अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयको टोलीले शिक्षा विकास तथा समन्वय इकाइ, पर्साका एकाइ प्रमुख उपसचिव लालबाबु साहलाई ४० हजार रुपैयाँ घुससहित वीरगञ्ज-१४ चिनीमिल स्थित क्वार्टरबाट आज पक्राउ गरेको छ।
पर्साको जगरनाथपुर गाउँपालिका वडा नं ३ विजबनियामा रहेको श्री नेरा माविको निर्माणाधीन भवनको तेस्रो किस्ता निकासाका लागि साहले घुस रकम मागेका थिए ।
भवन निर्माणका लागि निकासा भएको रकम विद्यालयको खातामा हस्तान्तरण भएपछि बैंकमा रोक्का भएको रकम फुकुवा गर्ने नाममा सेवाग्राहीसँग घुस लिँदालिँदै उपसचिव साह पक्राउ परेका हुन् ।
घुससहित समातिएका उपसचिव साहलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिएका छन् ।