प्रदेश सरकारले प्रेस स्वतन्त्रता विरोधी कानुन ल्याउन थालेकोमा आलोचना

प्रदेश सरकारले प्रेस स्वतन्त्रता विरोधी कानुन ल्याउन थालेकोमा आलोचना


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २० कार्तिक २०७५
  • 9.8K
    Shares

धनुषाका अधिकारकर्मी,पत्रकार तथा राजनीतिक दलले प्रदेश २ सरकार जनभावना विपरित प्रेस स्वतन्त्रता विरोधी कानुन ल्याउन थालेकोमा आलोचना गरेका छन् । क्रान्तिकारी पत्रकार संगठन,नेपाल केन्द्रीय समितिको आयोजना र धनुषा शाखाको संयोजनमा भएको अन्तरकृया कार्यक्रममा उनीहरुले विभेदका लागि लडेका मान्छे सत्तामा गएपछि फेरिएर फेरी विभेद गर्न खोजेको भन्दै आलोचना गरेका हुन् ।

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल कर्णले संघीय सरकारले मात्रै नभएर प्रदेश २ सरकारले समेत पत्रकारलाई नियन्त्रण गर्ने गरि कानुन ल्याउन लागेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो,‘पहिले केन्द्रले हामीलाई मधेशी भनेर हेप्यो, यिनले मधेशका मुद्धा उठाउँछन् भनेर वास्ता गर्दैन थिए तर अहिले प्रदेश सरकारले फेरी हामीलाई नियन्त्रण गर्ने प्रयास गर्न थाल्यो,सत्ताले जहिले पनि आफ्नै भाषा बोलाउन पठाउन खोज्दो रहेछ ।’
उहाँले पहिले विभेदका विरुद्ध लडेकाहरु नै सत्तामै पुगेर फेरी विभेद गर्न थालेका भन्दै गुनासो गर्नुभयो ।
नेपाल पत्रकार महासंघ  प्रदेश–२ का महासचिव किरण कर्णले अहिले पनि पत्रकारलाई विभिन्न नाममा झुट्टा मुद्धा लगाएर फसाउने प्रयास गरेको बताउनुभयो । उहाँले प्रदेश २ सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानुन ल्याउन खोजको भन्दै आपत्ति जनाउनुभयो । महासचिव कर्णले तीनवटा सरकारका तीन किसिमका रबैयाले आफू हैरान भएको बताउनुभयो ।

नेपाल बार एशोसियशनका धनुषाका अध्यक्ष रामनेक साहले सरकार र राजनीतिक चरित्र नफेरिएको टिप्पणी गर्नुभयो । उहाँले पटक पटक हुने आन्दोलन त्यसै खेर गईरहेको बताउनुभयो । अध्यक्ष साहले न्यायपालिका पनि निश्पक्ष हुन नसकेको भन्दै सुधारको खाँचो रहेको बताउनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोग जनकपुर कार्यालयका निमित्त प्रमुख इन्द्रजीत सोहनीले सरकार मानवअधिकार कुण्ठित गर्न अग्रसर रहेको भन्दै आपत्ति जनाउनुभयो । प्रदेश–२ मा मानवअधिकारको अवस्था दयनीय रहेको भन्दै थप बहसको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले प्रदेश–२ मा शिक्षा स्वास्थ्यको अवस्था निकै कमजोर रहेको भन्दै सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
नेकपाका वरिष्ठ सल्लाहकार रामलखन महतोले सरकार निरङकुश बन्दै गईरहेको भन्दै विद्रोह आश्यक रहेको बताउनुभयो । बैज्ञानिक समाजवाद नआएसम्म कुनै समस्या समाधान नहुने उहाँको भनाई थियो ।
बामपन्थी बुद्धीजीवि रोशन जनकपुरीले अहिलेसम्म सरकारले मान्छे हुन नै नदिएको टिप्पणी गर्नुभयो । उहाँ अहिलेपनि मालिक र दासको जस्तो अवस्था रहेको भन्दै मानव बनेको दिनमात्रै मानवअधिकार हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता उग्रनाथ झा, अधिवक्ता हेमन्त कुमार कर्णले सरकारले संविधान कार्यान्वयनमा चासो नदेखाएको भन्दै आलोचना गरे ।
क्रान्तिकारी पत्रकारसंगठन,नेपालले देशभर सञ्चालन गरिरहेको अभियान जनकपुरमा गरेको हो । कार्यक्रमका लागि केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे,महासचिव हिम विष्ट र सचिव सिर्जना तिम्सिना जनकपुर पुग्नुभएको थियो । यसअघि संगठनले ११ जिल्लामा कार्यक्रम गरिसकेको छ ।

प्रतिक्रिया