गुल्मीमा नेपाली काङ्ग्रेस साविकको निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रिय कमिटी सचिव रेखाकुमार जिसीले मालिका गाउँपालिका -५ का वडाध्यक्ष श्यामलाल गिरी, जमलपोखरा माध्यमिक विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष उपेन्द्र खड्का र विद्यालयका प्रध्यानाध्यापक ढुन्डिराज अर्याललाई कुटपिट गरेका छन् ।
विद्यालयको बैठक सकेर बाहिर निस्किएका बेला साँझको समयमा एक्कासी जिसीले मदिरा सेवन गरी एक्कासी आई बैठकको माइनट र निर्णय माग्दै हातपात गरेको विद्यालयले जनाएको छ । नेता जिसीले प्रध्यानाध्यापक अर्यालको हातबाट जबरजस्ति विद्यालयको चाँबी खोसेको र वडाध्यक्ष गिरिको स्यामसुम मोबाइल खोसि फुटालेको स्थानीय ओम कार्कीले जानकारी दिए ।
स्थानीय जनप्रतिनिधि, रास्ट्रसेवक कर्मचारीलाई शान्तिक्षेत्र घोषित बिद्यालय परिसरभित्रै कुटपिट हुँदा पनि स्थानीय प्रशासनले कुनै कारवाही गरेको छैन । कारवाही गर्नु त कता, जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले पीडक र पिडित पक्षलाई आफ्नो कार्यालयमा बोलाएर मिलापत्रका लागी छलफल गराए । तर निष्कर्ष भने केहि निस्किएन ।अरुलाई धम्काएर आफू ठूलो हुन खोज्ने प्रवृत्तिका कांग्रेसी नेता जिसीको रवाफकाकारण सहमति नभएको बताइएको छ ।
प्रजिअ पौड्याल ‘विद्यालयको निर्णय माग्दै हातपात गर्नु एकदमै गलत काम हो ।’भन्छन । तर उनी पीडकलाई कारवाही गर्नुको सट्टा मिलापत्र गराउन प्रयास गरिरहेका छन् ।
यता ‘बैठकको प्रतिलिपि मात्र मागेको ‘ बताउने कांग्रेस नेता जिसीले आफूले सुचनाको हकको प्रयोग गर्दै विद्यालयका बैठकको निर्णयको प्रतिलिपि मागेको प्रतिक्रिया दिए । तर विद्यालयका प्रध्यानाध्यापक, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष र वडाध्यक्षले नेता जिसीलाई कानुनी कारवाहि गर्नुपर्ने माग गरेका छन् ।