विप्लव नेतृत्वको केन्द्रीय नेताहरुले सरकारलाई ललकार्दै चुनौती दिईरहेका बेला त्यस पार्टीका जिल्लास्तरका नेता तथा कार्यकर्ताहरुले पनि सरकारलाई चुनौती दिन थालेका छन् । अन्तरजातिय विवाह गरेका काभ्रेको पाँचखाल नगरपालिका-६ होक्सेका १८ वर्षीय अजित ढकाल (मिजार)को ‘हत्या भएको तीन वर्ष बितिसक्दा पनि राज्य पक्षबाट दोषी माथि कारवाही गरी शव बुझ्ने ब्यबस्था नगरेको भन्दै आज नेकपाको सहायक संगठन दलित मुक्ति मोर्चाले देशभरी बिरोध प्रदर्शन गरे।
देशव्यापी जनप्रदर्शनका क्रममा नेकपाका नेता तथा कार्यकर्ताहरुले पिडित पक्षलाइ न्याय नदिने हो भने जनसत्ता संचालन गरेको नेकपाले न्याय दिलाउने बताए ।
देशव्यापी बिरोध प्रदर्शनका क्रममा दलित मुक्ति मोर्चा कास्कीले पनि अजित मिजारको ‘हत्या लाई कारवाही गर्न उनको शबलाई बुझ्ने ब्यबस्था गर्न माग गर्दै आज पोखरामा बिरोध प्रदर्शन गर्यो ।
त्यस अवसरमा नेपाल कम्युनिस्ट पार्टी कास्कीका सदस्य मिलन राईले आफ्नो पार्टीसंग सत्ता संचालनका लागि सरकार, सेना र अदालत रहेको दाबी गर्दै यदि राज्यले अजित मिजारका आफन्तलाई बेलैमा न्याय नदिएमा पार्टीद्वारा संचालित जनसत्ताले न्याय दिने बताए ।
नेकपा कास्कीका अर्का सदस्य परिवर्तनले यदि राज्यले हत्यक़रालाई कारवाही गरेर अजित मिजारको शव बुझ्ने ब्यबस्था नगरेमा त्यो शब् प्रधानमन्त्रीको कार्यालयमा पुर्याउने चेतावनी दिए ।
सोही अवसरमा दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य उमेश सिके र अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य काजी गुरुङले पनि बोलेका थिए ।
बिरोध सभा हुनु पुर्व पोखरा रंगशाला अघिबाट विभिन्न प्लेकार्ड र नाराबाजीसहित बिरोध जुलुश आयोजना गरिएको थियो ।

प्राप्त समाचारअनुसार अजितले पाँचखालकै पराजुली (वाहुन) थरकी १६ वर्षीया किशोरीसँग २०७५ असार २५ गते प्रेम विवाह गरेका थिए ।
असार २७ गते केटीका माइती पक्षले बालविवाहको उजुरी प्रहरीमा दिएपछि प्रहरीकै रोहोबरमा उनीहरुलाई जबर्जस्ती अलग गरियो । त्यसको तीन दिनपछि अजितको लास धादिङमा डोरीमा झुन्डिएको अवस्थामा फेला पर्यो । यो शंकास्पद र रहस्यमय मृत्यु थियो ।
कलेजबाट फर्किएपछि अजितले आमासँग मोबाइलको रिचार्ज कार्ड किन्न भनेर १०० रुपैयाँ मागेका थिए । पछि रिचार्ज कार्ड नकिनेर ५० रुपैयाँ बहिनीलाई दिएर निस्केका थिए । अजित सम्पर्कविहीन भए । घरकाले धेरै खोजिनिती गर्दा पनि केही पत्तो लागेन । विवाह गरी छुटेको तीन दिन नबित्दै अजितको लास धादिङमा पासो लागेको अवस्थामा फेला पर्यो । उनको मृत्यु निकै शंकास्पद थियो । अजितकी प्रेमीकालाई आफन्तले घर लैजाँदा अजितलाई मार्ने धम्की दिइएको उनका आफन्त बताउँछन् ।
अजितका आफन्त र जिल्लास्थित दलित अधिकारकर्मीले अजितको आत्महत्या नभई हत्या नै भएको ठोकुवा गरिरहेका बेला पोष्र्टमाटमको रिपोर्टले पनि यो आत्महत्या नभएको पुष्टि भएको छ ।

धादिङको गजुरीस्थित पुरानो काठको यात्रु प्रतिक्षालयमा असार ३० गते विहान दूध बेच्न जाने स्थानीयले डोरीमा झुन्डिएको लास देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव निरिक्षक प्रकाश लिम्बुको टोलीले गजुरीकै स्थानीयलाई साक्षी राखेर मुचुल्का गरे । त्यसपछि कागजीरुपमा पोष्टमार्टम गरी दरौदी खोलामा गाडिदिए ।
प्रहरीले बेवारिसे अवस्थामा भएकाले स्थानीयको सहयोगमा अजितको लास गाडेको उल्लेख गरेको छ । तर, कानुनतः बेवारीसे लास भेटिएमा त्यसका धेरै प्रकृया पूरा गरेर मात्रै लास गाड्न सकिन्छ । यहाँ सामान्य प्रकृया पनि नपुर्याइ लास गाडिएको देखियो ।
यति हुँदासम्म पनि मृतक अजितका आफन्तलाई कुनै जानकारी थिएन । धादिङकै एक अनलाइनले झुन्डिएको अवस्थामा फेला परेको अजितका फोटाहरु जब फेसबुकमा सेयर गर्यो त्यसपछि बल्ल आफन्तले थाहा पाए कि, अजित यो संसारमा छैनन् । आफन्तहरु धादिङ पुगेर अजितको लास माग्दा प्रहरीले लासलाई पोष्टमार्टम गरेर गाडिसकेको जवाफ दियो ।
त्यसपछि अजितका आफन्तले अधिकारकर्मी गुहारे । राष्ट्रिय दलित आयोगले गृह मन्त्रालयमार्फत चिठ्ठी पठाएपछि साउन २ गते गाडिएको लास उत्खनन गरेर पोष्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगञ्जमा पुर्याइयो ।
साउन दुई गते बेलुका अजितको लासलाई टिचिङ अस्पतालमा पोष्टमार्टमका लागि राखियो । लास ल्याएको तीन दिनपछि साउन पाँच गते पोष्टमार्टम भयो । पोष्टमार्टम रिपोर्टले अजितको आत्महत्या भएको प्रहरी दावीलाई झुट सावित गरेको छ ।
टिचिङ अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. हरिहर वस्तीले अजितले आत्महत्या गरेको पुष्टि नहुने भन्दै यसमा थप अध्ययन जारी रहेको बताएका छन् ।