काठमाडाैं – ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीसँग नाम जुधेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएपछि नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई गठन भएको नेपाल कम्युनिष्ट पार्टीको नाममा विवाद सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टीले विधान विपरित दुई पार्टी मिलेर आफ्नो पार्टीको पहिचान नै अन्त्य गर्ने गरि नामाकरण गरेर उस्तै नाम राखेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएपछि पार्टीको नाम फेरि एकपटक विवादमा परेको हो ।
दलको नामका सम्बन्धमा उजुरी परेपछि निर्वाचन आयोगले प्रमुख आयुक्त लगायत आयुक्तहरुको उपस्थितिमा बुधबार दुवै पार्टीका प्रतिनिधि सहितको संवैधानिक तथा कानुनी इजलास नै राख्यो । इजलासमा दुवैले आ आफ्नो तर्फबाट दलिल राखे । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी कोष्ट भित्रको नेकपाले आफूहरु नेकपाभन्दा फरक दल भएको दाबी गरेको छ ।

यता, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दलीय तथा संसदीय परम्परा विपरित आफूहरुको पहिचानलाई संकटमा पार्ने गरि नामाकरण गरिएकाले कोष्ट भित्रको नेकपा को नाम संवैधानिक रुपमा त्रुटीपूर्ण रहेको दाबी गरेको छ । निर्वाचन आयोगले बाध्यतामा परि उस्तै नाममा फरक दल दर्ता गरेको भन्दै उसले नामको विषयमा सर्वोच्च अदालतसम्म पुग्ने चेतावनी दिएको छ ।
ऋषि कट्टेल नेतृत्वको नेकपासँग नाम जुधेपछि अण्डरलाइन राखेको नेपाल कम्युनिष्ट पार्टीले पछिल्लो समय कोष्ट भित्र नेकपा राखेर भिन्न दलको रुपमा निर्वाचन आयोगबाट दल दर्ताको स्वीकृति लिएको थियो । आयोगले पनि यसलाई फरक दलको रुपमा नै दाबी गरेको छ । आयोगका सहसचिव दिपक सुवेदीले एउटै नाममा भिन्न-भिन्न दल दर्ता हुन नसक्ने कानुनी प्रावधानमा आयोग सचेत रहेको बताउनुभयो ।
संयुक्त इजलासपछि आयोगले केही समय उपलब्ध गराउँदै दुवै दललाई नाममा देखिएको विवाद आपसमा छलफल गरेर निष्कर्षमा पुग्न भनेको छ । दुवै दल निष्कर्षमा नपुगे आयोगले आफ्नो निर्णय सुनाउने सह-सचिव सुवेदीले बताउनुभयो । आफ्नो निर्णय सही भएको दाबी गर्दै आएको आयोगले कोष्ट भित्रको नेकपाको पक्षमा नै निर्णय सुनाउने छ ।