अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रमा जाने आन्तरिक पर्यटकलाई पनि नेपाल सरकारले राजपत्रमा प्रकाशित गरि लगाएको प्रवेश शुल्कको विरोधमा स्थानीयले आइतबार बिरेठाँटीको चेक पोष्ट तथा सूचना केन्द्रमा तालाबन्दी गरेका छन्।
आन्तरिक पर्यटकलाई पनि संरक्षण क्षेत्रमा प्रवेश शुल्क लिने निर्णय खारेजको माग गर्दै कास्कीको बिरेठाँटीका पर्यटन व्यवसायीले चेक पोष्टमा तालाबन्दी गरेका हुन्।
तालाबन्दीका क्रममा तात्कालीन दाङसिङ गाविसका पुर्व अध्यक्ष देबेन्द्र कुमार शेरचन, अन्नपूर्ण गाउपालिकाका वर्तमान निर्वाचित वडाध्यक्षहरु क्रमश: वडा न. ८ का बिजय गुरुङ र वडा न. ९ का बलबहादुर छेत्रीको समेत सहभागिता रहेको थियो l
एक्यापले करोडौ उठाउने तर एक्याप क्षेत्रको विकासमा लगानी नगरेकोले स्थानीय स्वस्फूर्त रुपमा उत्रेर तालाबन्दी गरेको संघर्ष समितिका अध्यक्ष टेक बहादुर गुरुङले बताए। संरक्षण क्षेत्रका वन पैदावरको संरक्षणको साथै उपयोग पनि गर्न पाउनु पर्ने र प्रवेश शुल्कबाट भएको आम्दानी त्यही क्षेत्रको विकासमा खर्च गरिनु पर्ने पनि स्थानीयको माग रहेको छ।
स्थानीयको तालाबन्दीका कारण अन्नपूर्ण संरक्षण क्षेत्रमा जाने विदेशी पर्यटकको तथ्याङ्क संकलन, प्रवेश अनुमती पत्रको चेक जाँच र पदयात्रा गरेर फर्कने पर्यटकको तथ्याङ्क संकलन कार्य प्रभावित भएको छ। अहिले बिरेठाँटी हुँदै अन्नपूर्ण आधार शिवीर, घोरेपानी पुन हिल, घान्द्रुक लगायतको क्षेत्रमा दैनिक १ सय ५० देखि २ सय सम्म विदेशी पर्यटक जाने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र चेक पोष्ट तथा सूचना केन्द्र बिरेठाँटी इन्चाज यम बहादुर गुरुङले बताए।

नेपाल सरकारले गत असोज २९ गते राजपत्रमा प्रकाशित गरी संरक्षण क्षेत्रमा आन्तरिक पर्यटकलाई पनि प्रति व्यक्ती प्रवेश शुल्क एक सय रुपैयाँ लिने निर्णय गरेको थियो। सरकारको निर्णय अनुसार एक्यापले पोखरा काउण्टरमा प्रवेश अनुमती-पत्र बनाउनेलाई एक सय रुपौयाँ र संरक्षण क्षेत्रकै चेक पोष्टमा बनाएमा दुई सय लिँदै आएको छ।

सरकारले संरक्षण क्षेत्रमा पदयत्रा गर्न, घुम्न जाने विदेशी पर्यटकलाई अहिले लिदै आएको शुल्कमा वृद्धि गरेको थियो। अन्नपूर्ण संरक्षण क्षेत्रमा जाने विदेशी पर्यटकलाई भ्याटसहित तीन हजार, सार्क राष्ट्रका पर्यटकलाई एक हजार र आन्तरिक पर्यटकलाई प्रवेश शुल्क एक सय लाग्ने संशोधित राजपत्रमा उल्लेख भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका पोखराका सूचना अधिकृत ऋषि बरालले जानकारी दिए।
दश वर्ष मुनीका बालबालीकाकालागि भने प्रवेश शुल्क लाग्ने छैन। यस अघि अन्नपूर्ण संरक्षण क्षेत्रमा घुम्न जाने विदेशी पर्यटकलाई भ्याट बाहेक दुई हजार र सार्क मुलुकका पर्यटकलाई भ्याट बाहे दुई सय रुपैयाँ प्रवेश शुल्क उठाउँदै आएको थियो।