राजधानी काठमान्डौस्थित महानगरीय प्रहरी वृत्त बालाजुको हिरासतमा रहेका एक अभियुक्तको शंकाश्पद तरीकाले मृत्यु भएको छ । संखुवासभा घर भइ काठमान्डौको नेपालटार बस्ने ४८ वर्षीय रविन्द्र ढुंगानाको बालाजु वृत्तको हिरासतमा मृत्यु भएको हो ।
काठमाडौं प्रहरी परिसरको पत्रअनुसार बैंकिङ कसुर सम्बन्धी मुद्दामा बालाजु वृत्तले ढुंगानालाइ पक्राउ गरेको थियो l सुरेन्द्र कार्कीको जोहरीले ५ लाख रुपैयाँको बाउन्स चेक सम्बन्धी घटनामा उनलाई परिसर झिकाएर प्रहरीले आइतबार सोधपुछ गरेको थियो ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त लामाका अनुसार, ‘हिरासतमा राखिएका ढुंगानाले बिहान साढे ६/७ बजेतिर असजिलो महसुस गरेपछि वीर हस्पिटल लगिएको थियो । प्रहरीको गाडीमा हस्पिटलसम्म पुर्याइएका उनी आफैं हिँडेर अस्पतालसम्म पुगेको प्रहरीको दाबी छ । तर, बिहान ११ बजेतिर उनको मृत्यु भयो । काठमाडौं प्रहरी प्रमुख लामाले ढुंगानालाई छारे रोग भएको बताउँदै उपचारका क्रममा अचानक ‘सिभियर एट्याक’ आउँदा मृत्यु भएको बताए ।
तर, मृतकको परिवारले भने ढुंगानाको मृत्यु प्राकृतिक नभएको दाबी गर्दै शव उठाउन मानेको छैन । उनीहरुले सत्य, तथ्य सार्वजनिक गर्न माग गरेका छन् ।