बाल विवाहविरुद्धको कार्यक्रमका क्रममा सडकमा सुतेको अवस्थामा शनिबार पक्राउ परेका बालअभियन्ता प्रविण सिलवाललाई प्रहरीले बालबालिका सम्बन्धी विधेयक च्यातेको अभियोग लगाएको छ ।
महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) काजीकुमार आचार्यका अनुसार शनिबार आयोजित बाल विवाहविरुद्धको कार्यक्रममा सहभागी रहेका उनलाई कार्यक्रमस्थलबाट नियन्त्रणमा लिइएको हो ।
पूर्व बालक्लब पदाधिकारीको समूहको बाल अधिकार संरक्षणका लागि राष्ट्रिय अभियानका संयोजक हुन्, सिलवाल । २१ वर्षीय सिलवाल हाल हिमालय इञ्जिनियरिङ कलेजमा अध्ययनरत् छन् ।
तर बालअभियन्ता प्रविण सिलवाललाई प्रहरीले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले आयोजना गरेको दोस्रो राष्ट्रिय बालिका सम्मेलनमा बालबालिका सम्बन्धी विधेयक च्यातेको आरोप लगाएको छ ।
‘बाल विवाहविरुद्धको कार्यक्रममा सडकमा सुतिरहेको अबस्थामा पक्राउ गरिएका सिलवाललाई सोधपुछका क्रममा विधेयक च्यात्ने पनि उनै भएको खुलेपछि आबस्यक कारवाहीका लागि प्रहरी नियन्त्रणमा लिइएको डिएसपी आचार्यले जानकारी दिए । स्रोतका अनुसार वृत्तलाई यसअघि प्रहरी प्रधान कार्यालयबाट विधेयक च्यात्नेमाथि अनुसन्धान गर्न भन्दै पत्र प्राप्त भएको थियो ।
यसअघि १५ असोजमा विधेयकले बालश्रमलाई प्रश्रय दिएको भन्दै सिलवालसहित अन्य बालअभियन्ताहरुले कार्यक्रमका प्रमुख अतिथि तत्कालिन कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेल निस्किने वित्तिकै विधेयक च्यातेका थिए । बालबालिका सम्बन्धी विधेयक, २०५५ ले बालश्रमलाई बालबालिका सम्बन्धी कसुरमा पनि नराखेको उनीहरुको दाबी थियो ।
प्यानल डिस्कसन भइरहेका वेला प्रश्न राख्ने समयमा संयोजक सिलवालले ‘निर्मलाको निम्ति न्यायको आवाज उठ्यो तर, तपाईंहरु किन उठ्नु भएन’ भन्दै एनजीओरआईएनजीओकर्मीहरुलाई प्रश्न सोधेका थिए ।
कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको परिवारले दुई महिनासम्म न्याय पाउन नसकेको उल्लेख गर्दै उनले पन्तको पक्षमा आवाज उठाउँदा एनजीओ र आईएनजीओकर्मी भनिनेहरु कता हराए भनेर उनले जिज्ञासा राखेका थिए ।