नेपालको सहमतिविना कञ्चनपुरको सीमा क्षेत्रमा भारतद्वारा नाली खन्ने काम सुरु

नेपालको सहमतिविना कञ्चनपुरको सीमा क्षेत्रमा भारतद्वारा नाली खन्ने काम सुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २१ माघ २०७५
  • 6.4K
    Shares

भारतले नेपालको सहमतिविना कञ्चनपुरको सीमा क्षेत्रमा भारतीय प्रहरीको सुरक्षाबीच फेरि डोजर लगाएर नाली खन्ने काम सुरु गरेको छ । भारतीय वन विभागले शनिबारदेखि पुनर्वास नगरपालिका–११ डोकेबजारस्थित ७५३÷१७१ नम्बर पिलर क्षेत्रमा नाली बनाउन थालेको हो ।

भारतले १० दिनअघि डोकेबजार क्षेत्रमा नाली खन्न थालेको थियो । त्यतिखेर नेपाली प्रशासनको पहलमा रोकेको काम अहिले फेरि सुरु गरेको हो ।

सीमाक्षेत्रमा नाली खनेको विषयमा एक हप्ताअघि भारतको गौरीफन्टामा नेपाल र भारतका प्रशासनिक र सुरक्षा अधिकारीबीच छलफल भएको थियो । त्यहाँ दुई देशको माथिल्लो तहको छलफलबाट निष्कर्षमा पुग्ने सहमति भएको थियो ।

पुनर्वास नगरपालिकाका प्रवक्ता भारमत सुनारले भारतीयपक्षबाट भइरहेको एकलौटी काम रोक्नका लागि पहल भइरहेको बताए । सीमाक्षेत्रमा संरचना बनाउँदा द्विपक्षीय सहमति आवश्यक भएपनि भारतले दशगजामा बल मिच्याइँ गरिरहेको उनले बताए ।

कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले यसअघि माथिल्लो निकायको द्विपक्षीय बैठक आह्वान गरेर निकास निकाल्ने सहमति भए पनि भारतीय पक्षले एकतर्फी रूपमा काम सुरु गरेको बताए ।

’ भारतीय पक्षले दूतावासबाट पत्र आए मात्रै नाली निर्माण रोक्ने बताएपछि सोहीअनुसार माथिल्लो निकायमा जानकारी गराइएको उनले बताए ।

दुई बर्षअघि भारतीयपक्षले पुनर्वासमै कल्र्भट बनाउँदा भएको विवादमा भारतीयपक्षले चलाएको गोली लागेर नेपाली नागरिक गोविन्द गौतमको ज्यान गएको थियो ।

प्रतिक्रिया