कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको पक्षमा न्याय माग्दै राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले लछार पछार गर्दै अभद्र तरीकाले पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डबाट नेपाल फर्किँदै गर्दा उनीहरुले प्रदर्शन गरेका थिए ।
हाल उनीहरुलाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको हिरासतमा राखिएको छ । प्रदर्शनकारीले टाउकोमा कालो पट्टी बाँधेका थिए भने त्यसमा ‘म निर्मला’ लेखिएको कागज टाँसेका थिए ।


यसैबीच करिब चार महिनाअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको आरोपमा बालिका पन्तका छिमेकी प्रदीप रावल पक्राउ परेका छन् र उनले हत्यामा संलग्न रहेको साविती बयान दिएका छन् ।
पक्राउपछि नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल आफैं उपस्थित भएर लिइएको बयानमा रावलले घटना स्वीकार गरेको प्रहरी स्रोतले भनाई छ । रावलले घटना स्वीकार गरेपछि प्रहरीले रावलको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको छ । निर्मलाको शव भेटिएको दिनदेखि बेपत्ता भएका रावल चार महिनासम्म भारतमै बसेको र केही दिनअघि मात्र काठमाडौं आएको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको थियो ।
रावलले घटना स्वीकार गरिसकेपछि उनको बयानको आधारमा कञ्चनपुरबाट थप केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धानका लागि काठमाडौं ल्याइएको प्रहरीले जानकारी दिएको छ ।