सेना र प्रहरीलाई एकीकृत जनक्रान्तिको सहयोग र समर्थन गर्न ने.क.पा.का नेता पुनको आव्हान

सेना र प्रहरीलाई एकीकृत जनक्रान्तिको सहयोग र समर्थन गर्न ने.क.पा.का नेता पुनको आव्हान


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ६ फाल्गुन २०७५
  • 10.4K
    Shares

ओम प्रकाश पुन

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले वैज्ञानिक समाजवाद प्राप्तिका लागि नेपालमा चलिरहेको एकीकृत जनक्रान्तिलाई सहयोग र समर्थन गर्न नेपाली सेना र प्रहरीलाई आव्हान गरेका छन् ।

झापाको भद्रपुरमा सम्पन्नजनवर्गीय सङ्गठनहरूको संयुक्त जनसभालाई सम्बोधन गर्दै नेता पुनले यस्तो आव्हान गरेका हुन । भूमिहीन सुकुमबासी महासङ्घका अध्यक्ष समेत रहेका नेता पुनले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीहरूसँग आफूहरूको कुनै दुश्मनी नरहेको जिकिर गर्दै राष्ट्रिय स्वाधीनताका निमित्त प्रहरी–सेना सबै नेकपाले अघि सारेको एकीकृत जनक्रान्तिको धारमा आउनुपर्ने बताए । वर्तमान दलाल राज्यसत्तामा धमिरा लागिसकेकाले वैज्ञानिक समाजवाद टाढा नरहेको उनको भनाइ थियो । नेता पुनले पुलिस–सेना केपी–बादल–प्रचण्डहरूका कार्यकर्ता नभएर देशको सेवक भएकाले राष्ट्रिय स्वाधीनता र सीमारक्षाका लागि नेकपासँगै लाग्न आग्रह गर्दै बन्दुकले कुनै सत्ता नटिक्ने भएकाले सबै एकपटक राष्ट्रिय स्वाधीनताका लागि एक हुनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकालले देशमा वैज्ञानिक समाजवादी शिक्षा आवश्यक रहेको बताए । देशमा शैक्षिक माफियाहरूको हालीमुहाली बढिरहेको र दलालहरूको बिगबिगी रहेको भन्दै उनले क्रान्तिकारी विद्यार्थीले वर्ग जन्माउने शिक्षा अन्त्य गरेर वैज्ञानिक समाजवादी शिक्षा लागू गराउन जस्तोसुकै आन्दोलन गर्न तयार हुनुपर्ने बताए । आइपरे बन्दुक बोक्न पनि तयार हुनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा झापाका पीडित, शोसित, सुकुमबासीहरूले आफूहरूमाथि सरकारी जनप्रतिनिधिलगायतले दमन गरेको भन्दै जनसरकार र जनअदालतमा मुद्दा दर्ता गराएका छन् ।

सरकारी कार्यालयहरूको माझमा भएको उक्त कार्यक्रममा झापा जिल्ला सेक्रेटेरी सुमनसिंह पौडेलले सरकारी प्रतिनिधिले मजदुर, सुकुमबासी र गरिब जनतामाथि विभेद, शोषण र दमन नत्यागे गम्भीर परिस्थिति भोग्न तयार हुनुपर्ने चेतावनी दिए । पौडेलले नगरपालिकाका मेयरलगायत प्रतिनिधिहरूले रातारात कसरी पजेरो चढे, उनीहरू रातारात कसरी करोडपति बने ? जनताको न्यायका लागि के गरे भन्ने प्रश्न गरेका थिए । जनप्रतिनिधिहरूले जनहितविपरीत काम गरिरहेमा र सुकुमबासी बस्ती उठाएमा उनीहरूका गाडी सडकमा नगुडेर बममा उड्ने चेतावनी दिए ।

इलाम जिल्ला इन्चार्ज सर्वश्रेष्ठले झापा आन्दोलनको नेतृत्व गर्ने केपी ओलीहरू हेर्दाहेर्दै दलालमा परिणत भएको बताए । अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष सञ्जय राईलगायतले पनि सभालाई सम्बोधन गरेका थिए । कार्यक्रमको अध्यक्षता किसान महासङ्घका जिल्ला अध्यक्ष खोम मिश्रले गरेका थिए । कार्यक्रममा सामना परिवारले कार्यक्रम प्रस्तुत गरेको थियो । भद्रपुरको लेखनाथ चोकबाट ¥याली सुरु भई नजिकैको मैदानमा कार्यक्रम सम्पन्न भएको थियोे ।

प्रतिक्रिया