थीलाई तोकिएको शुल्कको आधा रकम बुझाएको भर्पाइ लिएर भर्ना गरेर सम्बन्धित कलेज पठाइदिन्थ्यो। तर, कलेज पुग्नासाथ खुमा अर्याल ‘बार्गेनिङ’ थाल्थे।

विद्यार्थीहरूका अनुसार ‘यति अतिरिक्त रकम नबुझाउने हो भने तपाईंको भर्ना रद्द हुन्छ’ भनेर ‘ब्ल्याकमेल’ गर्थे।

‘यति अतिरिक्त शुल्क तिर्न तयार छु’ भनी कागजमा हस्ताक्षर गराउन लगाउँथे। हस्ताक्षर भएको कपी विद्यार्थीले पाउँदैनथे।

आइओएमबाट तोकिएकै शुल्कमा भर्ना पाइयो भनेर ढुक्क भएका विद्यार्थी र अभिभावक कलेज पुग्दा अतिरिक्त रकमको भारी बोक्न तयार हुनुपर्थ्यो।

पैसा सकभर नगद नभए चेक दिन खोज्नेलाई आफ्नै नाममा चेक काट्न लगाइन्थ्यो। यसरी युनिभर्सल र गण्डकी मेडिकल कलेजका सञ्चालक अर्यालले युनिभर्सलबाट मात्रै वार्षिक १० करोड ठगी गरिरहेका थिए।

त्यो कति ठूलो रकम हो बुझ्नका लागि संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमिति प्रतिवेदनले पनि देखाएको थियो।

उक्त प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा युनिभर्सलले १ अर्ब १२ करोड ३१ लाख आम्दानी र १ अर्ब २ करोड ७१ लाख खर्च गर्दै बोनस, कर र लाभांश अगाडि ९ करोड साठी लाख नाफा गरेको छ। उक्त कलेजका लगानीकर्ताले सो वर्ष आफ्नो लगानीमा १३.२९ प्रतिशत प्रतिफल पाएका छन्।

प्रतिवेदनले अर्याल तथा सीमित सञ्चालकले एकै वर्षमा अवैध रूपमा सोही कलेजबाट कम्तीमा १० करोड अर्थात् कलेजको वर्षभरको वैध नाफाभन्दा बढी असुलेको देखाएको छ।

गत वर्ष अर्यालविरूद्ध विद्यार्थीले ठगी मुद्दामा जाहेरी पनि दिएका थिए। अहिलेसम्म उक्त मेडिकल कलेजले ५३ करोड रूपैयाँ बढी अवैध शुल्क उठाएको जाहेरीमा थियो। तर, अर्याल सो मुद्दामा धरौटी बुझाएर अदालतबाट छुटैका थिए। समाचारस्रोत सेतोपाटी अनलाइन

प्रतिक्रिया