तिब्बती शरणार्थीलाई नागरिकता दिन सिफारिश गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ, प्रशासकीय अधिकृतसहित चार कर्मचारीलाई विभागीय कारवाही

तिब्बती शरणार्थीलाई नागरिकता दिन सिफारिश गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ, प्रशासकीय अधिकृतसहित चार कर्मचारीलाई विभागीय कारवाही


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३२ साउन २०७६
  • 5.7K
    Shares

पोखरा -१८ का वडाध्यक्ष रणबहादुर थापा

तिब्बती नागरिकलाई नेपाली नागरिकता दिने कार्यमा सहयोग गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष रणबहादुर थापा सहित तीन जना पक्राउ परेका छन् भने जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत ऋषिराम आचार्यसहित चार जनालाई विभागीय कारवाहीको सिफारिश गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, वडाध्यक्ष थापा सहित वडा सदस्य ज्ञानबहादुर थापा र स्थानीय पञ्जिकाधिकारी राजेन्द्र पौडेललाई पक्राउ गरिएको छ। विभागिय कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय कास्कीका नागरिकता फाँटमा कार्यरत प्रशासकीय अधिकृत ऋषिराम आचार्य, पेस गर्ने नासु डाँसीराम लामिछाने, खरिदार परशुराम पौडेल र रामचन्द्र थापालाई सिफारिस गरिएको छ । त्यस्तै, वडाका पञ्जिधिकारी राजेन्द्र पौडेल र विष्णु पौडेललाई समेत विभागिय कारवाहीको लागि सिफारिस गरिएको थियो । नागरिकता ऐन, २०६३ विपरित नागरिकता दिलाउने कार्यमा संलग्न कर्मचारीलाई विभागिय कारबाही हुने व्यवस्था छ ।

वडाध्यक्ष थापाले नागरिकताका लागि वडाबाट अन्तिम सिफारिस गरेका थिए । वडासदस्य र पञ्जिकाधिकारी नागरिकता सिफारिस गर्नमा सहयोगी भूमिका खेलेको प्रहरीको भनाइ छ ।

पोखरा – २५ हेमजास्थित तिब्बती शरणार्थी क्याम्पमा बस्दै आएका सरु थापामगर र तासी आङ्मो थापामगरलाई आफ्नो छोरी बनाई पोखरा- १८ सराङकोटका लेखबहादुर थापाले नागरिकता दिलाएका थिए । नागरिकता दिलाउन सहयोग गर्ने ८ जनालाई साउन २४ गते पक्राउ गरिसकेको छ ।

आफ्नी छोरीका छोरीलाई वंशजको आधारमा नागरिकता दिलाउन झुठो विवरण पेस गरेका थिए । उनका आफ्ना छोरी नभई नातिनीलाई नागरिकता दिलाएको भन्दै राष्ट्रप्रेमी नेपाली समूहले जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी दिएपछि सिडियो चक्रबहादुर बुढाले छानबिन थालेका थिए ।

हप्तौसम्मको बयानपछि दोषी ठहर भएका सनाखत गर्ने लेखबहादुर थापा, नागरिकता लिने २ युवती र सर्जमिन मुचुल्कामा दस्तखत गर्ने ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको थियो । सर्जमिन मुचुल्कामा दस्तखत गर्ने पोखरा – १८ सराङकोट नै बस्ने बेलबहादुर थापा, ज्ञानबहादुर थापा क्षेत्री, सन्तोष थापामगर, कमल थापा र इमा थापामगर प्रहरी हिरासतमै छन् ।

दुवैजनाले लिएको नागरिकता समेत रद्द भइसकेको छ । सरु थापामगरका नाममा जेठ २६ गते ४६–०१–०७६–२०३९ र तासी आङ्मो थापामगरका नाममा असार ६ गते ४६–०१–०७६–०१६३३ नम्बरका २ नागरिकता जारी भएको थियो ।

सरुले २७ वर्ष र तासी २६ वर्षको उमेरमा नागरिकता लिएका हुन् । कागजका आधारमा ती दिदीबहिनीको उमेरमा ७ महिनाको अन्तर छ ।

वडाका कर्मचारीले २ युवतीको जन्मदर्ता २ पटक गराएका थिए । एकपटक उनका आफ्नै वास्तविक बाबुको नाम थियो भने पछिल्लोपटक गराइएको जन्मदर्तामा हजुरबुबा अर्थात् लेखबहादुर थापाको नाम थियो ।

प्रतिक्रिया