आर्थिक लेनदेनकाकारण प्रहरी निरिक्षक अमिर दाहालसहित तीनजनाको ज्यान जाने गरी धनुषाको महेन्द्रनगरमा बम बिस्फोट भएको प्रहरीको अनुसन्धानले भेट्टाएको छ। अनुसन्धानकै क्रममा ऋण नतिर्न बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले त्यस बम बिस्फोट गराएको देखिएको प्रहरीको भनाई छ। तर बिप्लव नेतित्वको नेपाल कम्युनिस्ट पार्टीले यस बारेमा अहिलेसम्म आआफ्नो कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित महेन्द्रनगर निवासी राजेश साहको घरमा शुक्रबार राति टाइम बम बिष्फोट हुँदा प्रहरी निरिक्षक अमिर दाहाल, घरधनी राजेश साह, उनका छोरा आनन्द लागायत तीन जनाको मृत्यु भएको थियो भने प्रहरीले सो घटना लगत्तै सो घटनामा संलग्न रहेको आरोप लगाउदै प्रहरीले बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तीन समर्थकलाई आफ्नो नियन्त्रणमा लिएको थियो। ।
पक्राउ परेका मध्ये सीता महराले चर्को ब्याज तिर्नुपर्ने भएपछि साहविरुद्ध आफ्नो भूमिगत संयन्त्र परिचालन गरेको हुन सक्ने प्रहरीको आशंका छ । पक्राउ परेका लतिफले ४१ लाख र सीताले पाँच लाख रुपैयाँ राजेशलाई तिर्नुपर्ने तथ्य र प्रमाण भेटिएको प्रहरीको दाबी छ । साहले ३६ प्रतिशत ब्याजमा रकम लगानी गरेको स्रोतले बताएको छ। ‘सीताले पाँच लाख रुपैयाँको साँवा/ब्याज गरी १२ लाख तिर्ने गरी सापटी लिएको देखियो,’ स्रोतले भन्यो, ‘लतिफले राजेशलाई एकमुस्ट ४१ लाख तिर्नुपर्ने कागज गरेको पनि भेटियो ।’
प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्नकुमार कार्कीले अनुसन्धानमा आर्थिक लेनदेन र त्यसबाट उत्पन्न रिसइबीसम्बन्धी तथ्य र प्रमाण संकलनलाई महत्त्वका साथ अघि बढाइएको बताए । उनले भने, ‘अनुसन्धानमा भूमिगत तथा आपराधिक समूहको संलग्नतालाई पनि एकै ठाउँमा जोडेर हेरेका छौं ।’ साह र चन्द समूहबीच विगतमा सम्बन्ध रहेकाले आर्थिक कारोबार जोडिएको पाइएको उनको भनाइ छ । चन्द समूहबाटै बम विस्फोट भएको हुन सक्ने भन्दै काठमाडौंको टोलीसमेत झिकाएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सो बिस्फोटमा घाइते चार जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । विस्फोटमा मृतक साहका कान्छा छोरा १४ वर्षीय प्रकाश, १९ वर्षीया छोरी अञ्जली, बुवा ७३ वर्षीय भिखारी र प्रहरी जवान रिझनाथ महतो घाइते भएका थिए । महतोको अवस्था भने गम्भीर छ । समाचार स्रोत कान्तिपुर दैनिक