विभिन्न जिल्लामा रहेका आठवटा अस्पतालले स्वीकृति नलिई गैरकानुनी रूपमा करोडौँ मूल्य पर्ने उपकरण खरिद गरेको खुलेपछि स्वास्थ्य मन्त्रालयले कारबाही थालेको छ । त्यस्ता अस्पतालका सेवा तत्काल बन्द गराउन स्वास्थ्यमन्त्री गगन थापाले सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेका छन् ।
स्वास्थ्यमन्त्रीका निजी सचिव सालिकराम दाहालका अनुसार झापा, मोरङ, चितवन, रुपन्देही, बाँके र कास्कीमा सञ्चालित आठ अस्पतालले मन्त्रालयको स्वीकृति नलिई उपकरण खरिद निर्देशिकाविपरीत सिटी स्क्यान, सिआरआई, अल्ट्रासाउन्ड, एक्सरेलगायतका उपकरण खरिद गरेका थिए । त्यस्तो उपकरणको खरिद मूल्य ४० करोडभन्दा बढी रहेको मन्त्रायलले जानकारी दिएको छ ।
अनुमति नलिई उपकरण खरिद गर्नेमा मौलाकालिका अस्पताल परिसरमा सञ्चालित नारायणी इमेजिङ एन्ड डाइग्नोस्टिक सेन्टर, ग्लोबल हस्पिटल एन्ड एजुकेसन फाउन्डेसन, मोरङको विराटनगर अस्पताल, मोरङकै लाइफ गाड अस्पताल, झापाको कन्काई अस्पताल, बुटवलको लुम्बिनी मेडिकलअन्तर्गतको सिटी अस्पताल बुटवल, बाँकेको नेपालगन्ज मेडिकल कलेज र पोखराको गण्डकी इमेजिङ सेन्टर छन् ।
विनास्वीकृति आफूखुसी महत्वपूर्ण उपकरण खरिद गरेको भेटिएपछि मन्त्रालयले सम्बन्धित स्वास्थ्य संस्थाको सेवा रोक्न निर्देशन दिएको हो,’ स्वास्थ्यमन्त्रीका निजी सचिव दाहालले भने । संवेदनशील उपकरण खरिदको नाममा चोरबाटोबाट जनस्वास्थ्यमा गम्भीर असर पर्ने खालका उपकरण पनि किनिएको हुनसक्ने भएकाले त्यस्ता उपकरण शिलबन्दी गरी सेवा बन्द गर्न निर्देशन दिइएको दाहालले बताए । मन्त्रालयले यसबारेको जानकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिने तयारी पनि गरेको छ ।
अनुमति नलिई उपकरण खरिद गर्नेमा मौलाकालिका अस्पताल परिसरमा सञ्चालित नारायणी इमेजिङ एन्ड डाइग्नोस्टिक सेन्टर, ग्लोबल हस्पिटल एन्ड एजुकेसन फाउन्डेसन, मोरङको विराटनगर अस्पताल, मोरङकै लाइफ गाड अस्पताल, झापाको कन्काई अस्पताल, बुटवलको लुम्बिनी मेडिकलअन्तर्गतको सिटी अस्पताल बुटवल, बाँकेको नेपालगन्ज मेडिकल कलेज र पोखराको गण्डकी इमेजिङ सेन्टर छन् ।
कुन अस्पतालले कस्ता उपकरण किने ?
नारायणी इमेजिङ एन्ड डाइग्नोस्टिकले मन्त्रालयको स्वीकृत नलिई सिटी स्क्यान मेसिन खरिद गरेको पाइएको छ । यस्तै, ग्लोबलले सिटी स्क्यान मेसिन, विराटनगर अस्पतालले सिटी स्क्यान, सिआम, एमआरआई र अल्ट्रासाउन्ड मेसिन खरिद गरेको भेटिएको छ ।
पोखराको गण्डकी इमेजिङले सिटी स्क्यान र एमआरआई मेसिन विनाअनुमति खरिद गरेको पाइएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, लाइफ गार्डले सिटी स्क्यान मेसिन, कन्काईले सिटी स्क्यान र अल्ट्रासाउन्ड मेसिन, सिटी अस्पतालले सिटी स्क्यान, एमआरआई, एक्सरे र अल्ट्रासाउन्ड मेसिन, नेपालगन्ज मेडिकल कलेजले सिटी स्क्यान र एमआरआई मेसिन तथा गण्डकी इमेजिङले सिटी स्क्यान र एमआरआई मेसिन विनाअनुमति खरिद गरेको पाइएको मन्त्रालयले जनाएको छ ।
यस्तो छ खरिदसम्बन्धी कानुनी व्यवस्था
स्वास्थ्यसम्बन्धी उपकरण खरिदका लागि स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, ०७० बनाइएको छ । निर्देशिकाको दफा २३ क (८) र ख (७) बमोजिम कुनै पनि स्वास्थ्य संस्थाले मन्त्रालयको अनुमति वा स्वीकृत नलिई रेडियोलोजी, सिटी स्क्यान, एमआरआई, पेट स्क्यान मेसिन तथा स्वास्थ्य उपचारमा प्रयोग हुने रेडियोधर्मी विकिरण उत्पादन गर्ने खालका मेसिन, औजार र औषधिजन्य उपकरणहरू खरिद गर्न पाइँदैन ।