पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण गर्ने काममा फेरि कालो बादल मडारिएको छ । सरकारकै पक्षबाट बखेडा झिक्न सुरु गरिएपछि चिनियाँ सहयोग र ऋणबाट बन्ने आयोजना अवरुद्ध भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १ मा भव्य समारोहबीच पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यको शिलान्यास गरेका थिए । शिलान्यास समारोहमा प्रधानमन्त्री ओलीसहित अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस महामन्त्री शशांक कोइराला, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत नेता तथा चिनिया पक्षका उच्च अधिकारी सहभागी थिए ।
तर सरकारको नेतृत्व परिवर्तन भएसँगै सरकारी पक्षको बोली फेरिएको छ । अहिलेको सरकारले दुई देशबीच भएको सम्झौतामा राष्ट्रघात देख्न थालेको छ । पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नेपाल र चीनबीच भएको सम्झौतालाई ‘राष्ट्रघाती’ भनेका छन् ।
बिहीबार पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेलाको उद्घाटन समारोहमा बोल्दै मन्त्री शाहीले नेपाली विमानस्थल विदेशी बैंकमा धितो राख्नु राष्ट्रघाती हुने बताए । मन्त्री शाहीले पोखरा विमानस्थलको हतारमा शिलान्यास गरिएको भन्दै पनि आलोचना गरे ।
पोखरा विमानस्थलका लागि चीनको एक्जिम बैंकले ऋण लगानी गर्ने सम्झौता छ । चीनको सिएमसिई कम्पनीले ठेक्का पाइसकेको आयोजनालाई बिथोल्न नेपाल सरकारले ‘आफै बनाउँछौं’ भन्न थालेको छ । छिट्टै ४०–५० करोडको टेन्डर निकाल्दै छौं ।’ मन्त्री शाहीले भने–चार वर्षमा निर्माण कार्य नसकिए पाँच वर्षमा सकिएला ।’
सिएमसिईले निर्माण थालेको तीन वर्षमा सक्ने गरी सम्झौता गरेको थियो । मन्त्रीले भने जस्तै नागरिक उड्ययन प्राधिकरणले शुक्रबार नै बोलपत्र आह्वान गर्दैछ ।
मन्त्री शाहीले दिएको अभिव्यक्ति र सरकारी रबैयाप्रति संसदीय विकास समितिका सभापति एवं सांसद रवीन्द्र अधिकारीले आश्चर्य प्रकट गरेका छन् । उनले सो अभिव्यक्तिलाई ‘केटाकेटीपन’ भनेका छन् । ‘दुई देशबीच सम्पूर्ण प्रकृया पूरा गरेर भएको सम्झौताका बारेमा मन्त्रीले त्यस्तो अभिव्यक्ती दिनु केटाकेटीपना हो ।’ अधिकारीले भने, ‘विदेशी लगानीलाई निरुत्साही गर्ने काम गर्नै हुन्न, मन्त्रीले जे भने पनि यो आयोजना सम्झौता अनुसार नै अघि बढ्छ ।’
सरकारले २०७१ कात्तिक १० चिनियाँ कम्पनी सीएएमसीलाई विमानस्थल निर्माण गर्न ठेक्का दिएको थियो ।
२१ अर्ब खर्चमा उसले विमानस्थल बनाउने हो । उक्त खर्च चिनियाँ एक्जिम बैंकले नेपाललाई ऋण दिने सम्झौता तत्कालीन प्रधानमन्त्री ओलीको भ्रमणका बेला भएको थियो । प्रधानमन्त्रीको चीन भ्रमणका बेला चैत ८ गते उक्त विमानस्थलका लागि ऋण सम्झौतामा हस्ताक्षर भएको थियो । ओली र उनका चिनियाँ समकक्षी ली खछ्याङबीच सम्झौता भएपछि विमानस्थल निर्माणका लागि लगानीको टुंगो लागेको थियो ।
पोखरा विमानस्थल आयोजनाका अनुसार २५ सय मिटर रनवे हुने विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० र सो सरहका जहाजले उडान र अवतरण गर्न सक्नेछन् । विमानस्थलका लागि २०३२ सालमा पोखराको छिनेडाँडामा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । हालै फेरि ६ सय २९ रोपनी जमिन थप अधिग्रहण गरिएको छ । नयाँ जग्गाको मुआब्जा वितरण पनि सजिलै सल्टिएको छ ।