प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र अवैतनिक सूचना प्रविधि सल्लाहकार अस्गर अलीको मिलेमतो र दबाबमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ को ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ निर्माण गर्ने ठेक्का बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनी हुवावेलाई दिएको छ।
सार्वजनिक खरिद ऐन र नियमविपरीत यही पुस ६ गते हुवावेको बिचौलिया कम्पनीसँग सोझै वार्ता गरेर यो ठेक्का दिइएको हो। हुवावेको बिचौलिया कम्पनी चाइना कम सर्भिसेस ( सिसिएस) ले ५ करोड ४२ लाखमा ‘भिडिओ कन्फेरेन्सिङ सिस्टम’ निर्माण ठेक्का पाएको प्रधानमन्त्री कार्यालय उच्च स्रोतलाई उद्दृत गर्दै आजको नागरिक दैनिकले समाचार लेखेको छ । पदीय हैसियत दुरुपयोग गर्दै व्यवसाय प्रवर्द्धन गर्ने काममा लागेका प्रधानमन्त्री ओलीका अवैतनिक सूचना प्रविधि सल्लाहकार अलीको स्वार्थमा उक्त कामको ठेक्का हुवावेलाई दिइएको हो। यस कार्यमा प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिमालको पनि साथ र सहयोग रहेको स्रोतको दाबी छ।
मूल्यांकन समितिमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव यमलाल भुसालले ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ निर्माण ठेक्का हुवावेलाई दिइएको विषयमा जानकारी माग्दा प्रवक्तासँग सोध्न भने। हुवावेलाई ठेक्का दिने क्रममा गरिएको वार्तामा प्रधानमन्त्रीका सल्लाहकारको आचरणविपरीत अली आफैं संलग्न भएका थिए। हुवावेलाई ठेक्का दिने क्रममा गरिएको वार्तामा अली, भुसाल, प्रधानमन्त्री कार्यालयका प्राविधिक उपसचिव रमेश पौडेल र कम्प्युटर इन्जिनियर हरिप्रसाद पोखरेललगायत रहेको स्रोतले बतायो। कम्प्युटर इन्जिनियर पोखरेलले हुवावेलाई ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ निर्माण ठेक्का दिएको पुष्टि गर्दै अन्य विषयमा भने प्रवक्तासँग बुझ्न आग्रह गरे। उनले हुवावेतर्फबाट चाइना कम सर्भिसेसले उक्त कामको जिम्मा पाएको बताए। मूल्यांकन समितिमा रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव वीरेन्द्र मिश्रले उक्त काम गर्न हुवावेको बिचौलिया कम्पनी सिसिएसले प्रस्ताव हालेको बताए। प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले हुवावेले निर्माणका लागि साढे ५ करोड रुपैयाँ हाराहारीमा प्रस्ताव हालेको बताए। आफू बाहिर रहेकाले सबै विषय भन्न नसक्ने जानकारी दिए।
प्रधानमन्त्रीको सूचना प्रविधि सल्लाहकारको हैसियतमा अलीले चिनियाँ कम्पनी हुवावे टेक्नोलोजिजको निमन्त्रणमा करिब दुई महिनाअघि चीन भ्रमण गरेका थिए। सो भ्रमणमा प्रधानमन्त्री कम्प्युटर इन्जिनियर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालका छोरा क्षितिज पनि संलग्न थिए। अलीको चीन भ्रमणमा सरोकार नै नभएका प्रमुख राजनीतिक सल्लाहकार रिमालका छोरालाई संलग्न गराउनुले यसमा उनको पनि मिलेमतो रहेको पुष्टि भएको स्रोतको भनाइ छ।