भारतले नेपालको अनुमति नलिई नेपाल क्षेत्रमा धमाधम बाटो बनाउन थालेको छ । दार्चुलाको व्यास गाउँपालिका २ को तम्बाकुदेखि थिङभिरको फेदसम्म एकलौटी बाटो बनाउन लागेको हो ।
त्यहाँको घटियाबगर—लखनपुर लिपुलेख सडक निर्माणका लागि खटिएका भारतीय सेना र उत्तरतिरको बस्तीका लागि खाद्यान्न लगायत सामान ढुवानी गर्न नेपालतर्फ बाटो निर्माण भईरहेको निर्माण कम्पनीका प्रतिनिधि साजन विष्टले बताए । भारतीय क्षेत्रमै आवातजावत गर्न अप्ठ्यारो छ, नेपालबाट सजिलो भएकोले बाटो बनाईरहेका छौँ विष्टले भने ।

‘भारतीय क्षेत्रमै आवतजावत गर्न अप्ठ्यारो छ, नेपालबाट सजिलो भएकाले बाटो बनाइरहेका छौँ,’ विष्टले भने ।
भारतीय लोक निर्माण विभाग पिथौरागढअन्तर्गत सडक निर्माण भइरहेको छ । त्यही विभागको निर्देशन अनुसार नेपाली क्षेत्रमा पनि गोरेटो बाटो बनिरहेको विष्टको भनाइ छ । उनका अनुसार तम्बाकुदेखि थिङभिरको फेदसम्म साढे दुई किलोमिटर बाटो बनिरहेको छ ।
स्थानीय बासिन्दाले विरोध गरे पनि नेपालीलाई पनि आवतजावत सहज हुने बताउँदै भारतीय अधिकारीहरूले बाटो बनाइरहेका छन् । ‘हामीलाई मात्रै होइन, नेपालीलाई पनि सजिलो हुन्छ भनेर धमाधम काम गरिरहेका छन्,’ स्थानीय बासिन्दा नरेश धामीले भने ।
पुल र बाटो निर्माणको सम्पूर्ण खर्च भारत सरकारकै लोक निर्माण विभागले बेहोरेको निर्माण कम्पनीका प्रतिनिधि विष्टले बताए । भारतीय क्षेत्रमा सडक निर्माण नभएसम्म नेपालकै बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
गत वर्ष यही क्षेत्रमा महाकाली नदीमाथि दुई ठाउँमा एकलौटी काठेपुल बनाउँदा विरोध भएको थियो । पछि नेपालबाट अनुमति लिइएको थियो । दुई पुल निर्माणका लागि अनुमति लिइए पनि दोपाखे क्षेत्रमा तेस्रो पुल पनि बनाएको थियो ।

भारतले नेपाली भूभागमा बाटो बनाउन नेपाली मजदुरलाई नै लगाएको छ । बाटो खन्ने, सामान ओसार्ने र भारी बोक्ने काम नेपालीले नै गर्दै आएका छन् । सामान ढुवानी गर्दै आएका व्यास–४ सुन्सेराका जनकसिंह कुँवरले भने, ‘नेपाल सरकारले रोजगार दिँदैन, परिवार पाल्न काम त गर्नै पर्यो ।’
कात्तिक पहिलो सातादेखि निर्माण कार्य भइरहेको छ । दैनिक सातरआठजनाले बाटो खनिरहेको व्यास–५ स्याँकुका जनक धामीले बताए । ‘यो क्षेत्रमा नेपाल सरकारले केही गर्दैन, भारत सरकारले नै गर्ने हो । जसको भए पनि काम त गर्नै पर्यो । स्रोत नया पत्रिका