लहान–ठाडी सडक : कागजमा कालोपत्रे देखाएर तीन करोड घोटाला

लहान–ठाडी सडक : कागजमा कालोपत्रे देखाएर तीन करोड घोटाला


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २६ मंसिर २०७३
  • 8.8K
    Shares

सिरहाको लहान बजारलाई भारतसँग जोड्ने लहान–ठाडी सडकमा कागजमा कालोपत्रे देखाएर करोडौँ भ्रष्टाचार गरिएको छ । लहान अस्पताल चोकदेखि १८ किलोमिटर लम्बाइको सो सडकको पाँच किलोमिटर खण्ड तीन वर्षअघि कालोपत्रे गरिएको सडक डिभिजन कार्यालय लहानको रेकर्डमा छ ।

वास्तविकता भने अर्कै छ । सो खण्डको एक किलोमिटर सडक हालसालै कालोपत्रे गरिएको छ भने अन्य भाग जीर्ण नै छ । तर, सडक कालोपत्रे गरिसकेको भनेर तीन करोड रुपैयाँ निकासा भएको छ । १८ किलोमिटरमध्ये पूर्व–पश्चिम लोकमार्गको लहानखण्डतर्फको पाँच किलोमिटर सडक पटक–पटक गरी तीनपटकको ठेक्का प्रक्रियाबाट कालोपत्रे गरिएको सडक डिभिजन कार्यालयका सूचना अधिकृत इन्जिनियर चितरञ्जन रानाले बताए ।

आर्थिक वर्ष ०७१-७२ र ०७२-७३ मा तीनवटा निर्माण कन्स्ट्रक्सनले सो सडक कालोपत्रे गरेको र त्यसबापत करिब तीन करोड रुपैयाँ निकासा लिएको रेकर्डमा देखिन्छ । तर, स्थानीय भन्छन्, ‘कालोपत्रे नभएको सडकमा कागजमा मिलाएर करोडौँ भ्रष्टाचार गरिएको छ ।’

कहिले कति रकममा लागेको थियो ठेक्का ?

सडक विभागले मिथिला सडक क्षेत्रमा विनियोजन गरेअनुसार सो सडक निर्माणका लागि सडक डिभिजन कार्यालय लहानमा बजेट पठाउने गरेको छ । सोही बजेटअन्तर्गत आर्थिक वर्ष ०७१-७२ मा सडक डिभिजन कार्यालय लहानले रामविकास जेबी काठमाडौं नामको निर्माण कम्पनीलाई ठेक्का दिएको थियो । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत लहानको अस्पताल चोकदेखि १ किलोमिटर सडक पिच गर्न ५० लाख ८९ हजार ४ सय ६६ रुपैयाँ सो कम्पनीले कबोल गरेको थियो । सडक डिभिजनका सूचना अधिकृत इन्जिनियर रानले सम्झौताअनुसार ठेक्काको भुक्तानी भइसकेको छ । तर, काम भने भएकै छैन ।

आर्थिक वर्ष ०७२-७२ मा बाँकी सडक पिच गर्न दुईपटक फरक–फरक निर्माण कम्पनी ठेक्कामा दिइएको देखिन्छ । आर्थिक वर्ष ०७२-७३ को सुरुमा थप १ दशमलव ५ किलोमिटर सडक पिच गर्न एक करोड ८७ लाखको टेन्डर आह्वान गरिएकोमा बिपी विकास निर्माण सेवाले ९२ लाख ५७ हजारमा कबोल गरेको थयो । त्यसको पनि रकम निकासा भइसकेको छ । तर, काम भएको छैन ।

सोही आर्थिक वर्षको अन्तिमतिर सडक डिभिजन कार्यालय लहानले २ दशमलव ४ किलोमिटर सडक पिच भनी निकालेको एक करोड ५३ लाखको टेन्डर ७२ लाख ३८ हजार एक सय ७५ रुपैयाँमा कबोल भएको देखिन्छ । तर, यसपटक पनि कामै नगरी खर्च बिल मिलाएर ठेकेदारलाई सडक डिभिजन कार्यालय लहानले रकम निकासा गरिदिएको छ ।

गुणस्तरहीन सडक बनाइँदै

दुई आर्थिक वर्षअगाडि कागजमा कालोपत्रे देखाई रकम निकासा गरिएको खुलासा हुनुले निर्माण कार्यमा ठूलो रकम भ्रष्टाचार भएको देखिन्छ । बदमासी बनेका सडकमा पनि भइरहेको छ । हालै निर्माण सम्पन्न गरिएको एक किलोमिटर सकडमा निकै न्यून गुणस्तरका निर्माण सामग्री प्रयोग गरिएको स्थानीयले बताएका छन् ।

सम्झौता गर्दा सडकको कालोपत्रेको मोटाइ २० एमएम र चौडाइ ६ मिटर हुने भनिए पनि १० एमएमभन्दा पातलो पिच गरिएको र चौडाइसमेत कम रहेको स्थानीयले बताएका छन् । स्थानीय बासिन्दासमेत रहेका पूर्वमन्त्री राजलाल यादवले भर्खरै गरिएको कालोपत्रे गुणस्तरहीन रहेको बताए । उनले भने, ‘डिभिजनले गरेको कालोपत्रे एकतर्फ बन्दै छ, अर्कोतर्फ भत्किँदै गएको छ ।’ सडक निर्माण कार्य अनुगमनको जिम्मेवारी बोकेका डिभिजनका इन्जिनियर नीतीश झाले भने निर्माण कार्य ढिलो भए पनि गुणस्तरमा कमजोरी नरहेको बताए ।

अहिले धुलाम्मे, वर्षामा हिलाम्मे

वर्षौँदेखि सो सडक पिच गर्न सरकारले रकम खर्चिए पनि सडक जीर्ण अवस्थामै छ । कागजमा पिच भएको देखिएको सडक हिउँदभर धुलाम्मे र वर्षाभर हिलाम्मे हुने गरेको छ । सो सडक भएर दैनिक करिब ५० भन्दा बढी यात्रुबाहक बस सञ्चालन हुने गरेको लहान नगरपालिका–२१ का शत्रुधन मण्डलले बताए । लहान सगरमाथा अञ्चलको प्रमुख व्यापारिक बजार हो ।

लहानका हजारौँ व्यापारी मात्र नभई उदयपुरलगायत वरपरका जिल्लाका व्यापारी पनि भारतीय बजार लौकहाबाट विभिन्न सामान आयात गर्न यो मार्ग प्रयोग गर्ने गर्छन् । त्यसैले सो सडक व्यस्त देखिन्छ ।

१० वर्षअघि भने कालोपत्रे थियो

करिब १० वर्षअगाडि सो सडकको १० किलोमिटर भाग जिल्ला विकास समितिले कालोपत्रे गरेको स्थानीय केदार यादवले बताए । गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेर बनाइएको सडकमा बढी भार बहन गर्ने ट्रिपरजस्ता ठूला सवारीसाधन ओहोरदोहोर गर्दा केही समयमै सडक जीर्ण हुन पुग्यो ।

सो सडकखण्डको पुनर्निर्माणका लागि भनेर जिविसले पनि लाखौँ रुपैयाँ खर्च गरिसकेको छ । सडक मर्मतको नाममा ठेकेदारसँगै जिविसका कर्मचारीको मिलेमतोमा ५० लाखभन्दा बढी रकम भ्रष्टाचार गरिएको स्थानीयले आरोप लगाएका छन् ।

छानबिन गर्न अख्तियारसँग माग

जिविसमा तत्कालीन समयमा योजना अधिकृत रहेका सुरेश राउत अहिले सिरहा जिविसकै स्थानीय विकास अधिकारी छन् । तर, उनी सो सडकखण्डमा पहिले के–के भयो भन्नेबारे अहिले भन्न नसक्ने बताउँछन् ।

सडक निर्माणको नाममा पटकपटक भ्रष्टाचार भएको जनगुनासो आइरहे पनि त्यसको छानबिन कतैबाट भएको छैन । त्यसैले निर्माण र पुनर्निर्माणको नाममा पटक–पटक करोडौँ रुपैयाँ भ्रष्टाचार भइरहेको सो सडकखण्डबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।

विवरण दिएनन् सूचना अधिकृतले

सडक पिच नै नगरी रकम निकासा हुनुमा कर्मचारीको पनि मिलेमतो रहेको स्थानीयको आशंका छ । तर, यसबारे सोधखोज गर्दा सडक डिभिजन कार्यालयका सूचना अधिकृत चितरञ्जन रानले विवरण दिन अस्वीकार गरे । उनले भने, ‘म लहान कार्यालयमा आएको धेरै भएको छैन । त्यसैले म सबै विवरण दिन सक्दिनँ, लेखाफाँटमा सम्पर्क गर्नुस् ।’

प्रतिक्रिया