निषेधाज्ञा तोडेको भन्दै चितवन प्रहरीले आज दिउँसो केही प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको छ। पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका न्यू २४ टिभीका कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थकहरुले आज प्रशासनद्वारा जारी निषेधाज्ञा तोडेर प्रदर्शन गर्ने कोशिश गरेका थिए।
जिल्ला प्रशासन कार्यालय, चितवनले आज भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । दिनहुँ प्रर्दशन र नारावाजी हुन थालेपछि प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो । निषेधित क्षेत्रमा अस्पताल, सरकारी कार्यालय, अदालतजस्ता सम्वेदनशील निकायहरू छन् ।
चितवनका प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्लले आजदेखि जिल्लाको सुरक्षा व्यवस्था थप कडा बनाइएको बताए ।
यसैबीच, चितवनका राजनीतिक दलहरूले पत्रकार शालिकराम पुडासैनी हत्या प्रकरणबारे निष्पक्ष छानबिन गर्न प्रशासनलाई सहयोग गर्ने सहमति गरेका छन् ।
रवि लामिछानेलगायतका सञ्चारकर्मी पक्राउको विषयलाई लिएर पक्ष र विपक्षमा नाराबाजी हुन थालेपछि त्यहाँ क्रियाशील राजनीतिक दलहरूले आइतबार सहयोग गर्ने सहमति गरेका हुन् । दलहरूले घटनाबारे निष्पक्ष छानविनका लागि सहयोग गर्न र शान्तिपूर्ण प्रर्दशन गर्न आग्रह गरेका छन् ।
पत्रकार पुडासैनी २० साउनमा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए । उनको मृत्यु रहस्मय भएकाले यसबारे निष्पक्ष छानबिन हुनुपर्ने माग उठ्दै आइरहेको छ । यसबारे पछिल्लो समय जिल्ला प्रहरी कार्यालय, चितवनसँगै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)ले अनुसन्धान गरिरहेको छ ।
पत्रकार लामिछानेसहितका तीनमाथि जिल्ला प्रहरी कार्यालय, चितवनले साउन ३१ गते जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको हाे । स्रोतका अनुसार, अनुसन्धान नसकिएकाले प्रहरीले भोलि पुनः म्याद थपका लागि लामिछानेसहितका तीनै जनालाई अदालतमा उपस्थिति गराउने तयारी गरिरहेको छ ।