ने.क.पा.को दोश्रो चरणको दुई महिने सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान देशैभर शुरु

ने.क.पा.को दोश्रो चरणको दुई महिने सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान देशैभर शुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १ माघ २०७५
  • 6.7K
    Shares

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट दोश्रो चरणको दुई महिने सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान पार्टीले दोश्रो चरणको दुई महिने सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान आजबाट देशभरि एकैसाथ शुरु गरेको छ ।

यसैबीच नेकपाको मध्यकेन्द्रीय कमान्डको अभियानको उद्घाटन तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । उक्त अभियानको उद्घाटन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमान्ड इन्चार्ज सुदर्शनले खादा र अबिर लगाएर स्वागत गरे । साथै उनले हालै हिरासतमुक्त भएर आउने नेकपा निकट अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासङ्घअन्तर्गत खानी तथा हाइड्रो महासङ्घका अध्यक्ष लोकेन्द्र थापा, उपाध्यक्ष विकास थापा र महासचिव केशर बुढाथोकीलाई पनि अभिनन्दन गरे ।

अभियानको उद्घाटन गर्दै पार्टी स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले नेपालमा कम्युनिस्टको दोसल्ला ओढेका नामधारी कम्युनिस्टहरू नै क्रान्तिकारीहरूका विरुद्ध लागिरहेकाले उनीहरू गैरकम्युनिस्ट मात्र नभएर धार्मिक दलाल भएको बताए । सरकार काण्डैकाण्डमा फसेर जनताको आँखामा अलोकप्रिय भैसकेको अवस्थामा आफ्नो पार्टी सशक्त क्रान्तिकारी विकल्पका रूपमा उभिएको दाबी गर्दै नेता सुदर्शनले पार्टीलाई अराजकतातिर जानबाट जोगाउन र एकीकृत जनक्रान्तिका बारेको बुझाईमा एकरूपता ल्याउनमा यस अभियान सहयोगी हुने बिस्वास ब्यक्त गरे ।

आर्थिक रूपमा पनि आफ्नो पार्टी व्यवस्थित रूपमा देखापर्दै गएको दाबी गरेका नेता सुदर्शनले आर्थिकस्तर राम्रो भएकाहरू पनि पार्टीमा निर्भर रहन खोज्नु गैरकम्युनिस्ट चरित्र भएको बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वी ताम्सालिङ ब्युरो इन्चार्ज विजय, नेकपाका अर्का केन्द्रीय सदस्य उत्तम लगायतले आफ्नो पार्टीले अघि बढाएको एकीकृत जनक्रान्तिको कार्यदिशालाई अघि बढाउन सञ्चालन गरिएको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान सफलतापूर्वक अघि बढ्ने विश्वास व्यक्त गरे ।

अभियान उद्घाटनका अवसरमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् गण्डक ब्युरो इन्चार्ज आस्था, अर्का केन्द्रीय सदस्य एवम् सेती ब्युरो इन्चार्ज राप्ती, केन्द्रीय सदस्यहरू रवि, उत्तम, सन्ध्या, मामा, ताम्सालिङ स्वायत्त जनपरिषद् प्रमुख माणिक लामालगायत उपस्थित थिए ।

नेपाल कम्युनिस्ट पार्टीले ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २’ सञ्चालन गर्नुको उद्देश्य आमजनतालाई नेपाल कम्युनिस्ट पार्टीवरिपरि गोलबन्द गर्ने, दलाल पुँजीवादी सत्ताविरुद्ध भण्डाफोर गर्दै व्यापक जनसङ्घर्षको आधार तयार गर्ने, जनसत्तालाई विस्तार गर्ने र अर्थतन्त्रलाई व्यवस्थित गर्नु रहेको बताएको छ ।

उक्त पार्टीको हालै सम्पन्न स्थायी समितिको बैठकअनुसार अभियानको अवधिमा पर्ने महान् जनयुद्ध दिवस विभिन्न खालका कार्यक्रमहरूसहित भव्य रूपमा सम्पन्न गर्ने, सहिद सप्ताहअन्तर्गत पर्ने विभिन्न खालका कार्यक्रमहरू भव्य रूपले मनाउनुका साथै विभिन्न खालका रचनात्मक कार्यहरू गरिनेछ । आफ्नो पार्टीप्रति श्रमिक वर्ग, देशभक्त, वामपन्थी शक्तिको आशा–भरोसा बढ्दै गएका कारण सत्तासीन नक्कली कम्युनिस्टहरूले घेराबन्दी र षड्यन्त्रहरू गरिरहेको निष्कर्षसहित आफ्नो राजनीतिक आयतन विस्तारका लागि उक्त राजनीतिक अभियान सञ्चालन गरिएको उक्त पार्टीका नेताहरूको भनाइ छ ।

प्रतिक्रिया