सत्तारुढ नेकपामा चर्को गुटबन्दी : चार नेताद्वारा सचिवालय बैठक बहिस्कार, पाँचले बोलाए स्थायी समिति

सत्तारुढ नेकपामा चर्को गुटबन्दी : चार नेताद्वारा सचिवालय बैठक बहिस्कार, पाँचले बोलाए स्थायी समिति


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २२ मंसिर २०७५
  • 4.3K
    Shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चर्को गुटबन्दीमा परेको तथ्य छताछुल्ल भएको छ।

चार नेताले सचिवालय बैठक बहिस्कार गरेपछी नेकपा नेतृत्व चर्को गुटबन्दीमा परेको तथ्य छताछुल्ल भएको हो ।

वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवत्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बहिस्कार गरेका हुन् । नेकपा सचिवालय बैठक अपराहृन ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको थियो । तर, आधा घन्टा कुर्दा पनि बैठक सुरु नभएको भन्दै चार नेता बालुवाटारबाट हिँडेका हुन् । यसबारे सोध्दा प्रवक्ता श्रेष्ठले आफूले सँधै समयको पालना हुनु पर्नेमा जोड दिँदै आएको बताए । अरु कार्यक्रम र बैठकहरुमा निर्धारित समयमा पुग्ने र १५ मिनेटसम्म सुरु नभए हिड्ने गरेको भन्दै उनले भने, ‘आज पनि २० मिनेट कुरेँ । बैठक सुरु नभएपछि हिँडेको हुँ ।’

उता बालुवाटार स्रोतले प्रधानमन्त्री ओली त्यही समयमा विशेष भेटघाटमा भएको बताएको थियो। ‘प्रधानमन्त्री एउटा विषेश भेटघाटमा हुनुहुन्थ्यो’, स्रोतले भन्यो, ‘त्यही समयमा उहाँहरु बालुवाटारबाट बाहिरिनु भएछ।’

असन्तुष्ट चार नेता बालुवाटारबाट बाहिरिएपछि पाँच नेताको सहभागितामा बसेको बैठकले स्थायी समिति बैठक बोलाएको हो।

चारले बहिस्कार गरेपनि बाँकी नेताहरु बसेर स्थायी कमिटीको बैठकको मिति तय गरेको छ । स्थायी कमिटीको बैठक २९ गते अपरान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालय धुमबराहीमा बस्ने निर्णय सचिवालय बैठकले गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

नेकपाको सचिवालय ९ सदस्यीय छ । चार नेताको बहिस्कारबारे सोधिएको प्रश्नमा महासचिव पौडेलले दुई अध्यक्षको छलफल चलिरहेकाले बैठक बस्न ढिलो भएको बताए ।

प्रतिक्रिया