सुदूरपश्चिमको शैक्षिक धरोहरको रुपमा रहेको कैलाली बहुमुखी क्याम्पसले प्लटुमा अनुत्तीर्ण भएकी एक छात्रालाई स्नातक तहमा भर्ना गरेको पाइएको छ । सोही क्याम्पसमा उच्च माध्यमिक तहमा अध्ययनरत बझाङको जयपृथ्वी नगरपालिकाकी अनिताकुमारी थापालाई क्याम्पसले उत्तीर्ण नभई अघिल्लो तहमा भर्ना गरिएको हो ।
२०७२ सालमा भएको १२ कक्षाको परीक्षामा ३ विषयमा अनुत्तीर्ण छात्रा अनिता र क्याम्पसले समेत उच्च माध्यमिक शिक्षा परिषद्ले दिएको लब्धाङ्क पत्र हेरेर अनुत्तीर्ण भएको थाहा नपाएपछि यस्तो समस्या आएको हो । ‘मैले सरलाई मार्कसिट देखाउँदा तिमी २ विषयमा मात्र फेल छौ भन्नुभयो’ छात्रा अनिताले भनिन् ‘दुई विषयको परीक्षा दिएर पास भएँ । क्याम्पसले भर्ना पनि गरिदियो । भर्ना भएको दुई महिनापछि उच्च माध्यमिक शिक्षा परिषद्मा ट्रान्सक्रिप्ट निकाल्न खोज्दा मात्र अर्को विषय पनि फेल भएको थाहा भयो’
उनी कक्षा १२ मा अंग्रेजी, इलिमेन्ट्स अफ फाइनान्स र मार्केटिङ विषयमा अनुत्तीर्ण भएकी थिइन् । मार्कसिट राम्रोसँग हेर्न नजान्दा उनी र क्याम्पसका कर्मचारीहरुले अंग्रेजी र इलिमेन्ट्स अफ फाइनान्समा मात्र फेल भएको र मार्केटिङमा पास भएको ठानेका थिए ।
क्याम्पस र अनिताले मात्रै हैन उच्च माध्यमिक शिक्षा परिषदको राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय धनगढीले समेत आफ्नै बोर्डले जारी गरेको लब्धाङ्क पत्र पढ्न नजान्दा अनितालाई झन् समस्या भएको उनले बताइन् ।

‘ट्रान्सक्रिप्ट निकाल्न सबै मार्कसिटसहित धनगढीमा निवेदन दिएँ’ अनिताले भनिन् ‘उहाँहरुले पनि हाम्रो सिस्टमले देखाएन । यहाँबाट पत्र लेखिदिन्छौं काठमाडौंबाटै निकाल्नुहोस् भन्नुभयो’ व्यवस्थापन संकाय पढिरहेकी अनिताले क्याम्पस जान लागेको दुई महिनापछि फेल भएको थाहा पाउँदा आफूलाई निकै अफ्टेरो महसुस भइरहेको बताइन् । उनले भर्ना गर्दा ८ हजार १ सय र ट्रान्सक्रिप्ट निकाल्न १ हजार एक सय गरी झन्डै १० हजार रकम पनि खर्च भएको बताइन् ।
यता कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सुरेन्द्र चन्दले भने लब्धाङ्क पत्रको जम्मा प्राप्ताङ्क लेख्ने ठाउँमा उनुत्तीर्ण भएको चिन्ह (स्ट्राइक) लगाउनु पर्नेमा अन्तै लगाएर परीक्षा बोर्डले नै झुक्याएको बताए । ‘उनको मार्कसिटमा स्ट्राइक लगाउन नै गल्ती भएको छ । जम्मा प्राप्ताङ्क भएको ठाउँमा लगाउनुपर्नेमा सैद्धान्तिकको प्राप्ताङ्क भएको ठाउँमा लगाइएको छ त्यसैले सबै झुक्किएका हुन्’ क्याम्पसमा विद्यार्थीको चाप धेरै भएकोले पनि कर्मचारीहरु यसमा झुक्किएको उनको भनाइ छ ।

