भोटखोलाका स्कुल पाँच महिना बन्द

भोटखोलाका स्कुल पाँच महिना बन्द


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १९ फाल्गुन २०७२
  • 12.6K
    Shares

सरकारले निर्धारण गरेको विधि नाघेर संखुवासभास्थित भोटखोला क्षेत्रका शिक्षकले वर्षमा पाँच महिना विद्यालय बिदा गर्दै आएका छन् । सरकारको शैक्षिक क्यालेन्डरमा हिउँदे र बर्खे बिदा गरी ४५ दिन, स्थानीय बिदा पाँच दिन र दसैं–तिहारलगायत चाडपर्वमा बिदा गर्ने व्यवस्था गरेको छ । तर यस क्षेत्रका शिक्षकले भने आफूखुसी पाँच महिना बिदा दिने गरेका हुन् ।
उत्तरी सीमा क्षेत्रका भोटखोला, किमाथांका, हटिया, चेपुवा र पावाखोला गाविसका शिक्षकले वर्षौंदेखि पुस तेस्रो वा अन्तिम सातादेखि चैतसम्म विद्यालय बन्द गर्दै आएका छन् । वैशाखमा खुल्ने विद्यालय असारमा फेरि बन्द हुन्छन् । त्यसपछि शिक्षकलाई दसैंतिहार लाग्छ अनि डेढ महिना विद्यालय खुल्दैनन् ।
जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतमले यति लामो समयसम्म विद्यालय बन्द गर्नु गलत भएको भन्दै तत्काल विद्यालय खोल्न निर्देशन दिएका छन् । भर्खरै हाजिर भएका गौतमले भने, ‘बढीमा दुईपटक गरी ४५ दिन बिदा दिन पाउने व्यवस्था छ । त्यसबाहेक पाँच दिन स्थानीय रूपमा बिदा दिने व्यवस्था छ । नियमविपरीत विद्यालय बन्द गरी घर गएर बस्ने गरेको पाएँ ।’
जिल्लाका अन्य सरकारी विद्यालयमा धमाधम पढाइ भइरहे पनि पाँच गाविसका विद्यालय बन्द छन् । यस विषयमा स्रोतव्यक्तिले रिपोर्ट ल्याउने गरेको भए पनि पुरानै चलन भन्दै जिल्ला शिक्षा अधिकारी र जिल्ला शिक्षा समितिले पनि चासो दिँदैनथे । तर यस वर्षदेखि विद्यालय खुलाउन कार्यालयले कारबाही थालेको त्यस क्षेत्रका विद्यालय निरीक्षक बासु कोइरालाले बताए ।
‘पटक–पटक भने पनि अटेर गरेकाले तत्काल कारबाहीको तयारी गरेका छौं’, उनले भने, ‘हामी प्रशासनको सहयोगमा हाजिरी खाता र रेकर्ड जफत गरी उच्च निकायमा पेस गरेर तलब रोक्का गरी थप कारबाही गर्ने तयारीमा छौं ।’
विद्यालय निरीक्षक कोइरालाले तत्काल नियममा रहेर शिक्षकले विद्यालय सञ्चालन गर्नुपर्ने बताए । ‘हामीले पत्राचार गरिसकेका छौं । विद्यालय व्यवस्थापन समितिले पनि आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ’, उनले भने ।
जिशिअ गौतमले त्यस क्षेत्रमा सीमान्तकृत समुदायको बढी बसोबास रहेकाले समावेशी उपलब्धि शून्य हुने बताए । भोटखोलाभन्दा पनि दुर्गम र उच्च भेगमा समेत विद्यालय सञ्चालन भइरहेकाले त्यहाँ विद्यालय बन्द गर्नु कुनै तर्कसंगत नभएको उनले बताए । यस क्षेत्रको साक्षरतादर न्यून रहेको शिक्षा कार्यालयको तथ्यांक छ । जिशिअ गौतमले १३ महिनाको तलब–भत्ता लिने शिक्षकलाई स्थानीय अभिभावकले अनुगमन र निरीक्षण गर्नुपर्ने बताए ।
जिल्लाका धेरैजसो शिक्षक पढाउन नपर्ने हुनाले भोटखोला जान रुचाउने गरेका छन् । त्यस क्षेत्रका शिक्षकले दुर्गम र बेजिल्ला भत्ता जोड्दा तलब स्केलभन्दा १३ हजार रुपैयाँसम्म बढी पाउने गरेको शिक्षा कार्यालयले जनाएको छ । शिक्षा कार्यालयले प्रधानाध्यापकहरूको बैठकमा त्यस क्षेत्रका विद्यालयमा पढाइ सञ्चालन गर्न निर्देशन दिएको छ ।
शिक्षकको मनोमानी बिदाबाट त्यस क्षेत्रका करिब एक हजारभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् । शिक्षा कार्यालयको स्थलगत अध्ययन प्रतिवेदनमा हिमालय प्रावि किमाथांका, हटियाका हिमशिखर प्रावि नामुसे, गुवाछेस निमावि, नागेश्वरी प्रावि दाङगोक, चेपुवाका माक्पालुङ प्रावि रुकुमा, शान्ति निमावि, अरुणोदय उच्चमावि, गंगालाल प्रावि, बुद्ध प्रावि, ज्योति प्रावि, दूधपोखरी प्रावि थुदाम गरी १२ विद्यालयले वर्षमा पाँच महिना बन्द गर्ने गरेका छन् ।
च्याम्ताङ र हुङगुङका विद्यालयले कक्षा–८ को जिल्लास्तरीय परीक्षासमेत सदरमुकामका कुनै विद्यालयमा गराउने गरेको शिक्षा कार्यालयले जनाएको छ ।
भोटखोलाका शिक्षकहरूले भने अत्यधिक हिमपातका कारण विद्यालय खोल्न नसकिने बताउँदै आएका छन् । उनीहरूले स्थानीय बासिन्दा चिसो छल्न तराई झर्ने भएकाले विद्यार्थी नभएपछि विद्यालय बन्द गर्ने चलन भएको पनि बताए ।

प्रतिक्रिया