नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् प्रकाशन ब्युरो इन्चार्ज गुणराज लोहनीले आवश्यक परे आफ्नो पार्टी वर्तमान दलाल संसदवादी सत्तासँग लड्न वा प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन् ।
पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिले बिहीबार संवाद डबलीमा आयोजना गरेको ‘राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि बृहत् कविता गोष्ठी’ मा बोल्दै नेता लोहनीले यस्तो कुरा बताएका हुन् ।
नेपालको वर्तमान सत्ता प्रतिक्रियावादी भएको जिकिर गर्दै उनले जनतालाई पुरानो सत्ताका विरुद्ध विद्रोहमा उत्रन आह्वान गरे । पार्टीले यही मङ्सिर ८ गते काठमाडौँमा आयोजना गरेको जनसभामा बाधा पु¥याए सरकारलाई नै घातक र प्रत्युत्पादक हुने बताए । नेता लोहनीले नेकपाले गर्न लागेको कार्यक्रमलाई देशभित्र र बाहिर विशेष महत्वका साथ हेरिएकाले सरकार पनि शान्तिपूर्ण कार्यक्रममा कुनै अवरोध नगर्न सरकारलाई सुझावसमेत दिए ।
शान्तिपूर्ण कार्यक्रम गर्न पाउने अधिकार संविधानले नै सुनिश्चित गरे पनि नेकपाका शान्तिपूर्ण कार्यक्रममा रोक लगाएकोमा आक्रोश व्यक्त गर्दै लोहनीले भने, ‘तिमीहरू आफैँले निर्माण गरेको संविधान आफैँ च्यातेर हामीलाई सहयोग गर्नेछौ ।’
कार्यक्रममा आयोजक जनसांसकृतिक महासङ्घका महासचिव खेम थपलियाले बुर्जुवाहरूको क्रान्तिकारी तथा न्यायपूर्ण आन्दोलनको घाँटी रेट्ने लेखरचनाविरुद्ध धावा बोल्ने बताए । उनले इच्छुकको जेल कविता पनि वाचन गरे ।
त्यस्तै महासङ्घका सचिव अशोक सुवेदीले साहित्यकारहरू भावना एकातिर र काम अर्कोतर गर्ने प्रवृत्तिबाट मुक्त हुनुपर्ने धारणा व्यक्त गरे । उनले आफ्नो मोर्चा जनयुद्धकालमा झैँ सबै चुनौती सामना गर्दै एकीकृत जनक्रान्तिमा हेलिएको बताए ।
गोष्ठीमा डा. रामप्रसाद ज्ञवाली, झपेन्द्र वैद्य, बन्धु चन्द, खुमा सुवेदी, अशोक सुवेदी, अग्निराज पौडेल ‘अराप’, ढुण्डीराज अधिकारी, अतृप्त पाण्डेय, प्रमोद स्नेही, छायादत्त न्यौपाने, ओमप्रसाद कोइराला, प्रकाश गुरागाईं, त्रिभुवनचन्द्र वाग्ले, युवराज नास्तिक, खम्बु चन्द, मुक्तान थेवा, झनक श्रेष्ठ, आस्था घिमिरे, सङ्गीता पनेरु, उमाकान्त यूके, बलराम तिमिल्सिना, केबी गाउँले, नारायण नेपाल, मुकुन्द न्यौपाने, भुवन शिवाकोटी चौघरे, वेदनाथ ढकाल, डिल्लीप्रसाद मुल्तिहुन, गणेश बोहोरा, इच्छुक अनिश्चित, चेतनाथ धमला, समीर यात्री, हरिबहादुर श्रेष्ठ, भावना न्यौपाने, धनञ्जय बुढा, छायादत्त न्यौपानेलगायत ४० जना कविले रूपान्तरणका पक्षमा रचना वाचन गरेका थिए । उनीहरूले कवितामार्फत अन्यायपूर्ण राज्य व्यवस्थाको विकल्पमा आवाज उठाए ।