कुकुर तिहारको दिनमा कुकुरको टाउको जोडिएको फेसबुक वालमा आएको फोटो सेयर गरेको आरोपमा काभ्रेका आफ्ना कार्यकर्ता १६ वर्षीय कृष्ण ढकाल पक्राउ परेपछि नेपाल बिद्यार्थी संघ आन्दोलित बनेको छ l ढकाल नेविसंघको तपेश्वर उच्च माध्यामिक विद्यालय काभ्रेका ईकाइ अध्यक्ष हुन् l
नेविसंघले आफ्नो संगठनका नेता पक्राउको विरोधमा यही कात्तिक २५ र २६ गते काभ्रेका सम्पूर्ण विद्यालय बन्द गर्ने, त्यस्तै नेविसंघ केन्द्रीय समितिले २६ गते ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्का जाम गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर तपेश्वर उच्च माध्यामिक विद्यालय काभ्रेका ईकाइ अध्यक्ष कृष्ण ढकाललाई विनासर्त रिहाई नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । उनले चेतावनी दिँदै भने,‘यति गर्दा पनि सरकारले सुनेन भने हाम्रो आन्दोलनको रुप फरक हुनेछ।’ उनले गिरफ्तार आफ्ना नेता तत्काल रिहाई गर्न सरकारसँग माग गरे ।
सभापति महरले जनताका अधिकार र महंगीको बारेमा सरकार बेखबर रहेको र आफ्ना कार्यकर्ताहरुलाई विभिन्न बहाना बनाएर जेलमा कोच्ने काम गरेको भन्दै आपत्ति जनाए । नेता ढकालको रिहाईको लागि आफूहरुले शान्तिपूर्ण धर्ना र जुलुस गरिरहेको बताउँदै यति गर्दापनि रिहाई नगरे कडा आन्दोलनमा उत्रिने उनको चेतावनी थियो ।
उनले भने, ‘कात्तिक २० गते अरुले हालेको फोटो सेयर गरेका नेविसंघका नेतालाई सरकारका सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको ठाडो आदेशमा पक्राउ गर्न लगाईएको छ, अन्जानमा भएका कुरालाई समेत यति ठूलो विषय बनाएर सरकारविरुद्ध आलोचना गर्दा सहन नसक्ने स्थितिमा पुगेको प्रमाणित गरेको छ, म यसै पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिन चाहन्छु, जनताका दुःख र पीडामा साथ नदिने सरकारले आफ्ना गल्तिका बारेमा बोल्दा वा सांकेतिक रुपमा बिरोध जनाउँदा तानाशाही प्रवृति देखाउन बन्द गरोस् ।’
महरले सरकार बलात्कार, कालोबजारी गर्ने र हत्याराहरुको संरक्षणमा लागेको आरोप लगाए । उनले वर्तमान सरकार कम्युनिष्टबाहेकका विचार बोकेका मानिसलाई देख्नै नसक्ने स्थितिमा पुगेको पनि आरोप लगाए ।
उनले भने,‘सरकारलाई हामीले सर्वसत्तावादको बाटोमा जाँदैछ भनेका थियौँ, आज नेविसंघ काभ्रेका नेतालाई पक्राउ गरेर त्यो चरित्र उदाङ्गो भएको छ ।’
महरले आफ्नो संगठनका नेता पक्राउको विरोधमा यही कात्तिक २५ र २६ गते काभ्रेका सम्पूर्ण विद्यालय बन्द गर्ने, त्यस्तै नेविसंघ केन्द्रीय समितिले २६ गते ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २८ गते सबै जिल्ला सदरमुकाममा २ घण्टा चक्का जाम गर्ने कार्यक्रमहरु सार्वजनिक गरे । उनले चेतावनी दिँदै भने,‘यति गर्दा पनि सरकारले सुनेन भने हाम्रो आन्दोलनको रुप फरक हुनेछ।’