माओवादी सत्तामा पुगेलगत्तै राष्ट्रघाती सन्धिसम्झौताको चाङ लाग्न थाल्योः बादल

माओवादी सत्तामा पुगेलगत्तै राष्ट्रघाती सन्धिसम्झौताको चाङ लाग्न थाल्योः बादल


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १३ भाद्र २०७३
  • 20.3K
    Shares

नेकपा (माओवादी केन्द्र) का नेता रामबहादुर थापा ‘बादल’ ले अहिले देश बाह्य हस्तक्षेपको दलदलमा परेको र पार्टी राष्ट्रिय मुद्दामा निर्णायक विन्दुमा रहेको बताएका छन् । विदेशीले सिधै आफैं नआई देशभित्रैबाट ‘दलाल’ खडा गरेर विकासोन्मुख मुलुकहरुमा शासनसत्ता चलाउँदै आइरहेको दाबी गर्दै उनले त्यस्ता त्यसलाई परास्त गर्नुको विकल्प पार्टीसँग नरहेको बताए ।

राजधानीको संवाद डबलीमा सोमबार पूर्वजनमुक्ति सेना नेपाल केन्द्रीय समितिले आयोजना गरेको ‘बहिर्गमित जनमुक्ति सेना र हाम्रो मुद्दा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता बादलले सरकारको नेतृत्व गरिरहँदा पनि माओवादी केन्द्रसामु राष्ट्रियताबारे लड्ने कि आत्मसमर्पण गर्ने ? भन्ने विषय मुख्य चुनौति बनेर देखा परेको उनले बताए ।
माओवादी केन्द्र सत्ताको नेतृत्वमा पुगेलगत्तै बाह्य शक्तिको स्वार्थमा राष्ट्रघाती सन्धिसम्झौताको चाङ लागेको तर्क गर्दै उनले भने ‘यो सबै राष्ट्रघाती, जनघाती परिस्थिति चिर्न सकिन्छ कि सकिँदैन ? पार्टीसामू ठूलो चुनौति आएको छ ।’

अर्को प्रसंगमा नेता बादलले काठमाडौं–तराई फाष्ट ट्रयाक, अपर कर्णाली र राष्ट्रिय सुरक्षामा विदेशी स्वार्थमा प्रस्तावहरु आइरहेको बताए । सत्ताको नेतत्व गरिरहेका माओवादी केन्द्रका प्रभावशाली नेता मानिने बादलले भने ‘हाम्रो पार्टी राष्ट्रियता, जनअधिकार र जनजीविकाको मुद्दामा मनोगत र विचलित भएको कुरा साँचो हो । यी विषय जनताका शत्रु हुन् । यो अवस्था चिर्न पार्टीले सरकारको नेतृत्व गरेको हो । कसैले भर्याङ हालिदिएर पुगेको होइन ।’
सरकारको नेतृत्वलाई माओवादी केन्द्रले अवसरमा बदल्न सक्नुको विकल्प नरहेको बताउँदै बादलले नेतृत्वलाई अवसरको रुपमा परिणत गर्न नसके देश अस्थिरतामा जाने खतरा रहेको औल्याए ।
उनले जनयुद्धमा तत्कालीन शाही सेनालाई चुनौती दिँदै राजतन्त्र हटाउन सफल थुप्रै जनमुक्ति सेनालाई अयोग्यको संज्ञा दिएर समायोजनबाट बाहिर पठाएर राज्यले अपराध गरेको बताए ।

प्रतिक्रिया