शिक्षकको कुटाईबाट सख्त बिरामी परेका बाराको कलैया उपमहानगरपालिका–१ स्थित नमुना निमाविमा कक्षा ७ माअध्ययनरत १३ वर्षीय अजय महतो मण्डलको मृत्यु भएको छ भने पिट्ने शिक्षक फरार छन् ।
शिक्षक सोनालाल यादवले एक छात्राको विषयमा उजुरी आएको भन्दै सोमबार अजयलाई कुटेर तेस्रो घण्टी नसकिँदै घर पठाएको उनका सहपाठीले बताएका छन् । विद्यालयबाट उनको घर ३ किमि टाढा छ । घर पुगेको केही घण्टामै जिल्ला अस्पताल कलैया र्पुयाइएका उनको उपचारक्रममा मृत्यु भएको मेडिकल सुपरिन्टेन्डेड त्रिभुवनचन्द्र झाले बताए ।
प्राथमिक तहका शिक्षक यादवले अजयलाई विद्यालय प्रांगणमा हात र बाँसको लठ्ठीले पैतालादेखि घाँटीसम्म कुटेको प्रत्यक्षदर्शी अजयकी साथी रीमा मण्डलले बताइन् । मृत्युपछि प्रहरीमा जाहेरी दिएको अजयका काका जितेन्द्रले बताए ।
शिक्षकविरुद्ध ज्यान कसुरमा पीडितबाट उजुरी लिएर विस्तृत अनुसन्धान थालिएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । शवको जिल्ला अस्पताल कलैयामा पोस्टमार्टम गरिएको छ ।
प्रहरीका अनुसार, मृत्युको कारण अहिल्यै भन्न नसकिने एसपी भट्टराईले बताए । ‘बाहिरी चोटपटक देखिएको छैन, सूक्ष्म अनुसन्धान भइरहेको छ,’ उनले भने ।
साथी रीमाका अनुसार शिक्षकको पिटाइपछि अजय रुँदै विद्यालयबाट निस्केका थिए । घाँस काट्न गएकी आमा कोशिलाले घर फर्कंदा अजयलाई खाटमा बेहोस अवस्थामा भेटेकी थिइन् । ‘छोरालाई बेहोस देखेपछि हतपत अस्पताल लग्यौं, अस्पताल पुगेको केहीबेरमै बाबुको सास गयो,’ कोशिलाले भनिन् ।
उनले भनिन्, ‘किन त्यस्तो भयो, विद्यालयबाट किन चाँडै फर्केको हो भन्ने पछि मात्रै थाहा भयो ।’
त्यही विद्यालयमा कक्षा ६ मा पढदै गरेकी छोरी शान्ति र छिमेककी अर्की छात्राले सुनाएपछि मात्रै घटनाबारे थाहा पाएको उनले बताइन् । अजयका साथी धर्मेन्द्र ठाकुरका अनुसार कक्षा ७ का सबै जनालाई शिक्षक यादवले तेस्रो घण्टीमा बाहिर निकालेका थिए ।
‘कक्षामा फर्काएर सरले अजयलाई बेस्सरी कुट्नुभयो, कुटाइले उ थरथर कामिरहेको थियो,’ उनले भने, ‘सरले कुटदै, हप्काउँदै घर पठाइ दिनुभयो, अजय रुँदै गयो ।’ निजी विद्यालयमा पढ्ने अजय यसै वर्षदेखि उक्त सरकारी विद्यालयमा भर्ना भएका हुन् ।
विद्यार्थीको मृत्युपछि गाउँका सयौं व्यक्ति जिल्ला प्रहरी कार्यालय र अस्पताल पुगेका थिए । ‘अस्पताल ल्याउँदा अजय बेहोस थियो, मुखबार् र्याल निस्केको थियो,’ मेडिकल सुपरिन्टेन्डेड झाले भने, ‘पोस्टमार्टम जाँचका लागि प्रहरीले पेटमा भएको खानाको केही भाग लगेको छ, रिपोर्ट आएपछि मृत्युको कारण खुल्छ ।’ अजयले बान्ता र पखाला गरेको देखिएको उनले जानकारी दिए ।
बाराको कलैया उपमहानगरपालिका–१ का वीरेन्द्र महतो मण्डलका १३ वर्षीय छोरा अजयको मृत्युपछि भावविह्वल आमा कोशिलालाई सम्हाल्दै आफन्त ।
कलैया उपमहानगरपालिका–१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारक्रममा मृत्यु भएको हो ।
शिक्षक यादव भने फरार छन् ।