काठमाडौ चन्द्रागिरी नगरपालिका– ८ सतुंगलस्थित यातायात व्यवस्था कार्यालयले मोटरसाइकल विना फाइल धमाधम नामसारीको काम हुन थालेको छ । ताल्छीखेलस्थित कार्यालयबाट सतुंगल ल्याइएका फाइलहरु बोरामा नै थन्काइएका छन् । ती फाइललाई व्यवस्थापन नगर्दै यातायात कार्यालयले मोटरसाइकलको धमाधम नामसारी गर्न थालेको हो ।
यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख वेदप्रसाद आचार्यले सेवाग्राहीको काम नरोक्न ढड्डाका आधारमा नामसारी गरिएको बताए । ‘वर्षाका कारणले कार्यालय व्यवस्थापनमा ढिलाइ भइरहेको छ,’ उनले दाबी गरे, ‘यो महिना भित्रमा सम्पुर्ण काम सम्पन्न हुनेछ ।’
उनले कार्यालय सुचारु गरेर स्थानान्तरण गर्नु पर्दा पनि समस्या आएको बताए । चन्द्रागिरिस्थित कार्यालय परिसरमा भेटिएका गोदावरीका रोशन खडकाले कार्यालयका कर्मचारीहरुको ढिलासुस्तीका कारणले सेवागा्रहीले अनावश्यक झन्झट भोग्नु परेको बताए । ‘कार्यालय आइपुगेका फाइल क्रमश व्यवस्थापन भएपछि मात्र नामसारी गर्नुपथ्र्यो,’ उनले भने, ‘यसो नगर्दा नामसारी भइसक्दापनि सेवागा्रही पुन: कार्यालयमा धाउन बाध्य भएका छन् ।’
कार्यालयले यातायात विभागबाट कार्यालय स्थानान्तरणको स्वीकृति पाएको तीन साता बितिसक्यो । तैपनि सम्पूर्ण फाइल स्थानान्तरण गरिसकिएको छैन । फाइल लगायत सामान ओसार प्रसारका लागि ५ लाख रुपैयामा ठेक्का पाएका ठेकेदार कम्पनीको म्याद सकिएर थप गरिसकेको छ । तर पनि सञ्चालकले पनि ढिलाई गरिरहेको कर्मचारीको आरोप छ ।
यातायात मन्त्रालयले सेवाग्राहीको चाप, फाइल वृद्धिका कारणले ताल्छीखेलमा सञ्चालित कार्यालयको कोठा, परिसर ज्यादै साधुरो भएको, प्राविधिक फाँट अरुको जग्गामा रहेको टहरामा सञ्चालन गर्नुपरेको र पार्किङको समस्या भएको भन्दै कार्यालय स्थानान्तरणका लागि भदौ २४ मा स्वीकृति दिएको थियो ।
संतुगलस्थित कार्यालयमा ल्याइएका बोरामा कोच्चिएका फाइलहरु शौचालय र कार्यकक्षमा थन्काइएका छन् । मोटरसाइकलको प्राविधिक जाँचका कुनै व्यवस्था मिलाइएको छैन । केहि दिन सडकमै प्राविधिक जाँच गरिएको थियो । स्थानीयबासीले एम्बुलेन्स छिर्न समेत बाटो अवरोध भएको भन्दै बन्द गर्न लगाएका थिए ।
जसले सेवाग्राहीहरु नामसारी गर्न ताल्छीखेलस्थित कार्यालयमा प्राविधिक चेकजाँच गराई चन्द्रागिरीमा पुग्न बाध्य छन् । संतुगलस्थित कार्यालय नजिकै धानखेतमा पार्किङको व्यवस्था गरिएको छ । हिलोका कारणले सेवागा्रही सडकमा पार्किङ गर्न बाध्य छन् ।
पैसा तिर्न भने दुवै स्थान रहेको कार्यालयमा व्यवस्था मिलाइएको छ । चन्द्रागिरीमा ५६ लटसम्मका फाइल स्थानान्तरण भइसकेका छन् । त्यो भन्दा माथिको लटको फाइल ताल्छिखेलस्थित कार्यालयमै बोरामा थन्काइएका छन् । फाइल राख्ने फलामका दराज कार्यालय परिसरमा त्यसै परेका छन् ।