५ माघ, काठमाडौं । तपाईंको घर वा व्यवसायिक प्रतिष्ठानमा जोडिएको सोलार बिजुली बढी भएर खेर गइरहेको छ ? त्यसो हो भने अब सरकारलाई बिजुली बेच्न तयार हुनुस् । सरकारले त्यस्ता बिजुलीलाई किन्ने तयारी गरेको छ । सरकारी योजना अनुसार काम भए घरका छतदेखि खाली जग्गामा सोलार प्यानल राखेर बिजुली उत्पादन गरी सरकारलाई बेच्न सकिनेछ । धेरै बिजुली खपत हुने ठूला औद्योगिक, ब्यापारिक र अन्य प्रतिष्ठानमा ब्याकअपका रुपमा सोलार राख्न प्रोत्साहित गर्ने सरकारको योजना छ । ‘ब्याकअपका रुपमा इन्भर्टर राख्ने भन्दा सोलार राख्न प्रेरित गर्ने योजना बनेको छ’ उर्जा मन्त्रालयका सहप्रवक्ता गोकर्ण पन्थले अनलाइनखबरसँग भने-‘यसरी उत्पादन हुने बिजुली किनेर ग्रीडमा जोड्न अध्ययन गरिरहेका छौं ।’
सोलार बिजुलीको खरिद मूल्य तोक्ने तयारी
सोलारबाट उत्पादित बिजुली किन्न मूल्य नै तोक्ने तयारी छ । उर्जा मन्त्रालयले निजी क्षेत्रले उत्पादन गरेको सोलार बिजुली किन्ने गरी मूल्य तोक्न लागेको सहप्रवक्ता पन्थले जानकारी दिए । त्यसका लागि मन्त्रालयले कार्यदल बनाइसकेको छ । कार्यदलले केही दिनभित्रै सोलार बिजुलीको खरिद मूल्य सिफारिस गर्नेछ । कार्यदलको सिफारिसका आधारमा उर्जामन्त्रीले उर्जा संकटकाल घोषणा गर्दा सोलार बिजुलीको खरिद मूल्य सार्वजनिक गर्ने तयारी भएको स्रोतले बतायो ।
उर्जा मन्त्रालयका सह-सचिव सञ्जय शर्मा नेतृत्वमा बनेको कार्यदलले अहिले सोलारबाट उत्पादन भएका बिजुलीलाई ग्रीडमा जोड्नका लागि गर्नुपर्ने प्रविधिक तयारीबारे अध्ययन गरिरहेको छ । अहिलेसम्मको अध्ययनले एकै ठाउँमा ठूलो परिमाणमा सोलार बिजुली उत्पादन गरेर ग्रीडमा जोड्न नसकिने देखिएको छ । ‘एकै स्थानमा ठूलो परिमाणमा सोलार बिजुली निकालेर ग्रीडमा जोड्न सम्भवन देखिएन, कार्यदल स्रोतले भन्यो, त्यसैले विभिन्न ठाउँबाट सोलार बजिुली ग्रीडमा जोड्न सकिने निश्कर्षका साथ काम अघि बढेको हो ।’
१ सय ५० मेगावाट ग्रीडमा जोड्न सकिने
झण्डै १ सयदेखि १५० मेगावाट सोलार बिजुली विभिन्न ठाउँबाट प्रशारण लाइनमा जोड्न सकिने कार्यदलको अध्ययनमा देखिएको छ ।
सोलारको बिजुली जडान गर्न सार्वजनिक जिनी साझेदारी अन्तरगत एउटा आयोजना बनाउने गृहकार्य भइरहेको छ । यसबाट सोलारमा निजी क्षेत्रको लगानी आकषिर्त गर्न सकिने विश्वास उर्जा मन्त्रालयको छ । २५ किलोवाट भन्दा माथिको सोलार सिस्टमबाट उत्पादित बिजुली मात्र ग्रीडमा जोड्ने गरी तयारी भएको छ ।