पाकिस्तानमा आश्रय लिइएको भनिएको जैस-ए-मोहम्मदले भारतको उत्तरी राज्य काश्मिरमा गरेको हमलामा परी बिहीबार दिउँसो कम्तिमा पनि ४० जना भारतीय सुरक्षाकर्मी मारिएका छन् । जम्मुबाट श्रीनगरतर्फ गइरहेको केन्द्रीय रिजर्भ पुलिस फोर्सको गाडीमा हमला हुँदा ४२ जना सुरक्षाकर्मी मारिएका हुन् ।
करिब ७० वटा गाडीमा गइरहेका २५ सय ४७ जना सीआरएफका जवान सुरक्षाकर्मीलाई लक्षित गरी पुलवाला भन्ने स्थानमा हमला भएको थियो ।
समाचार अनुसार जैस ए मोहम्मदका आदिल अहमद उर्फ वकास कमाण्डोले दिउँसो ३ बजेर १५ मिनेटमा यो हमला गरेका थिए । सीआरपीएफको गाडीको लस्कर लेथपोराबाट अगाडि बढेपछि पृथकतावादीहरूले विस्फोटकले भरिएको आफ्नो गाडी जवाले भरिएको बसमा ठोक्काएका थिए ।
भारतीय सञ्चारमाध्यमले जनाए अनुसार अनुसार करिब ३५० किलो भन्दा धेरै विस्फोटक पदार्थले भरिएको स्कोर्पियो सुरक्षाकर्मीको गाडीमा ठोक्काइएको थियो ।
हमलामा परेका सीआरएफका टोली जम्मुबाट बिहान ३ बजेर ३० मिनेटमा बाटो लागेका थिए । उनीहरू साँझ श्रीनगर पुग्ने योजना थियो ।
एकसाथ २५४७ जवान लिएर हिँडेका गाडीसँगै सडक खुलाउने टोली र बख्तरबन्द आतंकरोधी गाडी पनि थिए । जुन बसमा आक्रमण भयो त्यसमा ७६औँ बटालियनका ३९ जना सवार थिए । मारिएका थप सुरक्षाकर्मीमा अर्को साधनका पनि थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार विस्फोटक पदार्थले भरिएको गाडीमार्फत काश्मिरमा अहिलेसम्मकै ठुलो हमला भएको हो । यसभन्दा पहिले सन् २०११ अक्टोबरमा काश्मिर विधान सभा र जनवरी २००४ मा सुरक्षा बलको गाडीमाथि यस्तै हमला भएको थियो । त्यो बेला विधानसभाको हमलामा मात्रै ३८ जना मारिएका थिए ।