नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा नरेन्द्र विश्वकर्मा बिहीबार साँझ विराटनगरबाट पक्राउ परेका छन्।
कालिकोट घर भएका २७ वर्षीय विश्वकर्मालाई प्रहरीले विराटनगर विमानस्थलबाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । नरेन्द्र यति एयरलायन्सको जहाजबाट साँझ ५:५५ को फ्लाइटमा विराटनगर विमानस्थल हुँदै काठमाडौं जाने तयारीमा थिए।
नरेन्द्र पक्राउ परेको विषयलाई प्रहरीका अधिकारीले भने गोप्य राख्ने प्रयास गरेका छन्। तर नरेन्द्रको साथबाट नाइन एमएम पेस्तोलमा लोड हुने तीनवटा गोली बरामद भएको दाबी प्रहरी स्रोतको दाबी छ।
यता आफ्नो पार्टीको प्रवक्ता प्रकाण्डपुत्र नरेन्द्र बिश्वकर्मा पक्राउ बारेमा नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार बिहानसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । तर ने.क,पा.का एक नेताले आफ्ना पार्टीका प्रवक्ताका छोरालाई फ़न्साइएको दाबी गरेका छन् । अत्यन्त कडा सुरक्षा ब्यबस्था हुने र विद्युतीय मेशिनबाट समेत कडा चेकजाँच हुने विराटनगर बिमानस्थलबाट गोली लैजाने बारे कसैले कल्पना समेत गर्न नसक्ने उनको दाबी छ ।