प्रयोग भएन पाथीभराको भेटी

प्रयोग भएन पाथीभराको भेटी


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ पुष २०७३
  • 7.8K
    Shares

पाथीभरा मन्दिर

पुर्वकै चर्चित तिर्थस्थल मानिने पाथीभरा मन्दिरमा तीर्थालुले चढाएको भेटी रकम बर्षोदेखि उपयोगविहीन भएर थन्केको छ । भेटी उपयोग गर्न पाथीभरा क्षेत्र विकास समितिसँग निर्देशिका नभएपछि कार्यबिधि तयार गरे पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट कुनै माथिल्लो आदेश नभए पछि भेटी प्रयोगविहीन बनेको हो ।

भेटी उपयोग गर्न मन्त्रालयमा पठाइए पनि कुनै निर्णय भएको छैन । हाल पाथीभरा दर्शनमा आउने तिर्थालुले चढाएको भेटी करिव ७२ लाख नगद, ४५ क्वीण्टल ढक्की पैसा, १५ तोला सुन र दुई किलोग्राम चाँदी रहेको समितिका अध्यक्ष साजन पौडेलले जानकारी दिए ।

पाथीभरा धार्मिक स्थल क्षेत्रको विकास र संरक्षणमा धेरै पक्षलाई सुधार गर्न बाँकी रहेको तर भेटी उपयोग गर्ने कार्यबिधि अभावले समस्या भएको अध्यक्ष पौडेलको भनाई छ ।

ताप्लेजुङ्गको मात्र नभएर सिंगो राज्यको पर्यटन विकासमा यो तीर्थस्थलको भूमिका मुख्य भएको भन्दै राज्यले संरक्षणमा उदासिनता देखाएको स्थानीय सञ्चारकर्मी देवराज गुरुङ्गको आरोप छ । भेटी व्यवस्थापन तुरुन्त गरी विकास निर्माणमा खर्च नगरे तिर्थालुमा पनि विश्वास कम हुने उनले माग गरे ।

राज्यले २०५३ सालमा पाथीभरा क्षेत्र विकास समिति गठन गरी काम अघि बढाएको थियो । समितिले छ जना कर्मचारी राखेर भेटी संकलन गर्दै आएको छ तर प्रयोग बिहिन भए पछि भेटी तुलनात्मक रुपमा कमी आउन थालेको स्थानीयको भनाई छ ।

कार्यबिधि अभावले तय गरिएका योजना तथा कार्यक्रम काजगमै सिमित बनेको छ । तीन हजार सात सय ९४ मीटर उचाईमा रहेको पाथीभरा मन्दिरमा भ्यू टावर निर्माण, म्युजियम निर्माण स्थल साइनवोर्डमै सिमिति बनेका छन् । मन्दिर पुग्न ताप्लेजुङ्गको सुकेटार देखि १४ किलोमीटर सडक पनि अलपत्र नै छ ।

काफ्लेडाँडासम्म उत्तर-दक्षिण राजमार्गले ११ दशमलव २ किलोमिटर सडक निर्माणको जिम्मा लिएको छ । बाँकी पाँच किलोमीटर गोरेटो बाटो निर्माण हुन सकेको छैन । यसमा पर्यटन विभागको ९० लाख र समितिको १२ लाखले गत बर्ष तीन सय मीटर गोरेटो मात्र निर्माण गरिएको समितिका कार्यकारी निर्देशक उदय भट्टराईले बताए ।

यता समितिले मन्दिर क्षेत्रसम्म पुर्‍याएको विद्युत समेत चट्याङले भत्काएपछि मर्मत गर्न समेत रकम अभावले समस्या भएको समितिको भनाई छ । यहाँ २०४८ सालमा स्थानीय प्रशासनमा पाथीभरा मन्दिर क्षेत्र संरक्षण तथा सम्र्बधन समिति दर्ता गरी पाँच बर्ष सम्म भेटीलाई प्रयोग गरेका थिए ।

अहिले समिति, स्थानीय प्रशासनको रोहवरमा रणबहादुर कार्कीको अध्यक्षतामा भेटी सञ्चालन उपसमिति गठन गरी काम अघि बढाउने तयारी गरेको छ । भेटी सञ्चालन गर्न नपाउनु र मन्त्रालयले पाथीभरा क्षेत्रको विकासका लागि बार्षिक २५ लाख मात्र रकम बिनियोजन गर्नाले यस क्षेत्रको संरक्षण र बिकासमा गति लिन सकेको छैन ।

ढ्याक पैसा व्यवस्थापनमा समस्या

तिर्थालुले चढाएको ढक्की पैसा ४५ क्वीण्टलभन्दा बढी भएकाले भण्डारणमा समस्या भएको समितिले जनायो । समितिले यस्तो भेटी बर्षौदेखि बोरामा संकलन गरी राखेको छ । समितिले राष्ट्र बैंकलाई लिइदिनका लागि अनुरोध गर्दा पनि भण्डारण अभाव भन्दै नमाने पछि थप समस्या भएको मन्त्रालयको तर्पmबाट प्रतिनिधित्व गरेका समितिका कार्यकारी निर्देशक उदय भट्टराईले बताए ।

तत्काल पाथीभरा मन्दिर आसपासमै पैसालाई राखिएकाले ढुवानी गर्न समस्या भएको छ । बैंकसँग पटकपटक अनुरोध गर्दा समेत चासो नदेखाएको गुनासो समितिको छ । समितिले तत्काल यसको व्यवस्थापनका लागि बैंकलाई जिम्मेवार बनाउन माग गरे ।

प्रतिक्रिया