नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाभित्र व्याप्त भ्रस्टाचारमा सेना बाहेकका तत्वहरुको पनि हात रहेको संकेत गरेका छन् । आर्मी अफिसर्स क्लबमा बिहीबार आयोजित दशैंको शुभकामना आदनप्रदान कार्यक्रममा प्रधान सेनापति थापाले यस्तो संकेत गरेका हुन् । तर उनले नेपाली सेनाभित्र व्याप्त भ्रस्टाचारमा संलग्न सेना बाहेकका तत्वहरुको बारेमा स्पस्ट बोलेनन् ।
प्रधान सेनापति थापाले अघि भने, “‘सेनाभित्र भ्रष्टाचार नियन्त्रणको लागि संयन्त्र छ । केही पक्षमा सुधार पनि गर्नुछ । तर, सेनाको एक्लो प्रयासले मात्रै त्यो सम्भव छैन’, उनले थपे, ‘यो एकैदिनमा हट्ने कुरा पनि होइन । जरादेखि नै उपचार गर्नुपर्छ ।’
‘बाहिर आए जति त होइन तर, केही हदसम्म हो केही पक्षमा सुधार आवश्यक छ ’, उनले अगाडि भने, ‘त्यसलाई विस्तारै निर्मुल पार्दै लान्छौं ।’
भर्ना छनौट वेलामा आर्थिक चलखेलदेखि शान्ति सेनाको विषयसम्ममा विभिन्न कुरा उठ्ने गरेको उल्लेख गर्दै उनले भने, ‘त्यसको जरो पहिल्याएर कारबाही सुरु हुन्छ ।’
सोही अवसरमा सेनापति थापाले नेपाली सेना संविधानविरोधी र विखण्डनकवादी तत्वहरूका गतिविधिबाट उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा चुनौती र खतराहरूलार्इ सुक्ष्म रूपमा नियालेर निरन्तर मुल्यांकन गरिरहेको बताए । साथै राष्टिय स्वाभिमान र भौगोलिक अखण्डता सुनिश्चिता गर्न सेनाको कर्तव्य भएको उल्लेख गर्दै “आन्तरिक द्वन्द्वको समाधान राजनीतिक माध्यमबाट गर्नु सही विकल्प भएपनि अरु विकल्प पनि छन् भन्ने नविर्सन ” सम्बन्धित सबैलाई अनुरोध गरे ।
आन्तरिक द्वन्द्वको समाधान नेपाली सेनाको एकल प्रयासबाट सम्भव नहुने स्पस्ट पार्दे प्रधान सेनापति थापाले राष्ट्रिय निर्देशन प्राप्त भए सम्भावित सुरक्षा चुनौती र खतराहरुलाई सम्बोधन गर्न सेना परिचालित हुन तयार रहेको बताए । स्रोत अनलाईनखबर डट कम