इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा थुनामा रहेका तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाका १९ वर्षीय बिष्णु बुढाथोकी प्रहरीको गाडीबाटै भागेका छन् । बुढाथोकीलाई नैतिकताविरुद्धको अपराधमा जिल्ला प्रशासन कार्यालय दाङबाट म्याद थप गरेर इप्रका ल्याउँदै गर्दा प्रहरीले प्रयोग गरेको बसबाट हामफालेर भागेका हुन् ।
लाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेम शाहीका अनुसार, उनी सार्वजनिक मुद्दा (नैतिकताविरुद्धको अपराध) अन्तर्गत पक्राउ गरिएको थियो । धेरै थुनुवा भएका कारण बस प्रयोग गरेर म्याद थप गर्न लगिएको अवस्थामा अन्तिम सिटमा बसेका बुढाथोकी झयालबाट हामफालेर भागेको डिएसपी शाहीले जानकारी दिए ।
थुनुवा भगाउन सहयोग गरेको अभियोगमा कार्यालयमा कार्यरत प्रहरी जवान शेरबहादुर बुढाथोकीलाई पक्राउगरी सामाजिक न्याय विरुद्धको कसुर ऐन अन्तरगत मुद्दा चलाएको शाहीले जानकारी दिए ।
यसैबीच थुनुवा बुढाथोकी प्रहरीको गाडीबाटै भागेपछी ड्युटीमा रहेका एक प्रहरी जवानलाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ।
दाङ देउखुरी जिल्ला अदालतले प्रहरी जवान शेरबहादुर बुढाथोकीलाई ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमती दिएको छ । थुनुवा भगाउन सहयोग गरेको अभियोगमा चोरी मुद्दाका अभियुक्त वसन्त केसीलाई पनि प्रहरी सामाजिक न्यायविरुद्धको कसुर ऐन अन्तर्गत मुद्दा चलाएको डीएसपी शाही बताए ।
डिएसपी शाहीले हतकडी लगाउनु पर्ने अवस्थामा समेत खाली राखिएको, संगै रहेका प्रहरी जवानले भाग्दासमेत चासो नदिएको कमजोरी भेटिएको बताए । म्याद थपको नेतृत्व गर्दे इप्रकाका असई सुनिलजंग शाहको टोली गएको थियो । शाहको कमाण्डमा म्याद थपका लागि प्रहरी टोली खटिएको थियो ।