नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीलाई देशद्रोही पुष्टि गर्न सरकारलाई चुनौती दिएका छन् । पार्टी पुनर्गठनको पांच वर्ष पुगेको अवसरमा काठमाडौंमा आयोजित बिशाल जनसभालाई सम्बोधन गर्दै नेकपा प्रबक्ता प्रकाण्डले सरकारलाई त्यस्तो चुनौती दिएका हुन् ।
ओली सरकार नेकपामाथि अघोषित प्रतिवन्ध लगाएर दमनमा उत्रिएको आरोप लगाउंदै उनले अघि भने, ” हामी गलत हो वा सरकार, यसको जवाफ जनताले दिनेछन् । यो सरकारले यस्तै रुपमा हामीमाथि दमन गरिरहे चाँडै जनताको अदालतमा उभिनुपर्ने दिन आउने छ ।’ प्रकाण्डले भने , ‘हाम्रो पार्टीमाथिको दमन नरोके सरकार जनताको हिरासतमा उभ्याइनेछ । होइन भने सरकारले पुष्टि गरोस्, हाम्रो पार्टी देशद्रोही हो भनेर ।’
नेता प्रकाण्डले नेपाली जनयुद्ध र जनआन्दोलनमा नेपाली छोराछोरीले बगाएको रगत खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे ।
नेपाली जनताको मुक्तिका लागि लडिरहेको आफ्नो पार्टी नेपाल कम्युनिस्ट महासचिव विप्लवको नेतृत्वमा गतिशील तरिकाले अघि बढिरहेको प्रस्ट पार्दै भने, ‘तपाईंका छोराछोरीले क्रान्तिमा बगाएको रगत र पसिना कुनै पनि कोणबाट खेर जान दिँदैनौंँ । यो सिंगो पार्टीका तर्फबाट प्रतिबद्धता हो ।’
फासिवादी र दलाल सरकारका कारण देशमा राष्ट्रघात र जनघात तीव्र गतिमा भइरहेको बताउँदै उनले त्यो कदम तत्काल नरोकिए सबै जनता राष्ट्रिय मुक्ति सेनामा परिणत हुने चेतावनीसमेत दिए ।
कञ्चनपुरकी १२ वर्षीया बालिकाको वलात्कार पछी हत्याकाण्डमा सरकारमा रहेका मानिसहरुको संलग्नता रहेको आरोप लगाउंदै उनले निर्मला पन्तको हत्यारालाई पत्ता लगाएर केपी–प्रचण्डको अगाडि पछार्ने काम आफ्नो पार्टी नेकपाले गर्ने दाबी गरे । निर्मला पन्तको हत्याको विरोधमा संघर्ष गर्ने र त्यसनिम्ति आन्दोलन घोषणा गरिसकेकोले सहभागी हुन प्रकाण्डले अपिल समेत गरे ।
नेकपाका प्रवक्ता प्रकाण्डले पुर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड विदेशमा राखेको धन नेपाल कसरी ल्याउने ? भन्ने विषयले तनावमा रहेका बताए । सत्तारुढ नेकपा अध्यक्ष प्रचण्डले नेपाली जनताको सम्पत्ति लुटेर दुवईमा लगेर लुकाएर राखेको भन्दै त्यो पैसा नेपाल ल्याउनेबारे योजना बनाइराखेको दाबी गरे । जनयुद्धको उद्देश्यबाट विचलित भई, जनतालाई धोका दिएर थुपारिएको धन अब नेपाली जनताले नछाड्ने उनको चेतावनी छ । यसबारे नेकपाले अनुसन्धान जारी राखेको उनले बताए ।
प्रचण्ड प्रवृत्तिको बन्ध्याकरण गर्नुपर्छ : गोपाल किराँती
सो जनसभामा नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किराँती प्रचण्डविरुद्ध खरो रुपमा उत्रिए । उनले प्रचण्डले माओवादी आन्दोलनको विचार र इतिहासलाई तिलाञ्जली दिएको आरोप लगाए । उनले भने, ‘हामीले त्यो विचार र इतिहासलाई छोड्न तयार भएनौँ । बरु प्रचण्डलाई छोडेर हिँडियो ।’
उनले थपे, ‘हिजो महान् भन्ने प्रचण्डमा आज विश्वका पूँजीपति र दलालले पाउने नोबेल पुरस्कारको आशक्ति बढेको छ । यो पुरस्कार कसले पाउँछ भने चीनका दलाइ लामाले पाउँछन्,’ उनले प्रचण्डको प्रवृत्तिको उछितो काड्दै त्यस्तो प्रवृत्तिको बन्ध्याकरण गर्नुपर्ने बताए ।
नेकपा भ्रष्ट–दलालहरुको एनजीओहरुको समूह : ऋषी कट्टेल
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपालमा ५० वर्षको कम्युनिष्ट आन्दोलनमा पचासौँ पटक पुनःगठन दुःखद् भएको बताए । उनले अहिले पुनर्गठन आवश्यक रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी नाम गरेको पार्टी भ्रष्ट–दलालहरुको एनजीओहरुको समूहले चलाएको गम्भीर आरोप लगाए ।
उनले भने, ‘प्रचण्ड र ओली समूहले नेतृत्व गरिरहेको कम्युनिष्ट पार्टीको सरकारविरुद्ध क्रान्तिकारी कम्युनिष्टहरु संघर्षमा उत्रिनु परेको छ ।’
‘नेपाली क्रान्तिको बाटो भनेको बृहत कम्युनिष्टहरुको संयुक्त जनसंघर्षले तय गर्नेछ । अब क्रान्तिकारी कम्युनिष्टहरु एक हुनुपर्छ । कम्युनिष्ट आन्दोलनमा नेतृत्वले गद्दारी गरे पनि जनताले सच्चा क्रान्तिकारीहरुलाई साथ दिन्छन्’, उनले भने । उनले वतमान सरकार ९ महिनामै नांगिएको भन्दै खुसी व्यक्त गरे ।
नेकपाका पोलिटब्यूरो सदस्य (पीबीएम) पदम राई ‘विकास’ले भृकुटीमण्डपस्थि प्रदर्शनीमार्गमा जारी विशाव जनसभामा बोल्दै वर्तमान सत्ताको ठाउँमा अर्कै चिज ल्याउन लागिएको बताएका छन् ।
स्वगत मन्तव्य राख्दै नेता राईले वर्तमान सरकारलाई दलाल संसदीय व्यवस्थाअन्तर्गत गठित सामाजिक फासीवादी सरकार भएको बताउँदै अब जनताको साथ लिई नेकपाले अर्कै सत्ता ल्याउन एकीकृत जनक्रान्ति संचालन गरिरहेको बताए । ‘छिट्टै यो सत्ताको ठाउँमा अर्कै चिज आउँदैछ’ राईले भने ‘यसका लागि देशलाई बचाउन र माया गर्ने तथा राष्ट्रिय स्वाधीनताको पक्षधर सम्पूर्ण देशभक्त पक्ष, शक्ति तथा सुरक्षाकर्मीहरु एकजुट भएर आन्दोलनमा सरिक हुन अपिल गर्दछु ।’ उनले भने ‘कोही पनि नेपाली नेकपासँग डर मान्नुपर्ने कारण नै छैन । सरकारले हामीलाई युद्धको मैदानमा जाओस् भन्ने चाहेको छ तर अर्कै चिज हौं । युद्ध त फासीवादी सरकार र तिनका मतियारहरुले चाहेका छन् । त्यो हुन दिनेछैनौं ।’