चुनाब लड्दा र अघिपछि पार्टी कार्यकर्ता चाहिने, सेवासुविधा लिने बेला चाहिँ ती कार्यकर्ता विस्वासिलो नहुने, विस्वासिलो पात्रका रुपमा छोरा-छोरी, श्रीमान् – श्रीमती र भतिजा-भतिजी चाहिने ?
गण्डकी प्रदेशमा प्रदेशसभाका सांसदहरूले स्वकीय सचिव (पीए) राख्न पाउने सुविधामा आफन्त र आफ्नै परिवारका सदस्यलाई रोजेका छन् ।
कान्तिपुर अनलाइनमा प्रतिक्षा काफ्लेले लेखेको समाचार अनुसार, सत्तारुढ नेकपाका धनन्जय दवाडीले श्रीमती सर्वदा पौडेल दवाडी, नेकपाकै आशा कोइरालाले छोरी अस्मिता खनाल र कांग्रेसका सांसद डोबाटे विश्वकर्माले छोरा होमबहादुरलाई स्वकीय सचिव नियुक्त गरेका छन् ।
त्यस्तै मित्रकुमारी गुरुङ सुवेदीले छोरी भावना सुवेदी, लक्ष्मी सुनारले छोरा सुक्रिव, विष्णुप्रसाद लामिछानेले भतिजा गोविन्दराज लामिछाने, जुनादेवी नेपालीले मौसमी (नजिकको छोरी पर्ने), हरिशरण आचार्यले भाइ रविन, दीपक थापाले छोरा सागर, चन्द्रबहादुर बुढाले छोरी एलिसा बुढामगर, दिलमाया रोकामगरले श्रीमान् कर्णबहादुर गौतम, मोहनप्रसाद रेग्मीले भतिज सञ्जीव रेग्मी, ललितकला गुरुङले भतिज डेनिस गुरुङलाई पीएमा नियुक्त गरेका छन् ।

श्रीमतीलाई नियुक्त गरेका सांसद दवाडीले पीए सबैभन्दा नजिकको मान्छेलाई नै नियुक्त गर्नुपर्ने बताए । ‘सबैभन्दा विश्वासिलो मान्छे नै श्रीमती हो,’ उनले भने, ‘खोज्दा पनि श्रीमतीभन्दा विश्वासिलो मान्छे अरू कोही भेटिन्न । आफ्नो दुःखसुख बुझ्ने भएकाले राखेको हुँ ।’

यसैगरी छोरी राखेकी आशा कोइरालाले घरपरिवार, पार्टीबाटै पीए राख्नुपर्ने बताइन् । ‘स्वकीय सचिव राख्नु भनेको व्यक्तिगत समस्या हलका लागि हो,’ उनले भनिन्, ‘पीए भनेपछि व्यक्तिगत काममा पनि सहयोग गर्ने चाहिन्छ । विश्वासिलो पात्र भनेको पारिवारिक सदस्य नै हो ।’ जागिर दिने हिसाबले मात्र बाहिरी कार्यकर्ता नियुक्ति गर्न सकिने उनको तर्क छ । उनी भन्छिन्, ‘घरका सदस्य पीए राखे भन्दा पनि कस्ता सदस्य राखे ? ती सदस्यको पार्टी, देशका लागि जिम्मेवारी छ वा छैन । क्रियाशील छन् कि छैनन् । शुद्ध सदस्य मात्र हुन् त ? यो पनि बुझ्न जरुरी छ ।’ द्वन्द्वकालमा आफूसँगै जेल बसेकाले छोरीलाई पीएमा नियुक्ति गरेको उनले बताइन् ।

भाइलाई नियुक्त गरेका हरिशरण आचार्यले आफन्त जस्तो विश्वासिलो मान्छे अरू कोही नभेटिने प्रतिक्रिया दिए । ‘विगतका धेरै सांसदसँग पीएको विषयमा छलफल गरें । बुझें,’ उनले भने, ‘नजिकबाट विश्वास लिन सक्नेगरी राख्नुपर्छ भन्ने पाएँ । त्यसैले भाइलाई नै पीएमा राखेको छु ।’
प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र न्यौपानेका अनुसार साउन मसान्तसम्म पीए नियुक्त गर्न सांसदका लागि सूचना जारी गरिएको थियो ।
सांसदहरूले पोहोर पीए राख्न पाउनुपर्ने माग गरे पनि खर्च थपिने भन्दै प्रदेश सरकारले सुविधा दिन आनाकानी गरेको थियो । चालु वर्ष प्रदेश सरकारले बाटो खोलिदिएपछि उनीहरूले नासुस्तरका स्वकीय सचिव राखेका हुन् ।
६० सदस्यीय गण्डकीको प्रदेशसभामा हाल ५९ जना छन् । यिनमा ३९ जनाले गत साउनदेखि तलबभत्ता पाउनेगरी पीए राखेका हुन् । अरू १३ जना राख्ने प्रक्रियामा छन् । प्रदेशका ७ मन्त्रीले सरकार गठनलगत्तैदेखि पीए राख्न पाउने सुविधा लिइसकेका छन् । बागलुङ–२ ‘ख’ का टेकबहादुर घर्तीको गत मंसिर तेस्रो साता निधन भएको थियो ।
प्रदेश सरकारले गत वर्ष आर्थिक मितव्ययिता अपनाउने भन्दै सांसद विकास कोष र पीएको सुविधा प्रदेश सांसदलाई दिएको थिएन । सदस्यहरूको सेवासुविधासम्बन्धी विधेयकको अनुसूचीमा एउटा खाली कोलम राखेर प्रदेशसभाले पारित गरेको थियो ।
अनुसूचीमा हेरफेर गर्न पाउने अधिकार उपयोग गर्दै मन्त्रिपरिषद्को गत असार २५ को निर्णयले उक्त ऐनको अनुसूचीमा खाली रहेको कोलममा सांसदले पनि पीए राख्न पाउने सुविधा थपिएको हो । यसलाई प्रदेशसभाबाट पुनः पारित गराउनु नपर्ने भएपछि सांसदले आफूले चाहेका व्यक्तिलाई पीए राख्न सुरु गरेका हुन् ।