१२ वर्षीया गंगा चेपाङ गर्भवती, पेटमा सात महीनाको गर्भ

१२ वर्षीया गंगा चेपाङ गर्भवती, पेटमा सात महीनाको गर्भ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ४ मंसिर २०७५
  • 37.5K
    Shares

गंगा चेपाङ

जोकोहीलाई पत्यार नलाग्न सक्छ, मकवानपुरको अत्यधिक चेपाङ समुदायको बस्ती रहेको राक्सिराङ गाउँपालिका–३ औलेकी १२ वर्षीया गंगा चेपाङ गर्भवती छिन । उनको पेटमा ७ महिनाको बच्चा छ ।

उनले भागेर बिहे गरेको जम्मा ९ महिना मात्र भएकाे छ । २०७४ साल पुस ८ गते कैलाश गाउँपालिका वडा नं ७ मा १८ बर्षका एक किशोरसँग उनको भागी विवाह भएको हो।

विवाह गरेपछि दुबैको पढाई छुटेको छ। कक्षा ४ मा पढ्दै गरेकी गंगा र ३ कक्षामा पढ्दै गरेका उनका श्रीमानको विवाहपछि पढाई छुटेको गंगाले बताइन्। राक्सिराङ ३ औलेस्थित माइती आएका बेला फेला परेकी गंगाले १२ वर्षमै गर्भवती भएको कुरालाई लुकाउन खोजिन्।

उनले आफ्नो उमेर १५ बर्ष भनेर ढाँट्न खोज्दै थिइन्। तर, उनकी आमा राममायाले  भनिन्–‘२०६३ सालमा जन्मेकी हुन्, आफै हिसाब गर्नुस् न।’ मामाघर जाँदा केटासँग चिनजान भएको र एकापसमा मन मिलेपछि विहे गर्ने सोच बनेको गंगाले बताइन्।

चिनजान र मन परापर भएको २ महिना नबित्दै १२ बर्षकै उमेरमा विवाह गरेकी गंगालाई कानून विपरित विवाह भएको कुरा थाहा छैन। आफूसँगैका साथीभाई खेल्ने, उफ्रने, दौडने गरिरहँदा उनी भने ठूलो पेट पारेर लाज मानेर हिँड्नुपरेको छ।

‘विहे गरेर पनि स्कूल गयो भने त लाज हुन्छ नि’, लजाउँदै गंगाले भनिन्–‘हामी दुईजनाले नै स्कूल छोड्यौँ।’ गंगा राक्सिराङ ३ स्थित राष्ट्रिय प्राथमिक विद्यालयमा पढ्थिन् भने उनका श्रीमान कैलाश ७ मै पढ्थे।

कानूनमा २० बर्ष कटेपछि मात्रै विवाह गर्न पाउने प्रावधान छ। तैपनि चेपाङ बस्तीमा थुप्रै गंगाहरु यसरी बाल्यकालमा नै विवाहको चपेटामा पर्ने गर्छन्। गंगाको हकमा उनी आफैले भागी विवाह गरेपनि अरु थुप्रै बाल विवाहका घटनाहरुमा गरिवीकै कारण अभिभावकहरुको संलग्नता हुने गरेको छ।

‘बिहे गरेपनि कसैले यसरी विवाह गर्न हुँदैन भनेर सम्झाउन आएनन्’, गंगाले भनिन्–‘अब विहे भैहाल्यो, पढाई पनि गयो।’ गाउँमा बालविवाहको घटनाहरु सुनिएपनि १२ बर्षकै उमेरमा गर्भवती भएको घटना आफूले पहिलोपटक पाएको सरिखेत स्वास्थ्यचौकीकी अनमी सन्तोषी अधिकारीले बताइन्।

गंगाले गर्भजाँच गर्न आउँदा उमेर ढाँट्न चाहेकी थिइन्। यति कलिलै उमेरमा विवाह गर्ने र गर्भवती हुने घटना यस क्षेत्रमा दर्दनाक रहेको उनले बताइन्। अधिकाँश किशोरीहरु कम उमेरमै विवाह गरेर गर्भवती हुने गरेको तथ्याङ्क स्वास्थ्य चौकीमा रहेको उनले सुनाइन्।

बाल विवाह र प्रजनन् स्वास्थ्यको समस्या बिकराल रहेको भन्दै राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले एउटा अभियानकै रुपमा बाल विवाहविरुद्ध कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले टोल विकास संस्थामार्फत अब सचेतनामूलक कार्यक्रम गरिने सुनाए ।

जमुना ६ कक्षा पढ्दै

गंगासँगै जन्मिएकी उनकी बहिनी जमुना भने सूर्याेदय माविमा कक्षा ६ मा अध्ययनरत छिन्। उनले दिदीले भागेर विवाह गरेकोमा अचम्भित भएको बताइन्। दिदीको पढाई बिग्रेकामा चिन्ता ब्यक्त गर्दै उनले आफू भने निरन्तर पढ्ने सुनाइन्। उमेर पुगेपछि मात्रै विवाह गर्ने भन्दै उनले कलिलै उमेरमा विवाह गर्दा थुप्रै समस्या आइपर्ने बताइन्।

प्रतिक्रिया