७२ अर्बभन्दा बढी कर नतिर्ने एनसेलको मुख्यालय लगायत देशका विभिन्न ठाउँका टावरमा बम बिस्फोट, तीन घाईते

७२ अर्बभन्दा बढी कर नतिर्ने एनसेलको मुख्यालय लगायत देशका विभिन्न ठाउँका टावरमा बम बिस्फोट, तीन घाईते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ११ फाल्गुन २०७५
  • 7.8K
    Shares

सरकारलाई ७२ अर्बभन्दा बढी कर नतिर्ने निजी लगानीको दूरसञ्चार कम्पनी एनसेलको टावरमा शुक्रबार साँझ ठाउँठाउँमा विस्फोट गराइएको समाचार प्राप्त भएको छ ।
काठमाडौँ उपत्यकाको ललितपुर, बागलुङलगायत विभिन्न जिल्लाका विभिन्न ठाउँमा रहेका एनसेलका टावरमा साँझ परिचय नखुलेको शक्तिले बम विस्फोट गराउँदा कतिपय ठाउँमा टावरहरू ध्वस्त भएका छन् ।

ललितपुर नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि शुक्रबार राति बम विस्फोटको घटना लगत्तै पोखराको एनसेल टावरमा पनि आगजनी गरिएको छ । पोखरा – २७ चन्द्रकालिका डाँडाको नाकस्थित एनसेलको टावरमा आगजनी हुँदा टावरमा पूर्ण क्षति पूगेको प्रहरीले जनाएको छ ।

शुक्रबार राति करीब १० बजेको समयमा आगजनी गरिएको कास्की प्रहरीले जनाएको छ । टावरमा आगजनी भएपछि दमकल बोलाइएको र दमकल नपुग्दै टावर कामै नलाग्ने गरी ध्वस्त भएको बताईन्छ । एनसेलको टावर जलेसँगै लेखनाथ क्षेत्रमा विद्युत र इन्टरनेटको लाइन काटिएको स्थानीयले जनाएको छ । अरबौं कर तिर्न बाँकी एनसेललाई सर्वोच्च अदालतले कर बुझाउन ताकेता गरिसकेको छ ।

आजै ललितपुर नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि बम विस्फोटबाट दुई महिला र एक पुरुष घाइते भएका थिए । घाइते हुनेहरुमा सिंहप्रताप गुरुङ, प्रतिक्षा खड्का र अनुषा डंगोल छन् । घाइते मध्ये गुरुङको अवस्था गम्भीर छ । उनको अल्का अस्पतालमा उपचार भइरहेको प्रहरी स्रोतको भनाइ छ ।

अन्य दुई जनाको बीएन्डबी र मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार करिब साढे आठ बजे विस्फोट भएको हो। प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले चन्दा नदिएको भन्दै बम विस्फोट गराएको आशंका गरेको छ। ’

यसैगरी बागलुङ जिल्लाको बागलुङ नगरपालिका ७ मूलपानी, गल्कोट नगरपालिका ८ काँडेबास र निसीखोला गाउँपालिका ७ राजकुतमा रहेका एनसेलका टावरमा पनि विस्फोट गराइएको समाचार प्राप्त भएको छ । विस्फोटपछि भएको आगलागीबाट टावरमा भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

टावरमा कुन शक्तिले विस्फोट गराएको हो भन्ने विषयमा कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले बताएका छन् । टावरमा आगलागी भएको देखेपछि स्थानीयको खबरका आधारमा घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान थालेको जनाइएको छ ।

सर्वोच्च अदालतले केही दिनअघि एनसेलले सरकारलाई अर्बौं कर तिर्न बाँकी देखिएकाले कर तिराउन सरकारका नाममा आदेश जारी गरेको थियो तर सरकारले कुनै वास्ता गरको छैन । एनसेलले नेपाल सरकारलाई कर छली गरेकाले तत्काल कर भुक्तानी गराउन माग गर्दै जनस्तरबाटै आन्दोलन भइरहेको छ । जनताको उक्त मागको समर्थन गर्दै नेपाल कम्युनिस्ट पार्टीले पनि विगतदेखि सङ्घर्ष गर्दै आएको छ ।

प्रतिक्रिया