नियमित एक बिद्यार्थी, कार्यालय सहयोगीको अध्यापन, एक मात्र शिक्षक कहिलेकाहीं हाजिर

नियमित एक बिद्यार्थी, कार्यालय सहयोगीको अध्यापन, एक मात्र शिक्षक कहिलेकाहीं हाजिर


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २२ पुष २०७५
  • 9.3K
    Shares

ओखलढुंगा जिल्ला मानेभञ्ज्याङ गाउँपालिका–४ स्थित सानोजुरे आधारभूत विद्यालयकी एक्ली विद्यार्थी कक्षा २ मा पढ्ने खुसी राई एक मात्र नियमित बिद्यार्थी हुन् र  बाबुराम राई एकजना मात्र शिक्षक हुन्, उनी प्रधानाध्यापक पनि हुन् ।

एक शिक्षकका लागि खुसी एक्ली विद्यार्थी हुन्। तर उनलाई सरले कहिलेकाहीं मात्र पढाउँछन्। खुसीकी आमा सुशीला त्यही विद्यालयमा कार्यालय सहयोगी छिन्। उनी आमासँगै नियमित विद्यालय आउँछिन्। सुशीलाले नै छोरीलाई अंग्रेजीबाहेक सबै विषय पढाउँछिन्।

प्रधानाध्यापक बाबुराम नियमित विद्यालय आउँदैनन्। उनकै लापरबाहीका कारण स्थानीय अभिभावकले आफ्ना बालबालिकालाई अर्को विद्यालयमा पढ्न पठाएको बुझिएको छ। कार्यालय सहयोगी राईका अनुसार पढाउने शिक्षक पनि छैनन्, अनि हेडसर पनि नियमित नआउँदा स्थानीयले आफ्ना छोराछोरीलाई पढाउन अन्तै पठाउने गरेका हुन्।

सानोजुरेका बालबालिका अहिले केत्तुके र उबुँमा रहेका बोर्डिङ स्कुल तथा सामुदायिक राज्यलक्ष्मी माविमा पढ्न जान्छन्। त्यहाँ पुग्न पैदल डेढ घण्टा लाग्छ।

विद्यालयमा तीन वर्षदेखि एक शिक्षकको दरबन्दी रिक्त छ। तर शिक्षक नियुक्तिका लागि पहल भएको छैन। मानेभञ्ज्याङ गाउँपलिकाकै अर्को विद्यालयका प्रधानाध्यापकका आफन्तलाई सरुवा गरी ल्याउन यसरी दरबन्दी खाली राखिएको स्रोतले जनाएको छ। चार शैक्षिक सत्रको अन्तरालमा उक्त विद्यालयमा विद्यार्थी घटेर एक जनामा सीमित भएको हो।

विद्यालयको तथ्यांकअनुसार शैक्षिक सत्र २०७२ मा कक्षा ३ सम्म सात विद्यार्थी थिए। चालु शैक्षिक सत्रमा तीन विद्यार्थी मात्र भर्ना भएका छन्। त्यसमा पनि एकजनाबाहेक अरू स्कुल आउँदैनन्। गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको तथ्यांकले भने उक्त विद्यालयमा चालु शैक्षिक सत्रमा विद्यार्थी भर्ना दर शून्य देखाएको छ। आजको नागरिक दैनिकमा समाचार छ l

प्रतिक्रिया