काठमाण्डौ, १२ मंसीर २०८३।
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवा समूहलाई पार्टीको नाम, झण्डा, लेटरप्याड तथा चुनाव चिह्न ‘रूख’ अनधिकृत रूपमा प्रयोग नगर्न चेतावनी दिएको छ। पार्टीको आधिकारिक निर्णयविपरीत समानान्तर गतिविधि सञ्चालन गरे विधान र प्रचलित कानुनअनुसार कारबाही गरिने कांग्रेसले स्पष्ट पारेको छ।
मंसिर ८ देखि ११ गतेसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री प्रदीप पौडेलले यस्तो चेतावनी दिएका हुन्। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा निर्णय सार्वजनिक गर्दै उनले पार्टीको आधिकारिक गतिविधि र महाधिवेशनसम्बन्धी निर्णय महामन्त्रीमार्फत मात्र हुने जानकारी दिए।
कांग्रेसका अनुसार पार्टीको नाम, झण्डा, लेटरप्याड र ‘रूख’ चुनाव चिह्नको अनधिकृत प्रयोग गर्न पाइने छैन। त्यस्तै, पार्टीको नाममा अनधिकृत भेला तथा महाधिवेशन आयोजना गर्ने र सामाजिक सञ्जालमा त्यस्ता गतिविधिलाई आधिकारिक भन्दै प्रचार गर्नसमेत रोक लगाइएको छ।
पार्टीको निर्णयविपरीत समानान्तर गतिविधि सञ्चालन गर्नु अनुशासनहीन कार्य भएको ठहर गर्दै कांग्रेसले यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षलाई सचेत गराएको छ।
केन्द्रीय समिति बैठकका अन्य महत्त्वपूर्ण निर्णय
१. सरकारलाई चुनाव र सुशासनमा केन्द्रित हुन आग्रह
कांग्रेसले संविधान, लोकतन्त्र र विधिको शासनको रक्षा गर्दै सरकारले निर्वाचन, नागरिक सुरक्षा र सुशासनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ।
२. प्रधानमन्त्रीको भारत भ्रमणप्रति सकारात्मक
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई कांग्रेसले सकारात्मक रूपमा लिएको छ। राष्ट्रिय हितलाई केन्द्रमा राख्दै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम गर्न भ्रमणका उपलब्धिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बैठकको निष्कर्ष छ।
३. बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन माग
भोटेकोशी, बूढीगण्डकी र कालीगण्डकीलगायतका क्षेत्रमा बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत, सुरक्षित आवास र घरभाडा सहायता उपलब्ध गराउन कांग्रेसले सरकारसँग माग गरेको छ। साथै, प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि ठोस योजना ल्याउन पनि आग्रह गरिएको छ।
४. सुकुम्वासी समस्या मानवीय र कानुनी ढंगले समाधान गर्नुपर्ने
भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या बल प्रयोग गरेर नभई कानुनी र मानवीय आधारमा समाधान गर्नुपर्ने कांग्रेसको धारणा छ। वास्तविक सुकुम्वासीको आवास अधिकार र आत्मसम्मान सुनिश्चित गर्दै सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने निर्णय बैठकले गरेको छ।
५. ‘हामी तयार छौँ’ अभियानलाई स्वीकृति
कांग्रेस केन्द्रीय समितिले पार्टीको ‘हामी तयार छौँ’ अभियानसम्बन्धी अवधारणापत्र स्वीकृत गरेको छ।
६. सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि पारित
पार्टीका सार्वजनिक कार्यक्रमलाई थप व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि, २०८२’ परिमार्जनसहित पारित गरिएको छ।
७. लैङ्गिक हिंसाविरुद्धको अभियानमा ऐक्यबद्धता
‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने नारासहित सञ्चालन भइरहेको १६ दिने अभियानप्रति कांग्रेसले समर्थन र ऐक्यबद्धता जनाएको छ।
८. IGEDS प्रतिष्ठान स्थापना गर्ने निर्णय
लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणका क्षेत्रमा पार्टीका गतिविधिलाई संस्थागत र प्रभावकारी बनाउन ‘लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण प्रतिष्ठान’ (IGEDS) स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ।
केन्द्रीय समिति बैठकका यी निर्णय सार्वजनिक गर्दै कांग्रेसले पार्टीको संगठनात्मक अनुशासन, राजनीतिक गतिविधिको आधिकारिकता र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेको जनाएको छ।