देशैभर युवा दुर्व्यसनी तथा कुलतमा फशेको समाचार आइरहेका बेला दाङका एक युवाले भने नयाँ अभियानको सुरुवात गरेका छन् । तुलसीपुर १ रानागाउँका २५ वर्षीय ऋषि परियारले हातले हिडेर विश्व कीर्तिमान कायम गर्ने अभियान थालेका हुन् । १० वर्ष अघिदेखि हातले टेकेर हिड्ने अभियान सुरु गरेको बताउने परियारले शुरु गरेको अभियानको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
स्थानीय समदर्शी जनकल्याण युवा क्लवको आयोजनामा हातले टेकेर हिड्ने अभियानको थालनी गरिएको हो । अभियानको स्थानीय जेष्ठ नागरिक १ सय ३ वर्षीया पार्वती खत्रीले रिबन काटेर उद्घाटन गरेकी हुन् । आम नागरिकलाई सवारी साधन बिना छोटो दूरीमा पनि पार गर्न कठिन भइरहेको अवस्थामा आफूले थालेको हातले टेकेर हिड्ने अभियान सहज नभएपनि आफ्नो गाउँ÷ठाउँ र देशलाई विश्वमा चिनाउनका लागि यस्तो अभियान सुरु गरेको परियारले बताए ।
परियारले यसअघि गाउँघरमा छोटो दूरीमा हातले टेकेर हिडे पनि आज भने तुलसीपुर सल्यान सडक खण्डको लाहुरेचौरदेखि गोटीखोलासम्म करिव दुई किलोमिटर हातले टेकेर पार गरेका छन् । समदर्शी युवा क्लवका पदाधिकारी, स्थानीयवासी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार लगायतको सहभागितामा परियारले हातले टेकेर हिड्ने अभियान सुरुवात गरेका हुन् ।
परियारले हात टेकेर लामो दूरी पार गर्दा सवारी ब्यवस्थापनमा समस्या आउन सक्ने भन्दै तुलसीपुर ट्राफिक प्रहरी कार्यालयले सडकमा आउजाउ गर्ने सवारी साधनलाई केहीबेर रोकेर पठाउने गरेको थियो । अघिअघि हातले टेकेर हिडिरहेका परियारको पछिपछि युवा क्लवको ब्यानरमा क्लवका पदाधिकारी, स्थानीयवासी लगायतको ठूलै भीड लागेको थियो ।
परियारलाई नागरिक अभिनन्दन र पुरस्कार
परियारले हातले टेकेर करिव दुई किलोमिटर दूरी पार गरिसकेपछि उनलाई गोटीखोलामा नागरिक अभिनन्दन गरिएको छ । स्थानीयवासी, तुलसीपुर उद्योग बाणिज्य संघका पदाधिकारी, पत्रकार लगायतको टोलीले परियारलाई अविरमाला लगाइदिएको हो । समदर्शी जनकल्याण युवा क्लवका अध्यक्ष टेकराम केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले परियारको क्षमतालाई राष्ट्रिय तथा अन्तराट्रियस्तरमा चिनाउन यहाँका सञ्चार माध्यमहरुले भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष सेवकराम भण्डारीले संघले माघमा तुलसीपुरमा आयोजना गर्ने मेलामा परियारको क्षमता चिनाउने अवसर प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा संघका सचिव मीनराज भण्डारी, पूर्वसचिव मीनराज वली, सहकोषाध्यक्ष डिल्लीबहादुर वली, नेकपा माओवादी केन्द्रका कलिभान रोका, नेकपा एमालेका झविलाल भण्डारी, नेपाली काङ्ग्रेसका पदम खड्का, रेडियो प्रकृतिका स्टेशन म्यानेजर संगीत बस्याल, रेडियो हाम्रो पहुँचका समाचार प्रमुख नारायण भण्डारी लगायतले परियारको क्षमतालाई चिताउन आ–आफ्नो ठाउँबाट प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रममा परियारको प्रतिभाको सम्मान गर्दै विभिन्न ब्यक्तिहरुले नगद पुरस्कार प्रदान गरेका थिए । यातायात ब्यवसायी टोपेन्द्र वलीले २ हजार ५ सय, स्थानीय भीमबहादुर सेजुवालले २ हजार, उद्योग बाणिज्य संघका पूर्व सचिव मीनराज वलीले १ हजार ५ सय, उपाध्यक्ष सेवकराम भण्डारी र सचिव मीनराज भण्डारीले १÷१ हजार रुपैयाँ पुरस्कार प्रदान गरेका थिए । त्यस्तै स्थानीय देवबहादुर वलीले ५ सय ५५, उद्योग बाणिज्य संघका सह कोषाध्यक्ष डिल्लीबहादुर वली र नरेश डाँगीले ५÷५ सय रुपैयाँ पुरस्कार प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन क्लवका सल्लाहकार चेतमान सेजुवालले गरेका थिए ।