पत्रकार सालिकराम पुडासैनीको हत्या भएको खुलासा (हेर्नुस भिडियो)

पत्रकार सालिकराम पुडासैनीको हत्या भएको खुलासा (हेर्नुस भिडियो)


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १ भाद्र २०७६
  • 8.6K
    Shares

घटनास्थल प्रकृति मुचुल्कामा संलग्न प्रहरी

भरतपुर महानगरपालिकाको नारायणगढ पोखरा बसपार्कस्थित होटल कंगारुको एक कोठामा गएको साउन २ओ गते राति झुण्डिएको अबस्थामा भेटिएका पत्रकार शालिकराम पुडासैनीको हत्या भएको खुलासा भएको छ।

झुण्डिएको शबको घटनास्थल प्रकृति मुचुल्का गर्दै गरेको भिडियो सार्वजनिक भएसंगे पत्रकार शालिकराम पुडासैनीको हत्या भएको खुलासा भएको हो । त्यस सार्वजनिक भिडियोमा घटनास्थल प्रकृति मुचुल्कामा खटिएका एक सादा पोशाकका प्रहरीले ‘पत्रकार सालिकराम पुडासैनीको रडले हानेर हत्या गरिएको’ बताएका छन्।  उनले ‘दिउँसो आएका भनिएका १२/१५ जना मानिसहरुले पत्रकार पुडासैनीको हत्या गरेको हुन सक्ने’ आशंका गरेका छन्।  (हेर्नुस भिडियो)

घटनास्थल प्रकृति मुचुल्का भए संगै त्यति बेलै देखि शवमा गम्भीर प्रकृतिका घाउ चोटहरु रहेका तश्बिरहरु सार्वजनिक भएका थिए।

पत्रकार पुडासैनीको शरीरमा देखिएका घाउचोटहरु

फोटोहरु जे जस्ता सार्वजनिक भए पनि पत्रकार पुडासैनीले झुण्डिएर आत्महत्या गरेको भनिदै आएको थियो।  त्यसमा पनि घटना भएको करीब डेढ हप्तापछि सार्वजनिक भिडियोमा देखिएका केही कमीकमजोरीहरुका बीच पनि पत्रकार पुडासैनीले आत्महत्या गरेको मानिदै आएको थियो।

पत्रकार पुडासैनीले आत्महत्या गर्नु अघि रेकर्ड गरिएको भनिएको यस भिडियो सार्वजनिक भएसंगे प्रहरीले न्युज २४ टेलिभिजनका प्रस्तोता रबि लामिछाने, टिभी जर्नालिस्ट युवराज कंडेल र स्टाफ नर्स रुकु भन्ने अस्मिता कार्कीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा पक्राउ गरेर कानुनी कारवाही चलाएको छ।

‘सिधा कुरा जनतासंग’ कार्यक्रमका प्रस्तोता रबि लामिछानेलाई न्युज २४ टेलिभिजनको काठमाण्डौ पानीपोखरीस्थित स्टुडियोबाटै पक्राउ गरिएपछि उनका समर्थकहरुले भरतपुर लगायतका स्थानहरुमा ‘निर्दोष’ रबि लामिछानेलाइ अबिलम्ब रिहाइको माग गर्दै प्रदर्शन गरिरहेका छन्।  प्रदर्शन दिनप्रतिदिन केही उग्र बन्दै गैरहेको छ।  तर प्रहरीले नियन्त्रणमा लिएको छ।

उता हिजो चितवनका स्वतन्त्र युवाको नाममा भरतपुर चौबिसकोठीमा केही युवाहरुले पत्रकार पुडासैनीका आफन्तलाई न्याय दिन र दोषीमाथि कडा कारवाहीको माग गर्दै प्रदर्शन गरे।  उनीहरुले निश्पक्ष छानबिनको माग गर्दै अनुसन्धानलाई प्रभाब पार्ने गरी प्रदर्शन गर्न नहुने माग राखेका थिए। तर शनिबार नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले भरतपुरस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेर कार्यक्रम प्रस्तोता रबि लामिछाने र एसपी दानबहादुर मल्ललाई भेटे।  शनिबार दिनभर सामाजिक अभियन्ताहरु रमेश प्रसाई र ज्ञानेन्द्र शाहीले रबि लामिछानेका समर्थकहरुलाई साथ् दिएका थिए भने सम्बोधन पनि गरेका थिए।

स्वर्गीय पत्रकार पुडासैनी र कार्यक्रम प्रस्तोता लामिछानेका पक्षमा आन्दोलन भैरहे पनि हिरासतमा नै रहेका टिभी जर्नालिस्ट युवराज कंडेल र स्टाफ नर्स रुकु भन्ने अस्मिता कार्कीका बारेमा कोही बोलिरहेको छैन।  प्रहरी हिरासतमा रहेकी स्टाफ नर्स कार्कीले आफ्नो चरित्र हत्या हुने गरी पत्रकार पुडासैनीको मृत्यु पुर्व फेसबुक मेसेजमा जापानमा रहेकी ज्वाला देबकोटा संगौलासंग भएको भनिएको वार्ता सार्वजनिक भएकोमा आपत्ति जनाएकी छिन।  उनले त्यस वार्ताको स्क्रिन शट सार्वजनिक गर्ने ‘सिधा कुरा जनतासंग’ कार्यक्रमका निर्माता दिपक बोहरा र निज ज्वाला देबकोटा संगौलाबिरुद्ध मुद्दा हाल्ने बताएकी छिन।

यसैविच आज पनि भरतपुरमा रबि लामिछानेका समर्थकहरुले प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया