अर्मलामा जमिन भासिएपछि नियन्त्रणका नाममा कमाई खाने भाँडो, उपभोक्ता समितिले १० लाख खाएको खुलासा

अर्मलामा जमिन भासिएपछि नियन्त्रणका नाममा कमाई खाने भाँडो, उपभोक्ता समितिले १० लाख खाएको खुलासा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ७ फाल्गुन २०७५
  • 9K
    Shares

कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर १६ साविक अर्मला गाविसको ठुलीबेशीमा ०७० साल मंसिर ४ गतेबदेखि जमिन भासिएर आतंक मच्चिएपछि नियन्त्रण गर्ने नाममा आएको रकम कमाइ खाने भाँडो भएको तथ्य सार्वजनिक भएको छ ।

गत आर्थिक वर्षमा आएको बजेटबाट स्थानीय स्रोत साधन प्रयोग गरे बापत उपभोक्ता समितिले कुल बजेटको ३७ प्रतिशत रकम असुलेपछी यस्तो तथ्य सार्वजनिक भएको हो  । यस्तो तथ्य पोखरा महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष जीवन प्रसाद आचार्यले सार्वजनिक गरेका छन  । जमिन भासिने कार्य रोक्न छुट्टाइएको रकमबाट यस वर्ष पनि अर्मलास्थित कालीखोलामा खोला नियन्त्रण गर्ने कार्य भैरहेको छ  । त्यस खोला नियन्त्रणमा स्थानीय स्रोत र साधनको दुरुपयोग भैरहेको छ भन्ने बारेमा सुचना पाएपछि पुगेका पत्रकार र स्थानीय केही बुद्धिजीवीका अगाडी वडाध्यक्ष आचार्यले “गत वर्ष यही काम गर्दा यहीं खोलाको ढुंगा बालुवा र माटो प्रयोग गरे बापत उपभोक्ता समितिले ३७ प्रतिशत अर्थात् झन्डै १० लाख रुपियाँ आफुसंगबाट असुलिएको गुनासो घार्मीखोलास्थित एक हार्डवेयर पसलका साहुले गरेको” सार्वजनिक रुपमा बताएका थिए ।

स्थानीय स्तरमा रहेका स्रोत र साधन प्रयोग गर्न दिने अधिकार स्थानीय सरकारमा निहित रहेको कानुनमा उल्लेख छ  । आफ्नै वडाभित्र पर्ने कालीखोलाको डुंगा, बालुवा र माटो प्रयोग गरेबापत उपभोक्ता समितिले रकम असुकेको खबर पाए पनि वडाध्यक्ष आचार्यले यस बारेमा कुनै छानबिन गरेनन  । उल्टै यस आर्थिक वर्षको पनि काम गर्ने जिम्माअर्मला दैबीप्रकोप पिडित ब्यबस्थापन समिति नामको एक गैरसरकारी संस्थालाई दिने गरी सिफारिश दिएका छन्  । उनको यही सिफारिशका कारण जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय गण्डकी प्रदेश पोखराले अर्मला दैबीप्रकोप पिडित ब्यबस्थापन समितिसंग सम्झौता गरी कालीखोला नियन्त्रणका लागि बिभीन्न निर्माणका कार्यहरु भईरहेका छन् ।

करीब ८० लाख रुपियाँ विनियोजित यस वर्षको बजेटमा करीब ४१ लाख रुपियाँ बराबरको निर्माण सामाग्री खरीद गर्न बजेट छुट्टाइएको छ । तर यति ठुलो रकम छुट्टिदा पनि उपभोक्ता समितिले त्यही खोलाको ढुंगा झिकेर प्रयोग गरेको देखेपछी स्थानीय बासिन्दा आक्रोशित बनेका छन् र कालीखोला संरक्षण एबम सरसफाईका नाममा एक संघर्ष समिति बनाएका छन् । त्यही संघर्ष समितिमा आबद्ध एक अभियन्ता स्थानीय बासिन्दा समेत रहेका पिडित रेशमलाल आचार्य स्थानीय स्रोत र साधन दुरुपयोग हुँदा पनि स्थानीय तहका जनप्रतिनिधि मौन बसेकामा आश्चर्य चकित परेका छन् । उनी स्थानीय स्तरका स्रोत र साधन दुरुपयोग हुँदा पनि वडाध्यक्ष लगायतका जनप्रतिनिधि नबोल्नुलाई उनीहरुकै मिलेमतोमा उपभोक्ता समितिले स्थानीय स्तरका स्रोत र साधन दुरुपयोग गरेको हुन सक्ने आशंका गर्छन  । यस बारेमा आफुले वडादेखि महानगर र जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय गण्डकी प्रदेशमा उजुरी गर्दा पनि बेवास्ता गरिएको उनको अनुभव छ । उनी स्थानीय स्तरको स्रोत र साधन दुरुपयोग हुन नदिन आबस्यक परे अदालत जान पनि पछी नपर्ने बताउँछन् । स्थानीय स्तरको स्रोत र साधन प्रयोग गरे बापत स्थानीय तहले रोयल्टी उठाउनु पर्ने हैन भने उपभोक्ता समितिका पदाधिकारीको खल्तीमा जान नहुने उनको स्पस्ट धारणा छ । अहिले पनि उपभोक्ता समितिले स्थानीय मजदुर लगाएर गल-घन प्रयोग गरी खोलाको दबेका ढुंगा झिक्ने काम गरेकोमा उनको आपत्ति छ ।

पोखरा महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष पोहोर सालको समितिका बारेमा विवादित कुरा आएपछि यस वर्ष ठेक्कामा दिन सिफारिश गरेको भए राम्रो हुने तियो भन्छन । उनले उपभोक्ता जम्मा गरेर भेला गरी उपभोक्ता समिति बनाउनु पर्नेमा ठुलो दबाबमा परेकाकारण अर्मला दैबीप्रकोप पिडित ब्यबस्थापन समिति नामको गैर सरकारी संस्थालाई सिफारिश गर्नु परेको बाध्यता सुनाए । स्थानीय स्रोत र साधन दुरुपयोग हुन् नदिन आफु दृढ रहेको बताउने वडाद्यक्ष आचार्य घुमाउरो पारामा कालिखोलाको ढुंगा प्रयोग गर्न दिनुको विकल्प नरहेको स्वीकार्छन अद्यापि उनी स्थानीय स्रोत र साधन दुरुपयोगबापत आफुले कुनै लाभ नलिएको दाबी गर्छन ।

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय गण्डकी प्रदेश पोखराका प्रबक्ता एबम सो कार्यको अनुगमनका लागि कार्यालयबाट खटिएका इन्जिनियर छविरमण सुबेदी आफुहरुले निरन्तर रुपमा अनुगमन गरिरहेको र काम राम्रोसंग भैरहेको दाबी गर्छन  । उनी उपभोक्ता समितिले खोलाको खेलुवा ढुंगा प्रयोग गर्न पाए पनि गल-घन प्रयोग गरेर दबेका ढुंगा झिक्न नपाउने शर्त राखिएको बताउंदै यदि त्यसो भएको भए  त्यस्तो कार्य तुरुन्त रोक्न निर्देशन दिने बताउंछन्   ।

अर्मला दैबीप्रकोप पिडित ब्यबस्थापन समितिका सदस्य कृष्णबहादुर कार्की आफुहरुले केही ढुंगा बाहिरबाट किनेर ल्याएको भए पनि अधिकांश ढुंगा त्यही कालीखोलाको प्रयोग गरेको स्वीकार्छन  ।

जाला उत्पन्न प्रकोप नियन्त्रण कार्यालय पोखराका तात्कालें इन्जिनियर श्रीकमल द्वीबेदीले बिगत पांच वर्ष देखि जमिन भासिएको नियन्त्रण गर्ने नाममा करीब साढे पांच करोड रुपियाँ खर्च भएको जानकारी दिए l उनले खोलिंदै गएको कालीखोला करीब एक मिटर माथि उठेको दाबी पनि गरे l

 

प्रतिक्रिया